काठमाडौं । दोस्रो बजारमा शेयर बिक्री गर्दा बिक्री गरेकाे रकम पाउन अहिलेजस्तो ५/६ दिनसम्म कुर्नुपर्ने अवस्था अब अन्त्य हुने भएको छ ।
नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज र सीडीएस एण्ड क्लियरिङलार्इ निर्देशन दिँदै कारोबार राफसाफ प्रणालीलाई टी प्लस १ प्रणालीमा रुपान्तरण गर्न निर्देशन दिएसँगै एकदिनमै पैसा प्राप्त गर्नसक्ने व्यवस्था गर्ने प्रक्रिया अघि बढेको हो ।
धितोपत्र बोर्डले नेप्सेले बैंक इन्ट्रिगेसन गरेको भोलिपल्टै एक्सचेञ्ज र सीसीएस एण्ड क्लियरिङलाई त्यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो ।
बोर्डले नेप्सेलाई डेपुटी गभर्नर नेतृत्वले दिएको सुझाव नम्बर २२, २९, ३२, ३६ र ५३ कार्यान्वयन गर्न भनेको छ जसमध्ये बुँदा नम्बर २९ मा अन्तराष्ट्रिय अभ्यासअनुसार सर्किट ब्रेकर प्रणाली अबलम्बन गर्ने भनिएको छ । नेपालमा अहिले कुनै कम्पनीको शेयर प्रतिकारोबार दिन १० प्रतिशतसम्म घटबढ हुने व्यवस्था छ, यसलाई ५ प्रतिशतमा झार्न समितिले सुझाव लिएको थियो ।
त्यस्तै सीडीएसलाई बुँदा नम्बर ३१ स ५४ कार्यान्वयन गर्ने व्यवस्था गर्न भनिएको छ । जसअनुसार बुँदा नम्बर ३१ ले शेयर राफसाफलाई टी प्लस ३ बाट टी प्लस १ मा झार्ने भनिएको छ । जसको अर्थ शेयर राफसाफ भएको २४ घण्टामै बिक्रेताको बैंक खातामा रकम जम्मा हुनेछ ।
अनलाइन कारोबारमा कोशेढुङ्गा
नेपाल स्टक एक्सचेञ्जले यसअघिको कारोबार प्रणालीअनुसार समेत कारोबार गर्ने व्यवस्था मिलाएको भए पनि टी प्लस १ को प्रावधान भने अनलाइन कारोबारमा मात्र लागु हुने सम्भावना छ किनकी म्यानुअल कारोबार प्रणालीअनुसार कारोबार हुँदा कारोबार निश्चित गर्न डिआइएस जारी गर्न र त्यसलाई क्लियरिङ बैंकमार्फत् राफसाफ गर्न समय लाग्छ ।
यस्तो अवस्थामा लगानीकर्तामा अनलाइन कारोबारमा आकर्षण बढ्ने निश्चित छ । अहिलेको अवस्थामा अनलाइन कारोबारबाट पनि खासै कुनै फाइदा नहुने बरु राफसाफमा झन्झट हुने डरले लगानीकर्ताहरु यसप्रति उत्साहित भएका थिएनन् । त्यसैले अहिलेसम्म अनलार्इनमार्फत् जम्मा ९२ जनाले मात्र काराेबार गरेकाे नेप्सेले जनाएकाे छ ।
यद्यपि बाेर्डले दिएकाे निर्देशन लागु गर्ने व्यवस्था गर्न नेप्से र सीडीएससीलार्इ केही समय लाग्नसक्छ ।