
बिरेन्द्र वैदवार क्षेत्री, प्रमुख कार्यकारी अधिकृत-सिद्धार्थ इन्स्योरेन्स
काठमाडौं । माघ १ गतेदेखि सम्पत्ति बीमा लागु हुँदैछ । नेपालको निर्जीवन बीमा व्यवसायका लागि यो ऐतिहासिक क्षण हो । सम्पत्ति बीमा निर्देशिका, २०७५ ले बीमा व्यवसायलाई व्यापक मात्रामा विस्तार गर्नेछ । यसले बीमाको पहुँच विस्तारमा नयाँ युगको आरम्भ गर्नेछ ।
प्रस्तावित बीमा दरले नागरिकलाई बीमा प्रति आकर्षित गर्नेछ । न्यून प्रिमियममा आफ्नो सम्पतिको बीमा गराउने सुबिधा नागरिकले पाउने छन् ।
१० लाखदेखि २० लाखसम्मको सम्पतिको बीमाका लागि ८ सय रुपैयाँ मात्रै प्रिमियम तोकिएको छ । जुन नागरिकमा बीमाको पहुँच विस्तारका लागि राम्रो मौका हो । यसले निम्न आय भएका नागरिकलाई बीमाको दायरामा ल्याउँछ ।
पहिले बीमा महङ्गो थियो, अब सस्तो भएको छ । बीमाको प्रिमियम ६५ प्रतिशतसम्म सस्तो हुनु भनेको ठूलो उपलब्धि हो ।
अहिलेसम्म बीमा भनेको सीमित व्यक्तिहरुको मात्रै जस्तो थियो । अब यो आम नागरिकको सहज पहुँचमा पुगेको छ । अहिलेसम्म बीमा भनेको बाध्यात्मक जस्तो मात्रै थियो । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएपछि मात्रै बीमा गर्ने हो भन्ने सोँच हावी थियो ।
तर, अब मानिसले स्वेच्छाले बीमा गर्ने दिन आयो । मैले त पहिलेदेखि नै बीमाको पहुँच विस्तारका लागि केहि नयाँ गर्नुपर्छ भन्दै आएको थिएँ । अहिले बीमा समितिले सम्पत्ति बीमा निर्देशिका मार्फत त्यसलाई पूरा गरिदिएको छ ।
माघ १ गतेबाट लागु हुने यो निर्देशिकाले बीमा कम्पनीहरुको बजार विस्तारमा पनि ठूलो सहयोग गर्नेछ । नागरिकहरुमा बीमाप्रति आकर्षण बढ्ने छ ।
सम्पत्ति बीमालेख अन्तरगत सामान्य बीमालेख, मूल्याङ्कित सम्पत्ति बीमालेख, छोटो अवधिको सम्पत्ति बीमालेख, फ्लोटिङ सम्पत्ति बीमालेख, घोषणा सम्पत्ति बीमालेख र पुनस्र्थापना सम्पत्ति बीमालेख अघि सारिएका छन् ।
परिमार्जित बीमा निर्देशिकामा सबै प्रकारका बीमायोग्य जोखिमहरु एउटै प्याकेजमा अनिवार्य गरिएको छ । हुलदंगा तथा आतङ्कवाद जोखिम समूह बाहेक अन्य कुनैपनि जोखिम हटाउन नपाइने व्यवस्थाले थप राम्रो गरेको छ ।
घर बीमामा १ करोड रुपैयाँ मूल्य पर्ने घरको बीमा जम्मा ४ हजार रुपैयाँ प्रिमियममा गर्न सकिन्छ । एक करोड रुपैयाँ भन्दा बढीको घर बीमाका लागि प्रति हजार १ रुपैयाँ प्रिमियम थप तिरे पुग्छ ।
अग्नि बीमामा अग्नि र भूकम्प समेट्दा प्रति हजार १ रुपैयाँ ३९५ पैसा तिरे पुग्छ भने अरु जोखिम थप्न चाहेमा प्रति हजार १ रुपैयाँ ४१० पैसा थप तिरे पुग्छ ।
सबै प्रकारका बीमा योग्य जोखिमहरु एउटै प्याकेजमा समेटिएको छ । यसले नेपाल भरका ५ सय ४८ वटा क्षेत्रमा वर्गिकरण गरेर जोखिमका आधारमा पुनः ७ वटा समूहमा विभाजन गरी प्रत्येक वर्गका लागि अलग अलग गरी ७ वटा बीमा दर तोकिएको छ ।
बीमा समिति र बीमा कम्पनीहरुको लामो प्रयासपछि आएको सम्पत्ति बीमा निर्देशिका, २०७५ को सफल कार्यान्वयनका लागि पनि समिति र बीमा कम्पनीहरुले सहकार्य गरेर अघि बढ्नुपर्छ ।
सम्पत्ति बीमाले नागरिकलाई के के फाइदा पुग्छ ? त्यसको लाभ कसरी लिन सकिन्छ ? भन्ने सन्देश व्यापक मात्रामा फैलाउनु आवश्यक छ ।
त्यसका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसम्म सहकार्यको योजनासहित जानु पर्छ । प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर चेतनामूलक कार्यक्रमहरु गाउँ गाउँसम्म पुर्याउनु पर्छ ।
महानगरपालिका, उप महानगरपालिका, नगरपालिका र गाउँ पालिकाहरुसँग निरन्तरता सूचना आदान प्रदान गर्न सकियो भने सम्पत्ति बीमाको नयाँ योजनाले नागरिकको सम्पतिको जोखिम हस्तान्तरण गर्न सघाउँछ । यसले बीमा कम्पनीहरुको व्यवसाय विस्तारमा पनि सहयोग नै गर्छ, जुन समग्रमा देश विकासको एउटा प्रस्थान विन्दुपनि हुनेछ ।