काठमाडौं । मेलम्ची आयोजनाको ठेक्का तोडेर भाग्ने प्रयास गरेको ठेकेदार कम्पनी सिएमसी वार्ता गर्न तयार भएको छ । सिएमसीले अनौपचारिक रुपमा आयोजनासँग वार्ता गर्न चाहेको सन्देश पठाएको हो ।
‘सिएमसीले वार्तामा बस्न चाहेको सन्देश अनौपचारिक रुपमा पठाएको छ, हामी अब के गर्ने भनेर सोचिरहेका छौं’, मेलम्ची खानेपानी विकास बोर्डका कार्यकारी निर्देशक सुर्यराज कँडेलले विकासन्युजसँग भने ।
उनले सिएमसीसँग विश्वासिलो आधार नभेटिएसम्म पुनः कामको जिम्मेवारी दिन नसकिने पनि स्पष्ट पारे । ‘हामी ठेक्का तोड्ने की नतोड्ने भन्नेबारे गम्भिर छलफलमा छौं, आधार बिनै सिएमसीलाई पुनः कामको जिम्मेवार दिँदैनौं’, कँडेलले भने ।
उनले आगामी एक साताभित्र मेलम्चीको काम कुन प्रक्रियाबाट अघि बढाउने भन्ने टुंगो लाग्ने पनि जानकारी दिए । ‘मेलम्चीको बाँकी काम सिएमसीबाट गराउने वा नयाँ प्रक्रियामा जाने भन्ने कुराको टुंगो लाग्न अब एक साताको समय लाग्छ’, कँडेलले भने ।
मेलम्ची आयोजनाको काम पुस २ गतेदेखि अवरुद्ध रहेको छ । ठेक्का तोडेर भाग्ने प्रयास गरेपछि सरकारले कम्पनीको बैंक ग्यारेण्टी वापतको २ अर्ब ५६ करोड रुपैंयाँ रोक्का गरेको थियो । सरकारी निर्णय विरुद्ध अदालत गएको सिएमसीले मुद्धा हारेको थियो ।
मेलम्चीका प्रवक्ता राजेन्द्र प्रसाद पन्तले कन्सल्टेन्ट कम्पनीबाट मेलम्चीको वर्तमान अवस्थाको अध्ययन भैरहेको जानकारी दिए ।‘कन्सल्टेन्टले कति काम सकियो ? कति काम बाँकी छ र कति पैसा लाग्छ भन्ने प्रतिवेदन तयार गरिरहेको छ’, प्रवक्ता पन्तले विकासन्युजसँग भने ।