काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रवन्ध निर्देशक बन्न ११ जनाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन बुधबार ४ बजेसम्म ११ जनाको आवेदन परेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अब प्रारम्भिक छनोट सुरु गरेको छ । मन्त्रालयले माग गरेको मापदण्ड अनुसार भए नभएको रुजू गरी अन्तिम नामावली निकाल्नेछ । निर्देशकका लागि पूर्व प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य, डा. बिमल आचार्य, सनाउल्लाह खान, गोकर्णप्रसाद सिटौला, डिल्लीराम अधिकारी, नगेन्द्र कुमार दास, चन्द्र मोहन झा, प्रदिपराज उपाध्यय, संगिता पहाडी (आचार्य) लगायत ११ जनाले निवेदन दिएका छन् । यी मध्ये मन्त्रालयले योग्यता नपुगेको भन्दै २ जनाको आवेदन अस्वीकृत गरेको छ ।
सरकारले प्रबन्ध निर्देशक नियुक्तिको लागि ३ सदस्यीय समिति गठन गरिसकेको छ । मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको नेतृत्वमा ३ सदस्यीय समिति गठन भएको हो । समितीमा विज्ञको रुपमा उमाकान्त पराजुलीलाई राखिएको छ भने मन्त्रालय प्रशासन महाशाखाकी प्रमुख राधिका अर्याल सदस्य रहेकी छिन् । सरकारले मंसिर १७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ३ सदस्यीय छनोट समिति गठन गर्ने निर्णय गरेको थियो ।
प्रारम्भिक छनोट भएपछि समितिले प्रतिस्पर्धीको अध्ययन गर्नेछ । आवेदकको योजना, शैक्षिक योग्यता, व्यवसायिक अनुभवलाई आधार मानेर ३ उत्कृष्ट व्यक्तिको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ । सिफारिस भएका तीन जनामध्ये एकलाई मन्त्रीपरिषदले प्रबन्ध निर्देशकको रुपमा नियुक्त गर्नेछ ।
गत साउन २९ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेपछि टेलिकममा कार्यकारी प्रमुखको पद रिक्त थियो । राजभण्डारीले आफ्नो बर्खास्तीको निर्णय गैरकानूनी भएको भन्दै पुनर्बहालीका लागि सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । उक्त रिटविरुद्ध सरकारले अन्तरिम आदेश नदिएपछि सरकारलाई नयाँ प्रबन्ध निर्देशक नियुक्तिका लागि बाटो खुलेको थियो ।
नेपाल दूरसञ्चार प्रधिकरणको तथ्याङ्क अनुसार हाल टेलिकमका १ करोड ९५ लाख प्रयोगकर्ता छन्, जुन कूल प्रयोगकर्ताको ४० प्रतिशत हो । कुल १५ अर्ब चुक्ता पूँजी भएको उक्त कम्पनीमा जनताको समेत लगानी छ । टेलिकमको बजार पुँजीकरण १ खर्ब १५ अर्ब भन्दा बढी छ, जुन सूचिकृत कम्पनीहरुमध्ये सबैभन्दा धेरै हो ।
टेलिकममा हाल सूर्यभक्त पोखरेलले कामु प्रबन्ध निर्देशकको भूमिका निर्वाह गरिरहेका छन् । लामो समयदेखि टेलिकममा प्रमुख कार्यकारी नहुँदा कम्पनीको दैनिक प्रशासनिक कार्यमा समेत असर परेको टेलिकम स्रोतको दाबी छ ।