काठमाडौं । नेपाल दुरुसञ्चार प्राधिकरणका कार्यकारी अध्यक्ष दिगम्बर झाले आफू राजीनामा गर्न तयार भएको बताएका छन् । प्राधिकरणमा उनको नियुक्तीलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली, सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाको सत्तारुढ पार्टीभित्रै चर्को आलोचना भएपछि उनले आफू राजीनामा दिन तयार भएको बताएका छन् ।
‘यसअघिको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका सबै राजनीतिक नियुक्त खारेज गर्ने वर्तमान सरकारको निर्णय विरुद्ध म अदालत गए । अरु पनि अदालत गए । अरुले अदालतबाट पुर्नवहाली लिए । मैले मुद्दा नै फिर्ता लिए । पछि वर्तमान सरकारले पनि मलाई विश्वास गर्यो । मेरो क्षमताको पनि कदर गर्यो । सरकारले मलाई नियुक्ती दियो । मैले आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको छु ।’ बुधबार विकासन्युजसँगको कुराकानीमा झाले भने- ‘तर पछिल्लो समय मेरो नियुक्तीको विषयलाई लिएर मलाई, सम्मानित प्रधानमन्त्री, मन्त्री, नेता गणमाथि अनेक लाञ्छना लगाउने काम भयो ।’
झाको नियुक्तीका विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीको चर्को आलोचना भएको छ । ‘सम्मानित नेताहरुको प्रतिष्ठा नै गिराउने काम राम्रो होइन, मैले राजीनामा दिएर उहाँहरुलाई काम गर्न सजिलो हुन्छ भने राजीनामा दिन्छु’ झाले भने ।
आफ्नो धारणा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागेको उनले बताए ।
तीन कम्पनीका लाइसेन्स खारेज गरिने
झाले तीन वटा टेलिकम कम्पनीको लाईसेन्स खारेज गर्न लागिएको पनि प्रष्ट पारेका छन् । सिजी टेलिकम्यूनिकेशन, नेपाल स्याटलाइट टेलिकम, यूटिएलको लाईसेन्स खारेज गर्न लागेको उनले बताए ।
‘लाइसेन्स लिने ६ वटा कम्पनी छन् । सेवा दिने २ वटा मात्र छ नेपाल टेलिकम र एनसेल । बाँकी ४ वटा कम्पनीले लाईसेन्स लिएर काम गरेनन्’ झाले भने- ‘तीन वटा कम्पनीका लाईसेन्स तत्काल खारेज गर्छु । स्मार्ट सेललाई बढीमा ६ महिना काम गर्न मौका दिन्छु ।’ स्मार्ट सेलका केही ग्राहक देखिएकोले तत्काल लाईसेन्स खारेज गर्दा ग्राहकलाई समस्या पर्ने भएकाले उसलाई प्राधिकरण समक्ष बुझाएको योजना अनुसार काम गर्न मौका दिने बताए ।
काम नगर्ने कम्पनीको लाईसेन्स खारजे गरी नयाँ कम्पनीलाई लाईसेन्स दिने उनले बताए । ‘विदेशी लगानीकर्ता आएका छन्, उनीहरुलाई लाईसेन्स दिन सकिन्छ । नयाँ कम्पनी ल्याएर बजारमा प्रतिस्पर्धाको वातावरण बनाउँछु । त्यसपछि उपभोक्ताले प्रतिस्प्रर्धाको लाभ लिन पाउनेछन् ।