अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडेरल रिजर्भ बैंक(फेड)का अध्यक्षलाई हटाउने तयारी थालेका छन् । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग विवाद बढेपछि रिजर्भ बैंक अफ इण्डियाका गभर्नर उर्जित पटेलले राजीनामा गरेको केहि हप्तापछि नै अमेरिकी केन्द्रिय बैंकका अध्यक्षलाई हटाउने तयारी अघि बढेको हो ।
फेडका अध्यक्ष जेरोम पावेललाई बर्खास्त गर्ने कानूनी प्रावधानबारे ट्रम्पले ‘अनौपचारिक एवम् गोप्यरूपमा’ छलफल चलाएको अमेरिकी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । राष्ट्रपतिको सहमति विपरित फेडरल बैंक (फेड) ले बैंकको ब्याजदर बढाएपछि ट्रम्पले आपक्ति जनाएका थिए ।
फेडले आगामी बर्ष पनि ब्याज बढाउने सङ्केत गरेपछि ट्रम्प बैंकका अध्यक्षसँग क्रुद्ध बनेका समाचारमा बताइएको छ । बैंकले यसै बर्षमात्र तेस्रो पटक ब्याजदर बढाएपछि ट्रम्प बैंकका प्रमुखसँग चिढिएका हुन । यद्यपी अमेरिकी ट्रिजरी सेक्रेटरी स्टेभन मनुचिनले ट्रम्पलाई उद्धृत गर्दै पावेललाई हटाउने कुनै योजना नरहेको बताएका छन ।
“मैले कहिल्यै पावेललाई हटाउन सुझाब मागेको छैन, न त्यसो गर्ने अधिकार ममा रहेको विश्वास नै छ,” मनुचिनले ट्वीटरमार्फत ट्रम्पको प्रतिक्रियालाई उल्लेख गरेका छन् ।
पावेललाई कार्यकाल पूरा नगरि हटाउन खोज्नुलाई अमेरिकी संविधानले स्वतन्त्र अख्तियार दिएको फेडमाथिको प्रत्यक्ष राजनीतिक हस्तक्षेप हुने र विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रका लागि प्रमुख भूमिका खेल्ने शक्तिशाली संस्थाप्रति नकारात्मक सन्देश जानसक्ने सञ्चारमाध्यमहरूले बताएका छन् । फेडमाथिको हस्तक्षेपले अन्तराष्ट्रिय स्टक बजारमा समेत अस्थव्यस्तता सिर्जना गर्नसक्छ ।
ट्रम्पको आक्रमक व्यापार नीतिले अमेरिकी डलरलाई विश्वका अन्य मुद्रासँग मजबुत बनाएको र यसले अमेरिकालगायत विश्वव्यापी आर्थिक विकासमा कमी ल्याउने र अर्थबजारलाई कमजोर पार्ने बताउने गरिएको छ ।
गत शुक्रबार वाल स्ट्रिट (अमेरिकी शेयर) बजारमा तेस्रोपटक प्रत्यक्ष महशुस हुनेगरी गिरावट देखिएको थियो । अमेरिकी शेयर बजारमा गत साता विश्वव्यापी वित्तीय सङ्कटका समय अर्थात् सन् २००८ पछिकै नराम्रो प्रभाब परेको थियो ।
अमेरिकी केन्द्रीय बैंक अध्यक्ष पावेललाई जानेट यलेनको उत्तराधिकारीका रूपमा यसै बर्षको फेब्रुअरीमा चार बर्षका लागि जिम्मेवारी दिएका थिए । गत मङ्गलबार ट्रम्पले फेडलाई ब्याज बढाएर ‘अझ अर्को गल्ती’ नगर्न चेतावनी दिएका थिए ।
ट्रम्पले अमेरिकी राष्ट्रपतिद्वारा फेडप्रतिको परम्परागत स्वतन्त्रतामाथि वेवास्था गर्दै उक्त संस्थालाई ‘उन्मादी’ र ‘नियन्त्रण बाहिर’ रहेको जनाउँदै यो अमेरिकी अर्थतन्त्रका लागि चीनभन्दा ठूलो खतरा बनेको आरोप लगाउँदै आएका छन् ।
सञ्चारमाध्यमहरूले ट्रम्पको पछिल्लो भनाइबारे जानकारी लिन गरेको प्रयासमा फेडका प्रवक्ता तत्काल उपलब्ध भएनन् ।