
काठमाडौं । निम्न आय भएका व्यक्तिहरुको प्रमुख सपिङ सेन्टर भृकुटीमण्डप खुल्ला बजारको स्वरुप परिवर्तन हुने भएको छ । सरकारले खुल्ला बजारलाई व्यवस्थित बनाउँदै स्वरुप परिवर्तन गर्ने भएको हो ।
बजारको स्वरुपबारे मंसिर २६ गते प्रस्ताव प्रधानमन्त्री कार्यालय पुगेको छ । प्रधानमन्त्री कार्यालयबाट आएपछि मन्त्रिपरिषद पठाउने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले तयारी गरेको छ ।
बजारको अध्ययन गर्न मन्त्रालयले मोहन रमण उपाध्ययको नेतृत्वमा २०७४ साउन १६ गते समिती गठन गरेको थियो । सो समितीले तयार गरेको प्रतिवेदनको नै मन्त्रिपरिषद पठाउन लागिएको मन्त्री थममाया थापाले बताईन । ‘सरकारले अब लामो समय यो बजारलाई खुल्ला बजार बनाएर राख्दैन, यसलाई अब व्यवस्थीत बनाइन्छ’- मन्त्री थापाले विकासन्युजसँग भनिन्-छिट्टै संरचना निर्माण हुनेछ । उनका अनुसार मन्त्रालयले सो प्रतिवेदन मन्त्रिपरिषदमा पेस गर्नेछ । मन्त्रिपरिषदबाट पारित भएपछि प्रस्ताव कार्यान्वयनमा आउनेछ ।
खुल्ला बजारलाई आउँदो दिनमा ठूलो संरचना निर्माण गरी अन्तराष्ट्रिय स्तरको प्रर्दशनी स्थल बनाउन सकिनेतर्फ पनि मन्त्रालयले ध्यान दिइरहेको मन्त्री थापाले बताइन् । खुल्ला बजारलाई समाज कल्याण परिषद मार्फत व्यवस्थीत बनाउन लागिएको हो । अहिले त्यहाँका व्यवसायीहरुले बेलुकी सबै समाग्री लकरमा राख्ने वा सुरक्षित स्थानमा लैजानु पर्ने झन्झट रहेको छ ।
काठमाडौँ निम्न व्यापारी सङ्घ भृकुटीमण्डपका अध्यक्ष लक्ष्मिप्रसाद ओलीले सरकारले द्रुत गतिमा भृकुटी मण्डपको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।
यसरी विकास भयो भृकुटी खुल्ला बजार
विसं २०४९ पुस २ गते खुल्ला मञ्चबाट भृकुटीमण्डपमा व्यवसायीहरुले व्यपार सुरु गरेका हुन् । हाल सो बजारमा १३ सय ११ स्टलहरु रहेका छन् । प्रत्येक स्टलहरुले प्रति वर्गमिटर १४ रुपैंयाको दरले भाडा समाज कल्याण परिषदलाई बुझाउने गरेको काठमाडौं निम्न व्यापारी संघका उपाध्यक्ष गोबिन्द कुमार पौडेलले बताए ।
संघले मासिक १४ लाख भाडा परिषदलाई बुझाउँदै आइरहेको छ । ५७५ मिटर लम्बाईमा फैलिएको यो बजार दक्षिण एसियाकै सबैभन्दा ठूलो खुल्ला बजार हो । यो बजारमा २ हजार भन्दा बढी व्यक्तिहरु प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् ।
यसरी फेरिनेछ खुल्ला बजारको स्वरुप
अहिले बाँस र त्रिपालबाट बनेको यो बजार अब पुर्ण रुपमा भुँइ ढलान हुनेछ । फलामको रेलिङ राखी विभिन्न स्टलहरु बनाई प्रत्येक स्टललाई एउटा कोठाको रुपमा विस्तार गरिनेछ । बजारको माथिल्लो भाग भने जस्ताले छाइनेछ । यो निर्माणको लागि परिषदले लगानी गर्नेछ । बजारको विभीन्न भागमा सौचालय र प्रतिक्षालयको निर्माण गरिनेछ । मन्त्रालयले बजार व्यवस्थापनको काम चालु आर्थिक वर्षमै सुरु गर्ने तयारी गरेको छ ।
खुल्ला बजारमा अहिले विषेशगरी लत्ता कपडाहरुको व्यपार बढी रहेको छ । दैनिक जिवनमा आवश्यक पर्ने लुगा, जुत्ता लगायत घरायसी सामाग्रीहको व्यपार हुदैं आएको छ । व्यवस्थीत गरिए राजधानीकै सबैभन्दा ठूलो सपिङ सेन्टरको रुपमा विस्तार गर्न सकिने अनुमान गरिएको छ ।

उपाध्यक्ष, गोविन्द कुमार पौडेल