
काठमाडौं । सरकारले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँग भारतले नेपालमा निर्यात गरेका गुणस्तरहीन औषधीहरुको विवरण माग गरेको छ । स्वास्थ्य सेवा विभागले विश्व स्वास्थ्य संगठनलाई पत्र लेख्दै त्यस्ता विवरण आफूहरुलाई उपलब्ध गराउन आग्रह गरेको हो ।
संगठनले विश्वका अल्पविकसित देशहरुमा भारतले गुणस्तरहीन औषधी निर्यात गरिरहेको रिपोर्ट सार्वजनिक गरेपछि औषधी आयातको ठूलो हिस्सा भारतमै निर्भर रहेको नेपाल औषधीको गुणस्तरीयता कायम गर्न अग्रसर देखिएको हो ।
औषधी व्यवस्था विभागका महानिर्देशक महानिर्देशक नारायण प्रसाद ढकालले डब्लुएचओसँग त्यस्तो विवरण माग गरिएको पुष्टि गरे । ‘विश्व स्वास्थ्य संगठनलाई मैले के कारणले नेपालमा आएका औषधी न्यून गुणस्तरको भयो भनेर सोधेको छु, त्यसको उत्तर आइसकेको छैन ।’( महानिर्देशक ढकालले भने -’जवाफ आएपछि हामी कारबाही प्रक्रिया अघि बढाउँछौं ।’
नेपालले भारतबाट यसअघि आयात हुँदै आएका ६ प्रकारका औषधीहरुको आयातमा भने रोक लगाइसकेको छ । अनुगमनका क्रममा गुणस्तरहीन देखिएका पुस्यानुग, भज्रक्सार, अभिपात्तिकार, लभनभस्कार, सितोपालदी, र पञ्चसकार चूर्णको नामक औषधी विभागले बिक्री वितरणमा रोक लगाएकोे हो । विभागले ती औषधीको सिफारिस, बिक्री, वितरण तथा प्रयोगसमेत नगर्न र नगराउन समेत सरोकारबालाहरु सबैमा अनुरोध गरेको छ । अनुगमनका क्रममा श्री वैद्यनाथ आयुर्वेद भवन प्राइभेट लिमिटेड इन्डियाबाट उत्पादित सात प्रकृतिका औषधी न्यून गुणस्तरका भेटिएको महानिर्देशक ढकालले जानकारी दिए ।
नेपाल औषधी व्यवसायी संघका अध्यक्ष दीपक प्रसाद दाहालले आयातित औषधीको गुणस्तर भित्रिएको बेलामा एकपटक मात्र ल्याब परीक्षण गरिने त्यसपछि वास्तै नगरिने भएकोले विदेशबाट आयातित औषधी गुणस्तरहीन भएको दाबी गरे । ‘सुरुमा मात्रै ल्याब टेस्ट्र हेरिन्छ, समय समयमा त्यस्तो टेष्ट गर्नुपर्नेमा त्यसो गरिँदैन, त्यसैले पनि नेपालमा काम गुणस्तरीय औषधी आयात भैरहेको छ ।’( अध्यक्ष दाहालले भने ।
केही दिनअघि डब्लुटीओद्वारा प्रकाशित गरेको तथ्याङ्कले भारत सबैभन्दा धेरै गुणस्तरहीन औषधी निर्यात गर्ने देश रहेको समेत उल्लेख गरेको छ । रिपोर्टले भनेको छ, ’भारत विश्वकै सबैभन्दा ठूलो औषधी निर्यातकर्ता हो, तर उसले निर्यात गर्ने कम्तिमा १० प्रतिशत औषधीले न्यूनतम अन्तराष्ट्रिय मापदण्ड समेत पूरा गरेको हुँदैनन् । विशेषगरी अल्पविकसित तथा विकासशील देशमा उसले त्यस्तो औषधी निर्यात गर्ने गरेको पाइएको छ । त्यस्ता औषधीहरुमध्ये कति नक्कली हुन्छन् भने कतिको म्याद सिद्धिएको, बिग्रिएको, आवश्यकताभन्दा बढी वा कम मात्रा भएको र नक्कली प्याकेजिङ र लेबलिङ गरिएको हुन्छ ।’
नेपालमा आर्थिक वर्ष २०७४/७५ मा मात्रै २७ अर्ब २८ करोड ९ लाख ९३ हजार ५०३ रुपैयाँ बराबरको ३ करोड १० लाख ७१ हजार ४९७ केजी औषधी आयात भएको तथ्याङ्कमा उल्लेख छ । २०७४/७५ को अवधिमा ६८ देशबाट नेपालले औषधी आयात गरेको तर भारतबाट आयात हुने औषधीको हिस्सा करिब तीन चौथाई छ । सो अवधिमा भारतबाट २२ अर्ब २३ करोड ९५ लाख ५५ हजार ३९८ रुपैंयाको ३ करोड २६ हजार ५६२ केजी औषधि आयात भएको छ ।
सम्बन्धित समाचार