
फाइल फोटो
काठमाडौं । महालेखा परिक्षकको कार्यालयले तयार पार्ने लेखा परिक्षणको प्रतिवेदनमाथी प्रश्न उठेको छ । लेखा परिक्षण विधेयकमाथीको दफावार छलफलका क्रममा सांसदहरुले महालेखाको प्रतिवेदनमाथी प्रश्न गरेका हुन् । ‘महालेखाले भावनामा बगेर लेखा परिक्षण गरिरहेको छ, ६/७ सय रुपैंयाँको बेरुजु लेखेर ठुलो प्रतिवेदन बनाईरहेको छ, के तिनले गरेका सबै परिक्षण ठिक छन त ?’, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रश्न गरे ।
अर्की सांसद रामकुमारी झाक्रीले ठुलो प्रतिवेदन र धेरै बेरुजु देखाउने होडबाजीमा महालेखा परिक्षकको कार्यालय लागिपरेको आरोप लगाइन् । ‘धेरै बेरुजुी र ठुलो प्रतिवेदन तयार पारेर आफ्नो सफलता देखाउने प्रयास भैरहेको छ, अब महालेखाको बेरुजुमाथी पनि क्रस चेक गर्नु पर्छ’, झाक्रीले भनिन् ।
पुर्वमन्त्री पाण्डेले महालेखाले उजागर गर्ने बेरुजुको ४० प्रतिशत हिस्सा मोबिलाइजेशनले ओगट्ने गरेको पनि दावी गरे । ‘मोबिलाइजेशनको रकमलाई समेत बेरुजु लेख्ने गरेको छ, भौतिक प्रगति भन्दा पनि खर्चको पाटोबाट मात्रै लेखा परिक्षण गरिएको देखिन्छ, यो बदलिनुपर्छ’, पाण्डेले भने ।
उनले संवैधानिक निकायहरुले कार्यकारीको अभ्यास गर्ने प्रयास गरेकाले देश विकासमा रोकावट आएको पनि बताए । ‘महालेखाले काम कति भयो भन्दैन, भुक्तानी कसरी भयो भन्ने मात्रै हेरिरहेको छ, त्यसकै आधारमा अख्तियारले पत्र काट्छ अनि देश कसरी बन्छ ?’, पाण्डेले प्रति प्रश्न गरे ।
छलफलमा राजश्व सचिव राजन खनालले पनि लेखा परिक्षक जिम्मेवार नभएको आरोप लगाए । ‘लेखा परिक्षक जिम्मेवार भएनन्, मनलाग्दी प्रतिवेदन बनाउँछन, उसले जे लेख्यो त्यहि ठिक हो भन्ने मान्यता स्थापीत हुँदै गएको छ, लेखा परिक्षकलाई अब जिम्मेवार बनाउनुपर्छ’, सचिव खनालले भने । सांसदहरुले स्थानीय तहले मनलाग्दी पैसा खर्च गरिहेको बताउँदै त्यसको नियमन आवश्यक रहेकोमा जोड दिएका थिए ।