काठमाडौं । बाणिज्य बैंकहरुले विदेशी बैंक तथा वित्तिय संस्थाहरुबाट ऋण लिन पाउने सुबिधा बढेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा मार्फत परिवर्त्य विदेशी मुद्रामा ऋण लिन पाउने सुबिधालाई शतप्रतिशत वृद्धि गरेको हो ।
यस अघि बाणिज्य बैंकहरुले परिवर्त्य मुद्रामा आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरेको थियो ।
लगानीयोग्य पुँजीको अभाव समाधानका लागि भन्दै केन्द्रिय बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक मार्फत परिवर्त्य मुद्रामा ऋण लिन पाउने सुबिधालाई बढाएर ५० प्रतिशत पुर्याएको हो । मौद्रिक नीति मार्फत भारतीय मुद्रामा समेत प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण लिन पाउने सुबिधा प्रदान गरिएको थियो ।
हालसम्म एनएमबी बैंकले अमेरिकी डलर १ करोड ५० लाख वैदेशिक ऋण लिएको छ भने थप १ करोड अमेरिकी डलर ऋण ल्याउन स्वीकृति प्राप्त गरेको छ ।