सिण्डिकेट अन्त्यपछिको पहिलो दशैंः भदौ २४ गते टिकट बुकिङ, हट्ला त सास्ती ?

<p>काठमाडौं । सिण्डिकेट अन्त्यपछिको पहिलो दशैंका लागि भदौ २४ गते देखि टिकट बुकिङ खुल्ला हुने भएको छ । यातायात व्यवस्था विभागले दशैं मनाउन उपत्यका बाहिर जाने यात्रुहरुको सुविधाका लागि भदौ २४ गतेदेखि नै टिकट बुकिङ खुल्ला गर्न लागेको हो । विभागले टिकट बुकिङ खुल्ला गर्न यातायात व्यवसायीहरुसँग केहि दिनमै छलफल शुरु गर्दैछ । सिन्डिकेट अन्त्यपछि [&hellip;]</p>

काठमाडौं । सिण्डिकेट अन्त्यपछिको पहिलो दशैंका लागि भदौ २४ गते देखि टिकट बुकिङ खुल्ला हुने भएको छ । यातायात व्यवस्था विभागले दशैं मनाउन उपत्यका बाहिर जाने यात्रुहरुको सुविधाका लागि भदौ २४ गतेदेखि नै टिकट बुकिङ खुल्ला गर्न लागेको हो ।

विभागले टिकट बुकिङ खुल्ला गर्न यातायात व्यवसायीहरुसँग केहि दिनमै छलफल शुरु गर्दैछ । सिन्डिकेट अन्त्यपछि कसरी टिकट बुकिङ खुल्ला गर्ने भन्ने विषयमा छलफल हुने विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले बताए । ‘हामीले घटस्थापनाको ठिक एक महिना अघि टिकट बुकिङ खुल्ला गर्ने तयारी गरेका छौं, यसको लागि यातायात कम्पनीसँग छलफल गर्नैपर्ने हुन्छ’, निर्देशक उपाध्यायले भने- ‘टिकट पुरानै काउन्टरबाट बुकिङ हुनेछ ।’

उनका अनुसार विभागले हाल रहेको बसको संख्या अनुमानित यात्रुको संख्या विश्लेषण गरि टिकट बुकिङ खुल्ला गरिनेछ । विगतमा जस्तो यातायात व्यवसायीले मनपरी रकम असुल्ने र अस्वस्थ प्रतिस्पर्धा गर्न नपाउने विभागले जनाएको छ । सिन्डिकेटपछि उत्साहजनक रुपमा यातायात कम्पनीहरु थपिएकाले सवारी अभाव नहुने निर्देशक उपाध्यायले सुनाए ।

ई टिकेटिङ लागू हुन सकेन

विभागले टिकट बुकिङलाई व्यवस्थित गर्न ई टिकेटिङको व्यवस्था गर्ने भने पनि आगामी दशैंमा लागू नहुने भएको छ । विभागका अनुसार राजधानीका बसपार्कमा रहेका काउन्टरबाट नै टिकट बुकिङ हुनेछ । राजधानीको विभिन्न १२ स्थानका टिकट काउन्टरबाट टिकट बुकिङ गर्न सकिनेछ । अनलाइन प्रणाली लागू नहुँदा यो वर्ष पनि टिकट लिन घण्टौँ लाइन बस्नु पर्ने अवस्था आउने देखिएकोे छ ।

प्रत्येक बसपार्कमा प्रहरीको यात्रु सहायता कक्ष

महानगरिय ट्राफिक महाशाखाले यात्रुहरुलाई सेवा दिने उदेश्यले प्रत्येक बसपार्कमा यात्रु सहायता कक्ष राख्ने तयारी गरेको छ । यात्रुहरुले सहज रुपमा टिकट र यातायात सेवा पाउन् भन्ने उदेश्यका साथ सहायता कक्ष राख्न लागिएको महाशाखाका प्रवक्ता राजकुमार लम्सालले बताए । चाडपर्वको समयमा ट्याक्सी लगायत भाडाका सवारी साधनले मनोमानी गर्ने भएकोले यसको न्युनिकरणको लागि कक्ष स्थापना गरिने लम्सालले बताए ।

लामो दुरी र छोटो दुरीमा चल्ने सवारीलाई दुर्घटना न्युनिकरणका लागि अग्रीम जनचेतना कार्यक्रम गर्ने महाशाखाको तयारी रहेको छ । लम्सालका अनुसार महाशाखाले थप तयारीको बारेमा सरकार विभाग र यातायात व्यवसायीसँग पनि छलफल गर्नेछ ।

विभागमा हालसम्म ३२ लाख २१ हजार ४३ वटा सवारीसाधन दर्ता भएका छन् । त्यसमध्ये २५ लाख ३० हजार मोटरसाइकल, ४८ हजार ४५८ ठूलाबस, २४ हजार ८७२ मिनीबस, ८३ हजार ७१० ट्रक, कार र जीपको संख्या २ लाख ७० हजार ६६५, पिकअप ५१ हजार ९०, माइक्रोबस ६ हजार ६५७, ट्याम्पु ३९ हजार ५७५ रहेका छन् । ट्याक्टर र पावर टेलर १ लाख ८५६ रहेको विभागले जनाएको छ ।

Share News