
काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राइभेट इक्विटी र भेञ्चर क्यापिटल जस्ता वित्तीय औजारमार्फत् स्वदेशी तथा गैरआवासीय नेपाली सहित वैदेशिक लगानी ल्याउन खुला गर्ने भएको छ ।
बोर्डले प्राइभेट इक्विटी र भेन्चर क्यापिटल परिचालन गर्न वैकल्पिक लगानी कोष नियमावली तयार पारेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा विदेशी लगानी भित्राउन वित्तीय औजार प्रयोगमा ल्याउने व्यवस्था गरेपछि बोर्डले यसलाई कार्यन्वयनका लागि नियमावली बनाएको हो ।
नयाँ नियमावली कार्यन्वयनमा ल्याउन बोर्डले सोमबार सरोकारवालासंग छलफल पनि गरेको छ । वोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले विकासोन्मुख र दक्षिण एशियाका केही देशहरुमा मात्र अभ्यासमा ल्याइएको प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटलमार्फत् स्वदेशी तथा विदेशी पूँजीलाई परिचालन गर्ने अवधारणालाई नेपालमा पनि कार्यान्वयनमा ल्याउन नियमावली तयार गरिएको बताए ।
उनले मुख्य रुपमा लगानीकर्ताको हकहितमा ध्यान, संस्थागत सुशासन अभिवृद्धि जस्ता पक्षहरुमा ध्यान दिन आवश्यक भएको बताए । कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौड्यालले कोष नियमावली, २०७५ कार्यान्वयनमा आएपछि नेपालको वित्तीय बजारमा नयाँ आयाम थपिने बताए ।
सो अवसरमा लगानीको क्षेत्र, कोष व्यवस्थापनको शुल्क, लगानीमा अपेक्षित न्यूनतम प्रतिफल दर (हर्डल रेट) सम्बन्धी व्यवस्थाहरुलाई कोष व्यवस्थापक तथा लगानीकर्ताहरुले नै निर्धारण गरी लगानी सम्झौता गर्न दिनुपर्ने सरोकारवालाले सुझाएका थिए । उनीहरुले ऋण लिएर लगानी गर्न नपाइने भन्ने व्यवस्था हटाउनु पर्ने सुझाव दिएका थिए ।