काठमाडौं । केरुङ–काठमाडौं रेलमार्ग २ खर्ब ५७ अर्ब रुपैंयाँमा निर्माण हुने भएको छ । चीन सरकारले गरेको प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदनका अनुसार केरुङ–काठमाडौं रेलमार्गको ९ बर्षमा निर्माण सम्पन्न गर्न सकिने र त्यसको लागत २ खबै ५७ अर्ब मात्रै हुने देखिएको हो ।
रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाश भक्त उपाध्यायका अनुसार केरुङ–काठमाडौं रेलमार्गको प्रति किलोमिटर लागत जम्मा ३ अर्ब ५५ करोड मात्रै लाग्ने देखिएको छ ।
रसुवागढी सिमा नाकादेखि काठमाडौंसम्मको दुरी पनि जम्मा ७२.२५ किलोमिटर हुनेछ । रेलमार्गको ९८.५ प्रतशित खण्ड पुल तथा सुरुङमा रहनेछ ।
बार्षिक २८ अर्ब ५५ करोडको हाराहारीमा बजेट विनियोजन गर्दा सो रेलमार्ग नेपाल सरकार आफैंले निर्माण गर्न सकिने सम्भावना समेत उजागर भएको उपाध्यायले बताए ।
चीन सरकारले सहुलियत ऋणमा रेलमार्ग निर्माण गर्न सकिने बताउँदै आएको छ । नेपालले भने अनुदानमा निर्माण गरिदिन आग्रह गरिरहेको छ ।
त्यस बाहेक केहि प्रतिशत सहुलियत ऋण, केहि अनुदान र केहि नेपाल सरकारको लगानीमा निर्माण गर्नेबारे पनि छलफल भैरहेको भौतिक पूर्वाधारत तथा यातायात मन्त्री रघुबिर महासेठले बताए । प्रारम्भिक अध्ययन प्रतिवेदन आएपछि अब नेपालले डीपीआर निर्माणका लागि चीन सरकारलाई अनुरोध गर्नेछ ।
आगामी ९ महिनाभित्रै डीपीआर तयार पारिसक्ने मन्त्री महासेठले बताए । उनले बिरगञ्ज काठमाडौं रेलको डीपीआर पनि आगामी ६ महिना भित्रै तयार हुने ठोकुवा गरे ।