काठमाडौं । साउन १ गतेदेखि मजुदरहरुको न्युनतम तलब १३ हजार ४ सय ५० रुपैंयाँ कायम हुने भएको छ । श्रम, रोजगार व्यवस्था तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको न्युनतम पारिश्रमिक निर्धारण समितिले हाल कायम रहेको तलबमा ३ हजार ७ सय ५० रुपैंया थपेर १३ हजार ४ सय ५० रुपैंया बनाउन सिफारिस गरेको हो । हाल मजदुरहरुके न्युनतम पारिश्रमिक ९ हजार ७ सय रुपैंयाँ कायम छ ।
नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले न्युनतम पारिश्रमिकमा सहमति भएको जानकारी दिए । ‘श्रमिकको न्युनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैंयाँ बनाउन उद्योगी र ट्रेड युनियनका प्रतिनिधीबिच सहमति भएको छ’, महासंघका उपाध्यक्ष ढकालले विकासन्युजसँग भने ।
नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)का उपाध्यक्ष तथा न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य दिपक पौडेलले पनि हाल कायम रहेको तलबमा ३ हजार ७ सय ५० रुपैंयाँ बढाउने सहमति भएको बताए ।

‘साविकको तलबमा ३ हजार ७ सय ५० रुपैंयाँ बढाउने सहमति भएको छ, हामीले प्रतिवेदनमा राखेर मन्त्रीज्यूलाई बुझाउँछौं’, न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य पौडेलले विकासन्युजसँग भने । मन्त्रालयले सह सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा न्युनतम पारिश्रमिक निर्धारण समिति गठन गरेको थियो ।
उद्योगी र मजदुर युनियनका प्रतिनिधी सम्मिलित समितिले एक दर्जन भन्दा बढि पटक बैठक बसेपछि न्युनतम तलब सिफारिस गरेको हो । नयाँ तलबमान साउन १ गतेदेखि लागु हुनेछ ।