आइएमएफबाट लागार्डको राजीनामा, युरोपेली केन्द्रीय बैंकको अध्यक्ष हुने
वासिङ्टन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)बाट आगामी सेप्टेम्बर १२ बाट लागू हुने गरी कोषका कार्यकारी प्रमुख क्रिस्टियन लागार्डले राजीनामा दिएको घोषणा गरेकी छिन् । लागार्डले युरोपेली केन्द्रीय बैंकको अध्यक्षमा मनोनयनका क्रममा रहेकाले मुद्रा कोषबाट राजीनामा दिएको मंगलबार घोषणा गरेकी हुन् । उनको राजीनामासँगै आइएमएफको नयाँ कार्यकारी प्रमुखको खोजी हुन थालेको छ । लागार्डले भनेकी छिन्, “युरोपेली केन्द्रीय बैंकको अध्यक्षको रुपमा मेरो मनोनयनको प्रक्रिया शुरु भएको छ । मैले मुद्रा कोषको सर्वोत्तम हितका आधारमा यो निर्णय लिएकी छु । यसबाट कोषमा नयाँ कार्यकारी प्रमुख छनौट गर्ने बाटो खुला गर्न मद्दत गर्नेछ ।” यसै महिनाको शुरुमा युरोपेली संघका नेताहरुले युरोपेली केन्द्रीय बैंकका प्रमुख मारियो ड्रागीको स्थानमा लागार्डलाई मनोनयन गर्ने घोषणा गरेका थिए । मारियोको आठ वर्षे कार्यकाल आगामी नोभेम्बरमा समाप्त हुँदैछ । लागार्ड पनि मुद्रा कोषको कार्यकारी प्रमुखको रुपमा सन् २०११ देखि कार्यरत छिन् । अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रमुख कार्यकारी पनि युरोपेली मुलुकबाटै छनौट गर्ने परम्परा रहेको छ । कोषको बोर्डले दोस्रो स्थानमा अमेरिकी नागरिक डेभिड लिप्टनलाई मनोनयन गरेको छ, तर यो पदमा युरोपेली मुलुकको दाबी रहने गरेको छ । जबकी कोषको भगिनी संस्था विश्व बैंकको अध्यक्ष भने अमेरिकी नागरिक हुने प्रचलन रहेको छ । आइएमएफको बोर्डद्वारा जारी विज्ञप्तिमा लागार्डको निर्णय सार्वजनिक भइसकेकाले कोषको कार्यकारी बोर्डले तत्कालै नयाँ कार्यकारी व्यवस्थापकको नियुक्ति प्रक्रिया अगाडि बढाइने उल्लेख छ । लागार्डको स्थानमा क्यानाडाली नागरिक मार्क कार्नी, फ्रान्सेली राजनीतिज्ञ पियर मोस्कोभिसी र बेलायती पूर्व अर्थमन्त्री जर्ज अस्बोर्नको नाम सबैभन्दा बढी चर्चामा रहेको छ । रासस/एएफपी
पाकिस्तानी आकाश विदेशी बिमानका लागि खुला
कराची । पाकिस्तानले मंगलबार सबै प्रकारका नागरिक उडानहरुका लागि पाकिस्तानी हवाई क्षेत्र पुनः खुला गरेको छ । पाकिस्तान र भारतबीच उत्पन्न तनाबका कारण पाकिस्तानले भारत समेत सबै मुलुकका गैरसैनिक बिमानको पाकिस्तानी आकाश हुँदै उडानहरुमा प्रतिबन्ध लगाएको थियो । पाकिस्तानी नागरिक उड्डयन प्राधिकरण (सीएए)ले सबै प्रकारका गैरसैनिक उडानहरुका लागि पाकिस्तानी हवाई क्षेत्र खुला गरिएको जनाएको छ । सीएएका प्रवक्ताले भारतसँग सीमा जोडिएको पूर्वी सीमावर्ती क्षेत्रमा पनि हवाई क्षेत्र खुला गरिएको जानकारी दिए । गत फेब्रुअरीमा भारत र पाकिस्तानका हवाई सैनिकबीच आक्रमण र प्रत्याक्रमण भएपछि पाकिस्तानले आफ्नो हवाई क्षेत्र विदेशी बिमानका लागि प्रतिबन्ध लगाएको थियो । पाकिस्तानले केही प्रतिबन्धहरु मार्चमै फिर्ता लिएपनि भारतसँगको तनाब मत्थर नभएका कारण पाकिस्तानको पूर्वी क्षेत्रमा यस्तो प्रतिबन्ध फुकुवा गरेको थिएन । पाकिस्तानको उक्त कदमका कारण भारतबाट पश्चिमी मुलुकमा हुने उडान प्रभावित भएका थिए । पाकिस्तानबाट पूर्वतर्फ हुने हवाई यात्रामा समेत पाकिस्तानी कदमबाट ठूलो असर परेको थियो । रासस/एएफपी
चीनको जिडिपी वृद्धिदर ६.२ प्रतिशत, तीन दशकमै सबैभन्दा न्यून
बेइजिङ । चीनको आर्थिक वृद्धि चालू आर्थिक वर्षको दोस्रो चौमासिक अवधिमा तीन दशकमै पहिलोपटक सबैभन्दा न्यून दरमा वृद्धि भएको छ । चिनियाँ सरकारी विवरण अनुसार अमेरिका–चीन व्यापार युद्ध तथा विश्वमै मागमा आएको मन्दीका कारण चीनको आर्थिक वृद्धिदर खुम्चिएको हो । चिनियाँ राष्ट्रिय तथ्याँक ब्यूरोका अनुसार दोस्रो चौमासिक अवधिमा कूल गार्हस्थ्य उत्पादन ६.२ प्रतिशत देखिएको छ जबकी पहिलो चौमासिक अवधिमा चीनको आर्थिक वृद्धिदर ६.४ प्रतिशत थियो । तर सरकारको जिडिपी प्रक्षेपण ६.० देखि ६.५ रहेकाले हालको वृद्धिलाई घटेको मान्न नसकिने चिनियाँ अधिकारीहरुको भनाई छ । यद्यपी सन् २०१८ को तुलनामा यो वृद्धिको अनुमान पनि कम नै हो । चीनको सन् २०१८ मा आर्थिक वृद्धि ६.६ प्रतिशत थियो । चिनियाँ अर्थतन्त्रमा निरन्तर गिरावट आएसँगै संयुक्तराज्य अमेरिकासँगको व्यापार वार्तामा चीनको अडान कमजोर हुने संकेत देखिएका छन् । चिनियाँ तथ्याँक ब्यूरोका प्रवक्ता माओ शेङयोङले आर्थिक परिस्थिति चीन र अन्य मुलुकको निकै जटिल अवस्थामा पुगेको जनाउँदै विश्वको आर्थिक वृद्धि नै न्यून भएको र बाह्य अस्थिरता एवं अनिश्चितता बढ्दो छ भने । चीनले अर्थतन्त्रमा सुधार ल्याउन व्यापक कर कटौती समेतका विभिन्न उपाय अवलम्बन गरिरहेको छ । तर यसले मात्र पनि चीनको अर्थतन्त्रलाई विगतको अवस्थामा फर्काउन सकेको छैन । चीनको पहिलो छ महिनामा कूल निर्यात केबल शून्य दशमलब १ प्रतिशतले मात्र वृद्धि भएको छ । माओले भने-चीनले अहिल्यै पनि अर्थतन्त्रमा सुधार ल्याउन विभिन्न नीतिगत सुधार गर्न सक्दछ । रासस÷एएफपी