कोरोना विरुद्ध लड्न अमेरिकाले १९ करोड ४० लाख डलर सहयोग दिने

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले कोरोनाभाइरस विरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई थप १९ कराड ४० लाख अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओका अनुसार योसहित अमेरिकाले विश्वभरका मुलुकहरुका लागि गरेको सहयोग ११ अर्ब डलर पुगेको छ । विदेशमन्त्री पोम्पेओले शरणार्थीहरु, जोखिममा परेका आप्रवासीहरु र शरणार्थीलाई आश्रय दिने समुदायको जोखिमलाई ध्यान दिएर १८ करोड अमेरिकी डलर प्रदान गर्न लागिएको जानकारी दिए । विश्वमै आधा शताब्दीभन्दा बढी समयदेखि संयुक्तराज्य अमेरिका स्वास्थ्य र मानवीय सहायता प्रदान गर्ने सबैभन्दा ठूलो दाताराष्ट्र रहेको पनि मन्त्री पोम्पेओले बताए । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा विगत २४ घण्टामा झण्डै १ लाख ३० हजार नयाँ संक्रमित फेला परेका छन् । योसँगै विश्वमा कोरोनाभाइरसबाट संक्रमितको संख्या ६४ लाख पुगेको छ भने तीन लाख ८० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । रासस/एएनआई

ट्रम्पकी छोरीले गरिन् विरोध प्रदर्शनको समर्थन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी कान्छी छोरी टिफनी ट्रम्पले अमेरिकामा हाल चलिरहेको प्रदर्शनको समर्थन गरेकी छिन् । टिफनीले आफ्नो इन्स्टाग्राम एकाउण्टमा एउटा कालो फोटो पोस्ट गर्दै ‘ब्ल्याक आउट ट्यूसडे’ तथा ‘जस्टिस फर जर्ज फ्लोयड’ ह्यासट्यागको प्रयोग गरेकी छिन् । उनले लेखेकी छिन्, “एक्लै त हामीले थोरै प्राप्त गर्न सक्छौं, एकसाथ मात्र धेरै कुरा प्राप्त गर्न सक्छौं ।” गत हप्ता एकजना गोरा पुलिसबाट काला जातिका जर्ज फ्लोयड नामक व्यक्तिको हत्या भएको विषयलाई लिएर अमेरिकामा विरोध प्रदर्शन चर्किएको छ । अमेरिकाले हाल आफ्ना ४० ओटा शहरहरुमा कफ्र्यू लगाएको भएपनि अमेरिकी जनता सडकमा निस्किएर प्रदर्शन चर्काइरहेका छन् । तस्विर साभार : बीबीसी

अमेरिकी विदेशमन्त्रीद्धारा विभिन्न देशका विदेशमन्त्रीसँग छलफल

वासिङ्टन । अमेरिकी विदेशमन्त्री माइकल पोम्पेओले विभिन्न देशका विदेशमन्त्रीहरुसँग कोभिड १९ तथा अन्य विषयहरुका बारेमा छलफल गरे । उनले बुधबार भारत, अष्ट्रेलिया, ब्रालिज, इजरायल र दक्षिण कोरियाका विदेशमन्त्रीहरुसँग फोनवार्ता गरेको बताए । हालै अमेरिका तथा विश्वका ती देशहरु पनि कोभिड १९ महामारीको समस्याबाट गुज्रिरहेको भन्दै यसबाट निकासका साथै आपसमा के कसरी सहयोग गरेर अघि बढ्ने भन्ने बारेमा सो छलफलका क्रममा कुराकानी भएको बताइएको छ । अमेरिकी विदेश मन्त्रालयले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा विदेशमन्त्री पोम्पेओले कोभिड १९ महामारीबाट बच्नका लागि ती देशहरुले के कसरी समन्वय गरेर अघि बढिरहेका छन् भन्ने बारेमा जानकारी लिएका थिए । साथै त्यस कुराकानीका क्रममा ती देशहरुलाई यो महामारीबाट बच्नका लागि अमेरिकाले पनि आवश्यक सहयोग गर्ने आश्वासन विज्ञप्तिमा जानकारी दिइएको छ । त्यस छलफलका क्रममा ती विदेशमन्त्रीहरुले आगामी दिनमा पनि महामारीको रोकथाम र नियन्त्रणका लागि सहयोग र समन्वयका साथ अघि बढ्दा के कस्तो फाइदा हुन्छ भन्ने बारेमा पनि जानकारी गराएका थिए । त्यस छलफलका क्रममा अमेरिका चीन सम्बन्ध तथा अरु क्षेत्रीय विषयहरुका साथै आगामी दिनमा कोभिड महामारीबाट मुक्ति के कसरी हुने र त्यसपछिको विश्वको आर्थिका विकासको अवस्थालाई के कसरी अघि बढाउने भन्ने विषयका पनि विदेशमन्त्री पोम्पेओले विदेश मन्त्रीहरुसँग आवश्यक मात्रामा कुराकानी गर्नेछौं । रासस/एएनआई