विश्वभरी कोभिड-१९ बाट सङ्क्रमितको सङ्ख्या तीन करोड ८० लाख पुग्यो
वासिङ्टन । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९) का कारण तीन करोड ८० लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरी हालसम्म तीन करोड ८० लाख ३३ हजार २८७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् । कुल सङ्क्रमितमध्ये दुई करोड ६३ लाख ८८ हजार ६३३ जना सङ्क्रणमुक्त भइसकेको विश्वविद्यालयले जनाएको छ । सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा अहिलेसम्म ६२ लाख २७ हजार २९५ जना सङ्क्रमणमुक्त भएका छन् । अमेरिकामा भने सङ्क्रमितहरुको अवस्था डरलाग्दो छ । सबैभन्दा धेरै सङ्क्रमित रहेको मुलुकमा अमेरिका नै रहेको छ । अमेरिकामा अहिलेसम्म ७८ लाख ५४ हजार ९१७ जना सङ्क्रमित भएका छन् भने अरु दुई लाख १५ हजार ८६१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । धेरै प्रभावित भएकाहरुको सूचीमा भारत र ब्राजिल दोस्रो र तेस्रो क्रममा रहेका छन् । भारतमा अहिलेसम्म ७१ लाख ७५ हजार ८८० जना सङ्क्रमित हुँदासम्म एक लाख नौ हजार ८५६ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ५१ लाख तीन हजार ४०८ जना सङ्क्रमित रहेका छन् भने एक लाख ५० हजार ६८९ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । त्यसैगरी चौथो धेरै प्रभावित भएको रुसमा भने अहिलेसम्म १३ लाख १८ हजार ७८३ जना सङ्क्रमित भएका छन् । रुसमा कोरोनाका कारण २२ हजार ८३४ जनाको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले गत मार्च ११ देखि विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको थियो । (रासस/एएनआई)
विश्वकै सबैभन्दा ठूलो गुलाबी हिरा रूसबाट बिक्री गरिने, मूल्य कति ?
मस्को । विश्वको सबैभन्दा ठूलो उज्ज्वल बैजनी (गुलाबी) हिरा बेच्न आगामी नोभेम्बर ११ मा लिलाम प्रक्रियामार्फत् आगामी नोभेम्बर ११ मा बेचिने भएको छ । रूसको सोतेबीको जेनेभा मग्निफिसन्ट ज्वेल्स् र नोबल ज्वेल्स्ले यसबारे सञ्चारमाध्यमलाई स्थानीय समय अनुसार सोमबार जानकारी गराएका हुन् । ‘गुलावको आत्मा (द स्प्रिट अफ द रोज)’ नाम दिइएको उक्त १४.८३ क्यारेटको हिराको मूल्य दुई करोड ३० लाखदेखि तीन करोड ८० लाख अमेरिकी डलर पर्ने अनुमान गरिएको अमेरिकी पाक्षिक पत्रिका फोब्रसले जनाएको छ । लिलामीका लागि राखिएको उक्त रत्न विश्वभर पाइने अन्य बहुमूल्य धातुको दुई प्रतिशत मात्रै रहेको अनुमान गरिएको छ । “यो बिक्री एलोरोसा र सोथेबीबीच लामो समयसम्मको सम्बन्धको परिणाम हो, यस उत्कृष्ट धातुको बारेमा धेरै महिनासम्म छलफल भएको थियो र छलफलले यसलाई बिक्रीको लागि प्रस्ताव गर्ने उत्तम तरिका भएको निश्कर्ष निकालेको थियो,” विशेषज्ञ र सोथेबीको ज्वेलरी विभागका निर्देशक तथा ज्वेल्स बिक्री प्रमुख बेनोइट रिपेलिनलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । गोलाकार आकारको उक्त मणि २७.८५ क्यारेटको स्पष्ट गुलाबी डायमण्डले बनेको छ । रूसको उत्तरी पूर्वी साखा गणतन्त्रमा रूसी खनिज कम्पनी अलरोसाको स्वामित्वमा रहेको खानीमा भेटिएको थियो । हीरालाई सेर्गेई डायागिलेभले निर्माण गरेपछि ‘द स्पिरिट अफ द रोज’ नाम दिइएको थियो भने सन् १९११ को अप्रिल १९ मा पहिलो पटक सार्वजनिक गरिएको थियो । रासस/एएनआई
स्नायु प्रणालीमा समस्या देखिएपछि कोभिड–१९ खोपको परीक्षण स्थगित
न्यू ब्रन्सवीक/ कोरोनाभाइरस विरुद्धको खोपको अन्तिम चरणको परीक्षण गरिरहेको जोन्सन एन्ड जोन्सन कम्पनीले खोप दिइएका एक व्यक्तिमा स्वास्थ्य समस्या देखिएको भन्दै परीक्षण स्थगित गरेको घोषणा गरेको छ । कम्पनीले एक विज्ञप्ति जारी गरी क्लिनिकल परीक्षणका क्रममा सहभागीमा कुनै किसिमको स्वास्थ्य समस्या आउनु स्वाभाविक रहेको जनाएको छ । खासगरी खोपमा सहभागीहरुको ठूलो संख्या भएपछि एकाध व्यक्तिमा स्वास्थ्य समस्या देखिन्छ, कम्पनीले भनेको छ । कम्पनीका फिजिसियन र सुरक्षा अनुगमन समूहले ती व्यक्तिमा देखिएका स्वास्थ्य समस्याका बारेमा अध्ययन गर्ने बताएको छ । खोप लगाएका व्यक्तिको निजी गोपनीयताको संरक्षण गर्ने भन्दै कम्पनीले ती व्यक्तिका बारेमा केही बताएको छैन । अमेरिकामा ठूलो संख्याका व्यक्तिमा यो खोप लगाइएको छ । ठूलो मेडिकल अध्ययनमा अस्थायी रोकावटलाई सामान्य रुपमा लिइने गरिन्छ । कम्पनीहरुले औषधिको परीक्षणका क्रममा व्यक्तिमा देखिने गम्भीर वा अनपेक्षित प्रतिक्रियालाई अनुसन्धान गर्नुपर्ने हुन्छ । जोन्सन एन्ड जोन्सनको खोप परीक्षण रोकिएको सम्बन्धी पहिलो समाचार स्ट्याटले दिएको थियो । अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले संयुक्त रुपमा तयार पारेको खोपको अन्तिम चरणको परीक्षण अहिले अमेरिकामा रोकिएको छ । अमेरिकी अनुसन्धाताहरुले खोपले मानिसमा कुनै स्वास्थ्य जोखिम निम्त्याउने हो वा होइन भन्ने अध्ययन गरिरहेका छन् । अस्ट्राजेनिका–अक्सफोर्डको खोप लगाएकी एक महिलामा स्नायुप्रणालीमा समस्या आएपछि खोप परीक्षण स्थगित गरिएको थियो । तर यस खोपको परीक्षण अन्य मुलुकमा जारी रहेको छ । जोन्सन एन्ड जोन्सनले खोपको एक डोजले नै कोरोनाभाइरसबाट सुरक्षा दिने गरी तयार पारेको आफ्नो खोपमा ६० हजार व्यक्तिलाई सहभागी गराउने लक्ष राखेको छ । अमेरिकाका अन्य कम्पनीले भने कोरोनाभाइरसबाट सुरक्षित राख्न व्यक्तिलाई खोपको दुई डोज लगाउने गरी खोप निर्माण गरिरहेका छन् । रासस