गुजरातमा १ सय ४३ वर्ष पुरानो पुल चुँडिदा १ सय ४० बढीकाे मृत्यु
एजेन्सी । भारत,गुजरातको मोरबीमा आइतबार साँझ १४३ वर्ष पुरानो झोलुङ्गे पुल चुँडिदा १ सय ४० भन्दा धेरैको मृत्यु भएको जनाइएकाे छ। पुल चुँडिदा करिब ४ सय मानिसहरु नदीमा डुब्न पुगेका थिए । मृत्यु हुनेमा ५० भन्दा बढी बालबालिका र महिला रहेका छन् । अहिलेसम्म १ सय ७० जनाको उद्धार गरिएको छ। आइतबार साँझ ६ः३० बजे ७ सय ६५ फिट लम्बाई र ४ दशमलव ५ फिट चौडाई रहेको झोलुङ्गे पुल चुँडिदा दुर्घटना हुन पुगेको हो । २५ अक्टोबरमा सर्वसाधारणका लागि खुला गरिएको पुलमा आइतबार अत्याधिक भिड हुन पुगेको थियो । सोही अधिक भिडका कारण दुर्घटना भएको बताइएको छ । जीर्णोद्धारका लागि ६ महिना बन्द रहेको पुल गत असोज २५ गते मात्र खोलिएको थियो । यसको उद्घाटन २० फेब्रुअरी १८७९ मा मुम्बईका गभर्नर रिचर्ड टेम्पलले गरेका थिए।
संसारको सबैभन्दा ठुलो ड्युटी फ्री सपिङ कम्पलेक्स खुल्यो चीनमा
एजेन्सी । चीनको हाइनान प्रान्तमा विश्वकै सबैभन्दा ठुलो ड्युटी फ्री हाइकाउ सपिङ कम्पलेक्स खुलेको छ । उपभोक्ताहरुलाई उपभोगमा बढावा दिनको लागि उक्त विशाल सपिङ कम्पेक्स सञ्चालनमा ल्याएको जनाइएको छ । यो सपिङ कम्पलेक्स चाइना ड्युटी फ्री ग्रुपले निर्माण गरेको हो । २ लाख ८० हजार स्क्वायर मिटर क्षेत्रफलमा फैलिएको सो सपिङ कम्प्लेक्समा ८ सय भन्दा धेरै ब्राण्डहरु उपलब्ध रहेका छन् । हाइनान क्षेत्रमा अन्तर्राष्ट्रिय पर्यटक वृद्धि गर्नको लागि हाइकाउ सपिङ कम्प्लेक्सले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । साथै सो कम्प्लेक्स आन्तरिक मागलाई उच्चस्तरबाट सम्बोधन गर्दै पर्यट उद्योगलाई स्थानीय स्तरको विकासबाट सहयोग पुर्याउने तियानजिन युनिभर्सिटी अफ फाइनान्स एण्ड इकोनोमिक्सका डिन कोङ यी ले बताएका छन् । हाइनान यात्राको समयलाई मध्यनजर गरेर स्थानीय उत्पादनलाई बढावा दिने प्रयत्न गरिरहेको छ । स्थानीय प्राधिकरणले ७.३१ डलर बराबरको भौचर वितरण गरेको छ । जसलाई उपभोक्ताहरुले ड्युटी फ्री सपिङको लागि ३१ डिसेम्बरसम्म प्रयोग गर्न सक्छन् ।
दक्षिण कोरिया : भागदौडमा मृत्यु हुनेमध्ये ५० जनाको हृदयघात भएको आशङ्का
सियोल । दक्षिण कोरियाको राजधानी सियोलको एक जिल्लामा भएको भागदौडमा मृत्यु भएका १५० मध्ये करिब ५० जनाको हृदयघात भएको आशङ्का गरिएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् । स्थानीय प्रसारक वाईटीएनका अनुसार सियोलको रात्रिकालिन पर्यटकीय गन्तब्य इटेवोनमा रहेको एक बारमा एक अज्ञात सेलेब्रिटीको कार्यक्रम हेर्न ठूलो सङ्ख्यामा भीड जम्मा भएको समय भागदौड मच्चिएको थियो । योनहाप समाचार संस्थाका अनुसार स्थानीय समयअनुसार राति ११ः३० बजे हेलोवीन उत्सवको क्रममा भागदौड मच्चिएपछि करिब ५० जनाको हृदयाघात भएको थियो । श्वास प्रश्वासमा समस्या भएका ८१ जनालाई उद्धार गरिएको अग्निनियन्त्रक अधिकारीले सरकारलाई दिएको एक रिपोर्टमा उल्लेख गरिएको छ । उद्धारकर्मीलाई ‘कार्डियोपल्मोनरी’ उपचारका लागि तत्काल घटनास्थलमा पठाइएको सञ्चारमाध्यमहरूले बताएका छन् ।