विहारमा इँटाभट्टा विष्फोट हुँदा नौ जना मारिए

एजेन्सी । पूर्वीभारतको विहार राज्यस्थित इँटाभट्टामा विष्फोट हुँदा भट्टाका मालिकसहित नौ जना मजदुरको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् । स्थानीय अधिकारीका अनुसार विहारको राजधानी पटनाबाट एक सय ५४ किलोमिटर उत्तरमा अवस्थित पूर्वीचम्पारण जिल्लाको नारिगिर गाउँमा शुक्रबार साँझ उक्त दुर्घटना भएको हो । घाइतेको रक्सोलको निजी अस्पतालमा उपचार भइरहेको छ । विष्फोटको जानकारी प्राप्त हुने वित्तिकै उद्धारकर्ता र प्रहरी घटनास्थलमा पुगेका पूर्वीचम्पारण जिल्ला मजिस्ट्रेट कार्यालयले जनाएको छ । राज्यको विपद् व्यवस्थापन केन्द्रका उद्धारकर्ता भग्नावशेषमुनि खोजी गरिरहेका छन् । विष्फोटको कारण सार्वजनिक गरिएको छैन । सम्बद्ध निकायले अनुसन्धान थालेको छ । यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । साथै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

नर्सिङ होममा आगलागी हुँदा रुसमा २० जनाको मृत्यु

सांकेतिक तस्विर एजेन्सी । रुसको पश्चिमी साइबेरिया क्षेत्रको केमेरोभो शहरमा रहेको निजी नर्सिङ होममा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु हुनाको साथै अन्य छ जना घाइते भएको छन् । तास समाचार एजेन्सीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । हिटिङ् चुलो चलाउँन क्रममा समस्या आउँदा उक्त आगलागि भएको हो । शुक्रबार राति एक निजी नर्सिङ होम रहेको दुई तले काठको भवनमा आगलागी भएको थियो ।

सिटिभेनी रबुका फिजीको प्रधानमन्त्रीमा निर्वाचित

एजेन्सी । सिटिभेनी रबुका फिजीको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । संसद्ले शनिबार उनी निर्वाचित भएको घोषणा गरेको छ । राबुका, सन् २०२१ मा गठन भएको फिजीको राजनीतिक दल जन गठबन्धनका नेता हुन्। रबुका संसद्को २८ मतले निर्वाचित भए भने अर्का नेता भोरेके बैनिमारामाले २७ मत प्राप्त गरेका छन् । संसद्का नवनिर्वाचित सभामुख नाइकामा लालबालावुले सो निर्वाचनको परिणाम घोषणा गरेका हुन्। फिजीको सोसल डेमोक्रेटिक लिबरल पार्टी शुक्रबार राबुकाको पिपुल्स अलायन्स र नेसनल फेडरेशन पार्टीसँग मिलेर गठबन्धन बनेको हो । गठबन्धनपछि राबुकाले विजय हासिल गरेका हुन् । यो सँगै फ्रान्क बैनीमारामाको नेतृत्वमा रहेको १६ वर्षे शासनको अन्त्य भएको छ । उनले सन् २००६ मा सैन्य कूद्वारा सत्ता कब्जा गरेका थिए । १६ वर्षमा पहिलो पटक फिजीवासी नयाँ प्रधानमन्त्रीलाई स्वागत गर्ने तयारीमा छन् ।