विपद् जोखिम न्यूनीकरणमा सहकार्य गर्न नेपाल र चिनियाँ अधिकारीबीच छलफल

बेइजिङ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विषयमा सहकार्य गर्न नेपाल र चिनियाँ अधिकारीबीच छलफल भएको छ । चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डल र चीनको आपत्कालीन व्यवस्थापनसम्बन्धी निकायका अधिकारीबीचको छलफलमा जोखिमका पूर्वानुमान गर्ने, खोज तथा उद्धार टोलीको क्षमता अभिवृद्धि गर्नेलगायत विषयमा कुराकानी भएको थियो । नेपाल र चिनियाँ अधिकारीबीच जोखिमको अनुगमन, भू-उपग्रहमार्फत तस्वीर खिचेर बाढी पहिरो, डढेलोजस्तो प्रकोपको पूर्वसूचना प्रणाली सञ्चालनमा ल्याउने तथा आपत्कालीन स्थितिमा खटिनुपर्ने खोज तथा उद्धार टोलीलाई क्षमता अभिवृद्धि गर्ने, नेपाल सरकारको गृह मन्त्रालय, प्राधिकरणलगायत सरोकारवाला निकायका कर्मचारीको क्षमता अभिवृद्धि गर्नेबारेमा छलफल भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए । सो क्रममा बेल्ट एण्ड रोड इनिसियटिभ (बिएरआई)का कामसँगै जोखिम न्यूनीकरण र आपत्कालीन व्यवस्थापनका लागि एशियाली क्षेत्रमा सहकार्य गर्नेबारेमा छलफल भएको उनको भनाइ थियो । सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिनले नेपाल भ्रमण गरेका बेला दुई देशबीच सोसम्बन्धी समझदारी भएको थियो । छलफलमा नेपालका तर्फबाट गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख पोखरेललगायत तथा चीनका तर्फबाट त्यहाँको आपत्कालीन व्यवस्थापन मन्त्रालयका उच्च अधिकारी सहभागी थिए । नेपाली प्रतिनिधिमण्डलले २०७२ सालको भूकम्प पछाडि चीन सरकारले तत्काल राहत तथा उद्धार एवं पुरातात्विक सम्पदाको पुनःनिर्माणमा गरेको सहयोग प्रति धन्यवाद ज्ञापन गरेको थियो । सो अवसरमा नेपाली प्रतिनिधिमण्डलले बहुप्रकोपको जोखिम आँकलन गर्ने तथा आपत्कालीन अवस्थामा निर्देशन दिने ‘कमाण्ड सेन्टर’ अवलोकन गरेको थियो । रासस

सेप्टेम्बरमा इण्डोनेसियाको व्यापार ब्यालेन्स बचत बढ्यो

इण्डोनेसिया । इण्डोनेसियाले सेप्टेम्बरमा ३.४२ बिलियन अमेरिकी डलरको व्यापार सन्तुलन बचत गरेको छ । जुन अघिल्लो महिनाको ३.१२ बिलियन अमेरिकी डलरको तुलनामा थोरैले बढेको हो । सेप्टेम्बरमा इण्डोनेसियाको निर्यात २०.७६ बिलियन अमेरिकी डलर थियो । जुन अघिल्लो महिनाको तुलनामा ५.६३ प्रतिशतले घटेको छ भने आयात बढेको छ ।

हमासले १२६ जनालाई बन्धक बनाएको इजरायलको दावी, दियो मार्ने चेतावनी

जेरुसेलम । प्यालेस्टाइनी लडाकू समूहले आठ दिनअघि घातक आक्रमण गरेयता हमासले १२६ जनालाई बन्धक बनाएको इजरायली सेनाले आइतबार पुष्टि गरेको छ । अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा कम्तीमा एक हजार ३०० जनाको मृत्यु भएको र करिब १५० इजरायली र विदेशी बन्धक बनाएको हुनसक्ने अनुमान इजरायली अधिकारीहरूले गरेका थिए । त्यसयता इजरायली बमबारीमा प्यालेस्टाइनी इलाकामा दुई हजार ३०० भन्दा बढीको मृत्यु भइसकेको छ भने दशौं हजार सैनिकहरू आक्रमणको तयारीका लागि गाजाको सीमामा जम्मा भएका छन् । सेनाका प्रवक्ता रिचार्ड हेक्टले पनि हमासले एक्कासी गरेको आक्रमणको जवाफमा सुरु गरिएको सैन्य कारबाहीका क्रममा २८६ इजरायली सैनिकको मृत्यु भएको बताएका छन् । इजरायली अधिकारीहरूले दक्षिणी इजरायलमा हमास आक्रमण स्थलबाट शवहरू फेला परेका र पहिचान गरिएकाले ज्ञात बन्धकहरूको सङ्ख्यामा परिमार्जन गरिएको बताएका छन् । हेक्टले एक ब्रिफिङमा १२६ जनालाई हमासले बन्धकको रूपमा लगेको ‘पुष्टि’ भएको बताएका छन् । यो सङ्ख्या शनिबार १२० बाट बढेको थियो र अधिकारीहरूले आगामी दिनहरूमा यो सङ्ख्या परिवर्तन भइरहने चेतावनी दिएका छन् । सेनाले गाजामा छापा मार्दा बन्धक बनाइएका केही व्यक्तिको शव फेला पारेको पनि बताएको छ । हमासले इजरायली आक्रमणमा २२ जना बन्धक मारिएको दाबी गर्दै आएको छ । उसले अघोषित इजरायली आक्रमणको जवाफमा बन्धकहरूलाई मार्ने चेतावनी दिएको छ । रासस/एएफपी