आईएमएफद्वारा युक्रेनलाई ९० करोड अमेरिकी डलर सहयोग

काठमाडाैं । युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सहायता कार्यक्रमबाट ९० करोड अमेरिकी डलरको तेस्रो किस्ता प्राप्त गरेको अर्थ मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘विस्तारित कोष सुविधा (ईएफएफ) अन्तर्गत विनियोजन गरिएको रकमले युक्रेनलाई प्राथमिकताको बजेट खर्च व्यवस्थापन गर्न र मार्शल कानून अन्तर्गत समष्टिगत आर्थिक स्थिरता सुनिश्चित गर्न मद्दत गर्नेछ,’ युक्रेनी वित्त मन्त्री सेर्गी मार्चेन्कोले भने। ‘ईएफएफ कार्यक्रमले युरोपेली सङ्घमा पूर्ण एकीकरणको बाटोमा युक्रेनी सरकारको आर्थिक कार्यक्रमको विकासको लागि एक ठोस आधार बनाउनेछ,’ मार्चेन्कोले भने । गत मार्चमा आईएमएफले युक्रेनको आर्थिक पुनरुत्थानमा सहयोग पु¥याउन युक्रेनका लागि करिब १५ अर्ब ६० करोड डलर बराबरको ४८ महिनाको ईएफएफ व्यवस्था स्वीकृत गरेको थियो । यस कार्यक्रम अन्तर्गत पूर्वी युरोपेली यस मुलुकले यसअघि नै विश्व ऋणदाताबाट ४.५ अर्ब डलर लिइसकेको छ । रासस

स्थानीय अर्थतन्त्र बलियो बनाउन एडिबीको १६ अर्ब ६० करोड सहयोग

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले १६ अर्ब ६० करोड रुपैयाँको वित्तीय सहायता उपलब्ध गराउने भएको छ । एडिबीले नेपालको दिगो पर्यटन प्रवर्द्धन गर्दै स्थानीय बासिन्दालाई गुणस्तरीय जीवनयापनमा सघाउने उद्देश्यले जीवनयापान सुधार परियोजना कार्यान्वयन गर्न उक्त सहायता उपलब्ध गराउने भएको हो । पर्यटनका माध्यमबाट स्थानीय अर्थतन्त्रलाई सबल बनाउन देवदह, लुम्बिनी सांस्कृति, सैनामैना, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाका साथै जनकपुर उपमहानगरपालिका र पोखरा महानगरपालिकाको आर्थिक वृद्धिमा सघाउन उक्त वित्तीय ‘प्याकेज’ एडिबीले बिहीबार स्वीकृत गरेको हो । बैंकको प्रधानकार्यालय मनिलाबाट बिहीबार जारी प्रेस विज्ञप्तिअनुसार जलवायु एवं प्रकोप प्रतिरोधी सहरहरू निर्माण गरी नेपालको स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन र दिगो आर्थिक विकास गर्ने नेपालको सरकारको रणनीतिमा सघाउन उक्त प्याकेज स्वीकृत गरिएको हो । उक्त वित्तीय प्याकेजअन्तर्गत ६० करोड रुपैयाँ अनुदान सहायता हो । सहरी विकास तथा भवन निर्माण विभाग र सम्बन्धित नगरपालिकाले जीवनयापान सुधार परियोजना कार्यान्वयन गर्नेछन् । रासस

चिसोका कारण किर्गिजस्तानका विद्यालयमा अनलाइन पढाइ

काठमाडौं । अत्यधिक चिसोका कारण किर्गिस्तानका सबै विद्यालयहरू डिसेम्बर १३ देखि १५ सम्म अनलाइन माध्यमबाट सञ्चालन गरिएका छन् । किर्गिजस्तानको हाइड्रोमेटियोरोलोजी एजेन्सीका अनुसार देशका केही क्षेत्रहरूमा तापक्रम माइनस ३५ डिग्री सेल्सियसमा झर्ने अनुमान गरिएको छ। यसै गरी किर्गिस्तानको पहाडी क्षेत्रमा हिमपातका कारण हिमपहिरोको सम्भावना उच्च रहेको आपतकाली मन्त्रालयले जनाएको छ । यातायात मन्त्रालयले वर्षाका कारण केही पहाडी सडक र नाका आवतजावत गर्न बन्द गरेको जनाएको छ । यहाँका सडकहरू हिँउले सेताम्य भएका छन् । रासस