जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता
काठमाडौं । जापानको होक्काइदो क्षेत्रका दुई नगरमा जंगली पंक्षीहरूमा अत्यधिक सङ्क्रामक एभियन इन्फ्लुएन्जा (बर्ड फ्लु) फेला परेको भन्दै जोखिम न्यूनिकरणका लागि राष्ट्रव्यापीरूपमा चेतावनी जारी गरिएको छ । जापानको वातावरण मन्त्रालयले होक्काइदोमा दुई फरकफरक स्थानमा भाइरस फेला परेपछि यो निर्णय गरिएको जनाएको छ । मन्त्रालयका अनुसार, सेप्टेम्बर ३० मा ओटोब नगरमा एउटा मृत बाजमा र अक्टोबर ८ मा बेतसुकाई नगरमा जंगली हाँसको समूहमा भाइरस फेला परेको थियो । अधिकारीहरूले देशभरका जंगली चराहरूको कडा निगरानी गर्न आह्वान गरिरहेका छन्। बर्डफ्लुले सामान्यतया सङ्क्रमित पंक्षीसँग अत्यधिक सम्पर्कमा नआएसम्म मानिसमा खतरा उत्पन्न नगर्ने भए तापनि मृत चरा नछुन र चराको शंकास्पद मृत्युबारे कुनै पनि जानकारी स्थानीय अधिकारीलाई दिन सर्वसाधारणलाई आग्रह गरिएको मन्त्रालयले निर्देशन दिएको छ। जापानका विभिन्न क्षेत्रहरूमा बर्डफ्लु भाइरसको सङ्क्रमण धेरै पटक पत्ता लागेको रिपोर्टपछि, मन्त्रालयले राष्ट्रव्यापी सतर्कतालाई उच्चतम तहमा पुर्याएको छ । प्रशासनले भाइरसको फैलावटमा निगरानी र अनुसन्धानलाई तीव्र पार्ने प्रतिवद्धता जनाएको छ ।
तिरुवनन्तपुरम विमानस्थलमा अडानी समूहको १३०० करोड लगानी, वार्षिक १२ करोड यात्रुलाई सेवा दिने
काठमाडाैं । अडानी एयरपोर्ट होल्डिंग्स लिमिटेड (एएएचएल) ले सन् २०२७ सम्ममा तिरुवनन्तपुरम अन्तर्राष्ट्रिय विमानस्थल (टीआरभी) को विस्तारका लागि १३०० करोड रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । कम्पनीले ‘टीआरभी) ग्रोथ कन्क्लेभ’ मा यो घोषणा गरेको हो । त्यस अवसरमा स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी तथा ट्राभल तथा पर्यटन क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो । विमानस्थलको सुविधामा उल्लेख्य वृद्धि गर्ने उद्देश्यले यस आयोजनालाई ‘प्रोजेक्ट अनन्त’ नाम दिइएको अडानी विमानस्थलले जनाएको छ । नयाँ टर्मिनल केरलाका प्रतिष्ठित मन्दिरहरूको आधारमा डिजाइन गरिनेछ । हाल यो विमानस्थल ४५ हजार वर्गमिटरमा फैलिएको छ र यसले वार्षिक ३२ लाख यात्रुलाई सेवा दिन्छ । विमानस्थलको डिजाइनमा क्यास्केडिङ स्टेप्स र टेरेस्ड स्तरहरू समावेश हुनेछन् । नयाँ टर्मिनलमा प्लाजा, होटल, अतिरिक्त प्रशासनिक ठाउँ र सुधारिएको कार पार्किङ सुविधा सबै एकै ठाउँमा हुनेछ । विमानस्थलको विस्तारपछि यसको आकार ४५ हजार वर्गमिटरबाट १ लाख ६५ हजार वर्ग मिटर पुग्ने छ । यसपछि यसले हरेक वर्ष करिब १२ करोड यात्रु ह्याण्डल गर्न सक्नेछ । अन्य अपग्रेडहरूमा एयरपोर्टमा नयाँ एयर ट्राफिक कन्ट्रोल टावर, अन्तर्राष्ट्रिय कार्गो कम्प्लेक्स र रिमोट चेक–इन विकल्प समावेश छ । यी सबैले आधुनिक एयरपोर्ट अनुभवमा योगदान पुर्याउने विश्वास छ । अडानी एयरपोर्ट होल्डिङ्स लिमिटेडले अक्टोबर २०२१ मा तिरुवनन्तपुरमको अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन, व्यवस्थापन र विकासको जिम्मा लिएको थियो । तिरुवनन्तपुरम अन्तर्राष्ट्रिय विमानस्थल राज्यको चार विमानस्थलमध्ये पहिलो हो । सन् १९३२ मा सुरु भएको यो एयरपोर्ट पहिले भारतीय एयरपोर्ट्स अथोरिटीको स्वामित्व र सञ्चालनमा थियो । एजेन्सी
भारतीय सेयर बजार इतिहासमै ठूलो आईपीओ, हुण्डाईले तोड्यो एलआईसीको रेकर्ड
काठमाडौं । हुण्डाई मोटर्सको सहायक कम्पनी हुण्डाई मोटर्स इन्डीयाले प्राथमिक सेयर निष्काशन (आईपीओ) खुला गरेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार कम्पनीले आज अक्टोवर १५ तारिखदेखि करिब ३ खर्ब भारतीय रुपैयाँ बराबरको आईपीओ खुल्ला गरेको हो । हुण्डाई मोटर्स इन्डीयाको आईपीओ भारतीय सेयर बजारको इतिहासमै सबैभन्दा ठूलो दाबी गरिएको छ । साथै कम्पनीको आईपीओ एशियाकै ठूला आईपीओहरूको सूचीमा समेत रहेको बताइएको छ । यसअघि भारतमा सबैभन्दा ठूला आईपीओ ल्याएको रेकर्ड लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी)को नाममा थियो । एलआईसी इण्डीयाले दुई वर्षअघि अर्थात् सन २०२२ मा २ खर्ब १० अर्ब भारुको आईपीओ निष्कासन गरेको थियो । तर, एलआईसीको रेकर्ड ब्रेक गर्दै हुण्डाई मोटर्स इन्डीयाले हालसम्मकै ठूलो आईपीओ जारी गर्न लागेको हो । करिब २ दशकपछि भारतीय सेयर बजारमा अटो क्षेत्रको आईपीओ आएको बताइएको छ । जसलाई लिएर लगानीकर्ता निकै उत्साहित बनेका छन् । कम्पनीले २ खर्ब ७८ अर्ब ७९ करोड १६ लाख भारुको १४ करोड २१ लाख ९४ हजार ७ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको आईपीओको मूल्य प्रतिकित्ता १ हजार ८६५ रुपैयाँदेखि १ हजार ९६० रुपैयाँ तोकिएको छ । हुण्डाई इन्डियाले आईपीओमार्फत् आफ्नो १७.५ प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो । जसमध्ये क्यूआईपीका लागि ५० प्रतिशत, एनआईआईका लागि १५ प्रतिशत र सर्वसाधारण लगानीकर्ताका लागि २५ प्रतिशत सेयर छुट्याइएको छ । साथै कम्पनीका कर्मचारीका लागि ७ लाख ७८ हजार ४ सय कित्ता सेयर छुट्याइएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम ७ कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ । सो आधारमा कम्पनीको आईपीओ खरिद गर्न कम्तीमा १३ हजार ७२० रुपैयाँ लगानी गर्नुपर्ने देखिन्छ । हुन्डाई इन्डियाका कर्मचारीलाई भने प्रतिकित्ता १८६ रुपैयाँ छुट दिइएको छ । उक्त आईपीओका लागि अक्टोवर १७ तारिखसम्म आवेदन दिन सकिने बताइएको छ ।