ट्यारिफ युद्धको बीचमा चीनलाई खुसीको खबर, निर्यातमा १२.४ प्रतिशत वृद्धि, आयातमा गिरावट

काठमाडौं । चीनको निर्यातमा मार्च महिनामा वार्षिक आधारमा १२.४ प्रतिशतको वृद्धि भएको छ । त्यही समयमा आयातमा ४.३ प्रतिशतको गिरावट आएको छ । अमेरिकाले चीनबाट आयात गरिने वस्तुहरूमा शुल्क वृद्धि गरेसँगै सरकारले यो जानकारी दिएको हो । विश्वको दोस्रो ठूलो अर्थव्यवस्था चीनको निर्यात सन् २०२५ को पहिलो तीन महिना (जनवरी-मार्च) मा वार्षिक आधारमा ५.८ प्रतिशतले बढेको छ भने आयातमा ७ प्रतिशतको गिरावट आएको छ ।  चीनको अमेरिकासँगको व्यापार नाफा मार्च महिनामा २७.६ अर्ब डलर रह्यो, जहाँ निर्यातमा ४.५ प्रतिशतको वृद्धि देखियो । वर्षको पहिलो त्रैमासिकमा (जनवरी–मार्च) अमेरिका र चीनबीचको व्यापार सरप्लस (निर्यातको मूल्य आयातको मूल्यभन्दा बढी भएको अवस्था) ७६.६ अर्ब डलर रहेको छ । चीनमाथि भारी ट्यारिफ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालै संशोधित व्यापार नीतिअनुसार चीनले अमेरिका पठाउने अधिकांश निर्यातमा १४५ प्रतिशतसम्मको शुल्क भोगिरहेको छ । यद्यपि निर्यातमा सबैभन्दा बढी वृद्धि चीनका दक्षिण-पूर्वी एसियाली छिमेकी देशहरूतर्फ भएको देखिन्छ, जहाँ मार्चमा चीनको निर्यात वार्षिक आधारमा करिब १७ प्रतिशतले बढेको छ । अफ्रिकातर्फको निर्यात पनि ११ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । चीनको सीमा शुल्क प्रशासनका प्रवक्ता ल्यू डालियाङले भने, 'चीनले जटिल र गम्भीर परिस्थितिको सामना गरिरहेको छ, तर घुँडा टेक्ने छैन ।'  उनले चीनका विविध निर्यात विकल्पहरू र विशाल घरेलु बजारतर्फ इशारा गर्दै यो कुरा बताएका हुन् । जब उनीसँग चिनियाँ आयात घटेकोबारे सोधियो तब उनले भने, 'चीन लगातार १६ वर्षदेखि विश्वको दोस्रो ठूलो आयातकर्ता रहँदै आएको छ, जसले विश्व आयातमा आफ्नो हिस्सा करिब ८ प्रतिशतबाट बढाएर १०.५ प्रतिशत पुर्‍याएको छ ।’  'वर्तमान र भविष्यमा चीनको आयात वृद्धि क्षेत्र निकै ठूलो छ र विशाल चिनियाँ बजार सधैं विश्वका लागि ठूलो अवसर हो,’ल्यू डालियाङले थपे । शी भियतनामको यात्रा गर्दै चीनका राष्ट्रपति सी जिनपिङ सोमबार क्षेत्रीय दौरा अन्तर्गत भियतनामको भ्रमणमा जाँदै छन् । उनी मलेसिया र कम्बोडिया पनि जाने कार्यक्रम छ । यसबाट उनलाई एसियाली देशहरूसँग व्यापार सम्बन्ध बलियो बनाउने अवसर मिल्नेछ । यद्यपि अमेरिकाले यस निर्णयलाई गत हप्ता ९० दिनको लागि ट्यारिफ स्थगित गरिसकेको छ। भियतनाममा गत महिना चीनको निर्यात वार्षिक आधारमा करिब १७ प्रतिशतले बढेको थियो, जबकि आयातमा २.७ प्रतिशतको गिरावट देखिएको थियो । यद्यपि  सी जिनपिङको यात्रा पहिलेदेखि नै तय गरिएको थियो, तर अमेरिका र चीनबीचको व्यापार युद्धको सन्दर्भमा यो यात्रा अझै महत्त्वपूर्ण बन्न पुगेको छ ।

एआईबाट अश्लील तस्बिर बनाउने ४ जना पक्राउ, दुई वर्ष जेल सजाय हुने

काठमाडौं । जापान प्रहरीले आफ्नो प्रकारको पहिलो कारबाहीमा जेनेरेटिभ एआई प्रयोग गरेर सिर्जना गरिएका अश्लील तस्बिरहरू बेच्ने आरोपमा चार जनालाई पक्राउ गरेको प्रहरी प्रवक्ता र स्थानीय मिडिया रिपोर्टहरूले मङ्गलबार बताएका छन् । पोस्टरहरू बनाएर अनलाइनमा बेच्ने आरोप लागेका चार जनालाई ‘अश्लील तस्बिरहरू बेच्ने शङ्कामा सोमबार पक्राउ गरिएको’, टोकियो प्रहरीका प्रवक्ताले एएफपीलाई बताए । उनीहरूले गत अक्टोबरमा लिलामी साइटहरूमा धेरै पटक बेचेका थिए । प्रवक्ताका अनुसार यस्तो आपराधिक कार्यका लागि उनीहरूले दुई वर्ष जेल सजाय, २५ लाख येन (१७ हजार पाँच सय डलर) सम्म जरिवाना वा दुवैको सामना गर्नुपर्नेछ । सार्वजनिक प्रसारक एनएचके र अन्य मिडिया आउटलेटहरूले संदिग्धहरूले वास्तविक संसारमा अवस्थित नभएका नग्न वयस्क महिलाहरूको तस्बिरहरू सिर्जना गर्न निःशुल्क एआई सफ्टवेयर प्रयोग गरेको बताएका छन् ।  तिनीहरूले ‘खुट्टा खुला’ जस्ता शब्दहरू समावेश गरी सङ्केतहरू प्रयोग गरेका छन् । बीसदेखि ५० वर्षको उमेरका चारजनाले प्रत्येक पोस्टर केही हजार येन (लगभग २०–५० डलर) मा बेचेका थिए । मङ्गलबारका रिपोर्टहरूले एआई–निर्मित अश्लील तस्बिरहरू कथित रूपमा बेच्ने जापानको पहिलो गिरफ्तारी भएको बताएको छ । यसलाई प्रहरीले तुरुन्तै पुष्टि गर्न सकेन । डिपफेक सहित दुर्भावनापूर्ण उद्देश्यहरूका लागि एआईको प्रयोगमाथि विश्वभर चिन्ता बढ्दै गइरहेको छ, जसले मानिसहरूको वास्तविक फोटो, भिडियो वा अडियोलाई झूटो समानताहरूमा परिवर्तन गर्दछ । डच एआई कम्पनी सेन्सिटीको सन् २०१९ को अध्ययन अनुसार अनलाइनमा लगभग ९६ प्रतिशत डिपफेक भिडियोहरू गैर–सहमति पोर्नोग्राफी हुन् र तिनीहरू मध्ये धेरैजसोमा महिलाहरू चित्रित गरिएका छन् । रासस

चीनमाथिको ट्रम्पका ट्यारिफहरूले चाँडै नै धेरै अमेरिकी व्यवसायमा 'अपूरणीय' क्षति हुने

काठमाडौं । अमेरिकी अर्थतन्त्रका धेरै भाग र साना व्यवसायीका लागि १४५ प्रतिशत ट्यारिफका कारण चीनबाट हुने आयातमा चाँडै अपूरणीय क्षति पुग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।   आपूर्ति श्रृङ्खलाका कार्यकारीहरूका अनुसार अमेरिकी उद्योगहरूमा व्यापक रूपमा कन्टेनर निर्यात रोकिएको छ र ट्यारिफहरूले निकै ठूलो असर पुर्‍याइरहेका छन् । 'चीनका फर्निचर उत्पादकहरूले अमेरिकी आयातकर्ताबाट पूर्ण रूपमा अर्डरहरू बन्द भएको देखेका छन् र हामीले खेलौना, लुगा, जुत्ता, खेलकुद सामग्रीजस्ता क्षेत्रमा पनि त्यही सुन्दैछौं,’ सी-इन्टेलिजेन्स सर्भिसेजका सीईओ एलन मर्फीले भने । 'हामीले दक्षिण-पूर्व एसियामा पनि उस्तै स्थिति देख्यौं, तर ९० दिनको राहतपछि अर्डरहरू फेरि सुरु भए,’ सेको लजिस्टिक्सका प्रमुख व्यवसाय अधिकृत ब्रायन बोर्केले भने, 'जबकि चीनबाट आउने कन्टेनरहरूको अर्डर अझै पनि रद्द भइरहेका छन् ।’ 'चीनसँग सम्बन्धित व्यापारहरू लगभग सबै रोकिएको अवस्थामा छन्,’ ओएल यूएसएका सिइओ एलन बेयरले भने । 'ट्रम्पको १४५ प्रतिशत टोटल ट्यारिफले अमेरिका र चीनबीचको अधिकांश व्यापार रोक्नेछ, 'कर फाउन्डेसनको फेडरल ट्याक्स पोलिसी केन्द्रकी उपाध्यक्ष र अर्थशास्त्री एरिका योर्कले भनिन् । 'कुनैकुनै सामानहरूमात्र विकल्प नभएका कारण आयात गर्नैपर्ने हुन्छ, तर अधिकांश वस्तुमा ट्यारिफले पूरै व्यापार नै काटिदिन्छ,’ उनले थपिन् । गत हप्ताको घटनाक्रमले ट्रम्प प्रशासनको ट्यारिफ नीतिअन्तर्गत चीनलाई नै मुख्य लक्षित बनाइएको छ । शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथिको ट्यारिफ (कर) केही हदसम्म फिर्ता गरेपछि एप्पलको आइफोनदेखि चिप्स र पर्सनल कम्प्युटरसम्मका अन्य प्रविधिसम्बन्धी हार्डवेयरहरूलाई राहत प्राप्त भए पनि ट्यारिफले सबैभन्दा धेरै घाटा अमेरिकालाई नै पर्छ । 'उच्च नाफा हुने र प्रविधियुक्त वस्तुहरू– जस्तै इलेक्ट्रोनिक्स, मेसिनरी, मेडिकल उपकरणहरू र औषधीहरूको स्रोत सजिलै अन्यत्र सार्न सकिँदैन किनभने यस्तो उत्पादन संरचना तयार गर्न समय र धेरै पूँजी चाहिन्छ,’ मर्फीले भने । प्रविधिमा ट्यारिफ छुट नआउँदासम्म यस्ता वस्तुका उत्पादकहरूले कुन-कुन कम्पोनन्ट अन्यत्रबाट ल्याउन सकिन्छ भनेर विश्लेषण गरिरहेका थिए । हाल साउथ ईस्ट एसिया (मुख्यतया भियतनाम वा भारत) तर्फ उत्पादन सार्ने प्रयास भइरहेको छ । उत्पादन जारी राख्न मूल्य घटाएर युरोपतर्फ निर्यात गर्ने वा उत्पादन लाइनहरू पूर्ण रूपमा बन्द गर्ने पनि विचार गरिँदैछ । 'साना व्यवसायहरूले सहन नसक्ने जोखिम' अमेरिकन एपरल एन्ड फुटवेयर एशोसिएसनका सीईओ स्टेफन लामारले भने, 'अचानक नीति परिवर्तन र उच्च ट्यारिफहरूले महामारीपछिको समयमा कहिल्यै नभएको आपूर्ति श्रृङ्खलामा अवरोध ल्याएको छ ।’ 'चीनबाट आयातमा अत्यन्त उच्च ट्यारिफ लागेपछि धेरै कम्पनीहरूले अर्डरहरू रद्द गर्नुपर्ने बाध्यता आइपरेको छ,’ उनले भने, 'ट्यारिफको बारम्बार फेरबदलले सामान आइपुग्दासम्म वास्तविक लागत थाहा हुँदैन र यी अत्यधिक शुल्कहरू तिर्नै नसकिने स्थितिमा पुगिएको छ । साना व्यवसायहरूका लागि यो दीर्घकालीन रूपमा सहन सकिने अवस्था होइन ।’ 'वैकल्पिक स्रोत नभएको अवस्थामा अर्डर हराउने बित्तिकै बिक्री हराउनेछ र बजारमा सामानको अभाव हुनेछ । त्यसैले अब तुरुन्तै व्यापार युद्धलाई रोक्ने कदम आवश्यक छ नभए क्षति अपूरणीय हुन्छ,’ उनले थपे । कन्टेनर सेवा पुनः संरचना मस्र्कले चेतावनी दिएको छ कि चीनसँग सम्बन्धित जहाज निर्माण शुल्क र अर्डर गिरावटका कारण उत्तर अमेरिका जाने कन्टेनर सेवा प्रणालीमा 'विशाल पुनः संरचना’ आवश्यक हुनेछ । 'आगामी महिनाहरूमा भारी यातायात जाम र ढुवानी शुल्कमा वृद्धिको सामना गर्नुपर्नेछ,’ मर्स्क आफ्नो ग्राहकहरूलाई लेखेको सन्देशमा भनिएको छ, 'हामीले कुराकानी गरेका कुनै पनि चिनियाँ उत्पादकहरूले अहिलेको अवस्थामा अमेरिका भित्रै उत्पादन सुरु गर्ने तयारी गरेका छैनन् । यसको मुख्य कारण हो- ट्रम्प प्रशासनको अन्तिम लक्ष्य के हो भन्ने स्पष्ट छैन ।’ 'यदि ट्यारिफहरू केवल व्यापार सम्झौताको बार्गेनिङका लागि हो भने कसैले अमेरिका भित्र करोडौं लगानी गर्दैन । यदि वास्तवमै अमेरिका पुनः औद्योगिक बनाउने उद्देश्य हो भने त्यसको दीर्घकालीन योजना स्पष्ट हुनुपर्छ,’ उनले थपे । भन्सार शुल्क टार्ने उपाय कम्पनीहरूले ट्यारिफको असर कम गर्न फ्रेट प्रोसेसिङलाई रोकिरहेका छन् । युएस भित्र 'बन्डेड स्टोरेज’ प्रयोग गरेर केही समयको लागि ट्यारिफ नतिरी सामान राख्न सकिन्छ । विदेशी व्यापार क्षेत्र लगायतका उपायहरूले शुल्क तिर्न केही समय पर्खन मिल्छ । त्यागिएको माल समयमै भन्सार तिरिन नसकेको वा क्लेम नगरिएका मालहरू परित्यक्त मालमा पर्छन् । यस्ता मालको नियमन बन्दरगाह अनुसार फरक हुन्छ । न्यूयोर्क टर्मिनल कन्फरेन्स एग्रिमेन्ट अनुसार ३० दिनभन्दा बढी टर्मिनलमा रहन गएको माललाई परित्यक्त मानिन्छ र त्यसलाई ढिलाइ शुल्क ( जहाज, कन्टेनर वा कार्गो निर्धारित समयभन्दा बढी समयसम्म रोकिएको खण्डमा लाग्ने शुल्क) संकलन गर्न बेच्न सकिन्छ । 'शिपर’ ले त्यस्तो माल 'फेरि निर्यात’ नष्ट वा दान गर्न सक्छ । यस्ता माललाई अमेरिकी भन्सारको लागि 'लेटर अफ अबान्डोनमेन्ट’ दिइन्छ । बिक्रीबाट प्राप्त रकमबाट खर्च कटाएर बाँकी रकम टर्मिनललाई जान्छ । विभिन्न कम्पनीहरूले यस्ता परित्यक्त माल किनेर छुट स्टोरहरू, अनलाइन विक्रेताहरू अमेजन र अन्य आउटलेटमा पुनः बेच्ने गर्छन् ।