विश्वकै लामो अन्तर्राष्ट्रिय रेल सेवा पुनः सञ्चालनमा आउने, १० हजार किलोमिटर, ८ दिन लाग्ने

काठमाडौं । उत्तर कोरियाको राजधानी प्योङयाङ र रूसको राजधानी मस्को बीचको प्रत्यक्ष अन्तर्राष्ट्रिय रेल सेवा आगामी १७ जुन देखि पुनः सञ्चालनमा आउने भएका छ ।   रुसी रेलवेले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत उक्त जानकारी दिएको हो। यसका साथै, प्योङयाङ र रूसको सुदूरपूर्वी क्षेत्र स्थित खाबारोभ्स्क बीचको रेल सेवा पनि १९ जुन देखि पुनः सुरू गरिने बताइएको छ। प्योङयाङ–मस्को मार्ग, जुन हाल विश्वकै सबैभन्दा लामो प्रत्यक्ष अन्तर्राष्ट्रिय रेल सेवा हो, हरेक महिना दुईपटक सञ्चालन गरिनेछ। यो यात्रा १० हजार किलोमिटरभन्दा बढी दूरी तय गर्नेछ र यात्रा पूरा गर्न लगभग ८ दिन लाग्ने अनुमान गरिएको छ। कोभिड(१९ महामारीका कारण २०२० को फेब्रुअरी देखि स्थगित गरिएको यो रेल सेवा अब पुनः संचालनमा आउँदा, यात्रीहरूलाई एक ठूलो सुविधा प्राप्त हुनेछ। 

४५ प्रतिशत गरिबी रहेको पाकिस्तानको रक्षा बजेटमा २० प्रतिशत वृद्धि

काठमाडौं । पाकिस्तानले यस वर्षको सङ्घीय बजेटमार्फत रक्षा खर्चमा २० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । यो निर्णय भारतसँगको पछिल्लो महिनाको तनाव पूर्ण संघर्षपछि आएको हो, जुन पछिल्ला दशकमध्ये सबैभन्दा हिंसात्मक रहेको बताइएको छ । मे महिनामा भएका चार दिन लामो द्वन्द्वमा दुबै आणविक शक्तिहरूबीच भिडन्त हुँदा ७० जनाभन्दा बढीको ज्यान गएको थियो । त्यसपछि मात्र युद्ध विरामको घोषणा गरिएको थियो । मंगलबार साँझ संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री मोहम्मद औरंगजेबले कुल ६२ अर्ब अमेरिकी डलर बराबरको बजेट प्रस्तुत गरे, जसको करिब १४ प्रतिशत भाग सैनिक खर्चका लागि छुट्याइएको छ । यो अघिल्लो वर्षको २.१२ ट्रिलियन पाकिस्तानी रुपैयाँ (झन्डै ७.५ अर्ब डलर) बाट बढेर यस वर्ष २.५५ ट्रिलियन रुपैयाँ पुग्नेछ । यसअघि सरकारद्वारा सामाजिक सञ्जालमार्फत चीनबाट ४० वटा नयाँ लडाकु विमान र हवाई सुरक्षा प्रणाली खरिदको वार्ता भइरहेको जानकारी दिइएको थियो । सन् २०२३ मा पाकिस्तान आर्थिक संकटको सँघारमा पुगेको थियो । त्यतिबेला राजनीतिक अस्थिरता र आर्थिक मन्दीको कारण देशको ऋण भार अत्यधिक बढेको थियो । त्यसपछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट प्राप्त ७ अर्ब डलरको राहतले देशलाई संकटबाट जोगाएको थियो । त्यसयता देशले केही मात्रामा आर्थिक सुधारको संकेत देखाएको छ, मुद्रास्फीति केही घटेको छ र विदेशी मुद्रा सञ्चिति पनि बढेको जनाइएको छ । बजेट घोषणा गर्नु अघि आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री औरंगजेबले भने, ‘हामी सहि दिशामा अघि बढिरहेका छौं । परिवर्तनका लागि दुईदेखि तीन वर्ष लाग्ने हुन्छ, तर हाम्रो लक्ष्यअनुसार हामीले राम्रो काम गरेका छौं ।’ यो बजेटमाथि संसदले यस महिनाको अन्त्यतिर मतदान गर्नेछ । तर, सत्तारूढ पक्षको स्पष्ट बहुमत भएकाले ठूलो परिवर्तन हुने सम्भावना छैन । आउँदो आर्थिक वर्षका लागि सरकारले ४.२ प्रतिशत जीडीपी वृद्धिको महत्वाकांक्षी लक्ष्य लिएको छ । बजेटअनुसार, देशको ठूलो ऋण तिर्नका लागि ८ ट्रिलियन पाकिस्तानी रुपैयाँ (झन्डै २८.४ अर्ब डलर) छुट्याइएको छ । पछिल्लो साता विश्व बैंकले सार्वजनिक गरेको एक प्रतिवेदनले पाकिस्तानको कुल जनसंख्याको करिब ४५ प्रतिशत हिस्सा गरिबीको रेखामुनि रहेको र देशको साक्षरता दर ६१ प्रतिशत रहेको उल्लेख गरेको छ । यो बजेट सन् २०२४ मा गठन भएको वर्तमान सरकारले ल्याएको दोस्रो बजेट हो ।

ग्लोबल रिजर्भमा सुनको बढोत्तरी : ३० वर्षमा सर्वाधिक २३ प्रतिशत हिस्सेदारी

काठमाडौं । विश्वभरका केन्द्रीय बैंकहरूले सुनको भण्डारण बढाउँदै गरेका छन् । २०२५ को दोस्रो त्रैमासिकमा विश्व रिजर्भमा सुनको हिस्सेदारी २३ प्रतिशत पुगेको छ, जुन पछिल्लो ३० वर्षमा सबैभन्दा धेरै हो ।  पछिल्ला ६ वर्षमा यो हिस्सेदारी दोब्बर भएको छ । चीन, टर्की, भारत, पोल्याण्ड लगायतका देशहरूले आफ्नो सुन भण्डार तीव्र गतिमा बढाइरहेका छन् ।  चीनको केन्द्रीय बैंकले मे महिनामा लगातार सातौं महिना सुन खरिद गर्यो । यसैगरी, चीनले आफ्ना नागरिकहरूलाई पनि सुन जम्मा गर्न प्रोत्साहित गरिरहेको छ। सन् २००० मा चीनको केन्द्रीय बैंकसँग ३९५ टन सुन थियो भने अहिले यो २ हजार २८० टन पुगेको छ। तर, विश्लेषकहरूको भनाइ छ कि चीनसँग ५ हजार टन सुन छ, जसलाई उसले गोप्य रूपमा खरिद गरेको हो ।  यसै अवधिमा अमेरिकी डलरको विश्व रिजर्भमा हिस्सेदारी १० प्रतिशत घटेर ४४ प्रतिशतमा पुगेको छ, जुन १९९३ पछिको सबैभन्दा न्यून स्तर हो । त्यस्तै, युरोको हिस्सेदारी पनि २ प्रतिशतले घटेर १६ प्रतिशतमा झरेको छ, जुन १६ वर्षमा सबैभन्दा कम हो ।  रूस-युक्रेन युद्धपछि धेरै देशहरूले डलरमा निर्भरता घटाउँदै सुनको भण्डार बढाउँदै गरेका छन् । यसैबीच पछिल्ला केही वर्षमा सुनको मूल्यमा ठूलो उछाल आएको छ । सुन भण्डारमा अमेरिका अगाडि, चीन पाँचौं स्थानमा यद्यपि चीनले लगातार सुन खरिद गरे पनि,सुन भण्डारको हिसाबले यो धेरै देशहरूभन्दा पछि छ । विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिकाको सुन भण्डार ८ हजार १३३.४६ टन छ । यसपछि युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनी (३ हजार ३५१.५३ टन), इटाली (२ हजार ४५१.८४ टन) र फ्रान्स (२ हजार ४३७ टन) छ ।  चीन २ हजार २७९.५६ टन सुनका साथ पाँचौं, स्विट्जरल्याण्ड (१ हजार ३९.९४ टन) छैटौं र भारत (८७६.१८ टन) सातौं स्थानमा छन् ।