‘शीतयुद्ध मानसिकता’ अस्वीकार, चिनियाँ राष्ट्रपति सीको एआईमा सहकार्य गर्न आह्वान
तियानजिन, चीन । चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार शाङ्घाई सहयोग संगठन (एससीओ) का सदस्य राष्ट्रहरूलाई कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा सहकार्य गर्न आह्वान गरेका छन् । उनले भनेका छन्, ‘शीतयुद्ध मानसिकता’लाई अस्वीकार गर्नुपर्छ । आजसम्मकै ठूलो भनिएको एससीओ शिखर सम्मेलनमा सी बोलिरहेका थिए, जसमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित २० भन्दा बढी विदेशी नेताहरू तियानजिनमा सहभागी भएका थिए। चीनले आफूलाई वैश्विक शान्तिदूतको रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको बेला बैठक भएको हो । यता अमेरिका–चीनबीचको निरन्तर व्यापारिक तनाव, युक्रेनमा रुसी युद्ध र इजरायल–हमास द्वन्द्वको पृष्ठभूमि छ । सीले चीनले एससीओका अन्य मुलुकहरूमा ८४ अर्ब डलर लगानी गरिसकेको उल्लेख गर्दै बेइजिङको ‘लुबान’ व्यावसायिक शिक्षा कार्यक्रममा १० हजार विद्यार्थीलाई सहभागी गराउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘यस शिखर सम्मेलनले गुणस्तरीय विकास र सहकार्यको नयाँ चरण सुरु गर्ने अवसर प्रदान गरेको छ ।’ आफ्नो सम्बोधन अघि सीले मोदी र पुटिनसँगै अन्य एससीओ सदस्यहरूसँग समूह तस्बिरमा भाग लिएका थिए । यसै हप्तामा सी र पुटिनबीच द्विपक्षीय भेट हुने अपेक्षा गरिएको छ । पुटिन दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्षको अवसरमा बेइजिङमा आयोजना हुने सैनिक परेडमा सहभागी हुन चीनमै बस्ने कार्यक्रम छ । सप्ताहन्तमा सीले कम्तीमा १० जना विदेशी नेताहरूसँग भेट गरेका थिए, जसमा टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगान र क्याम्बोडियाका प्रधानमन्त्री हुन मानेटसमेत छन् । शनिबार उनले मोदीसँग भेट्दा दुबै पक्षले प्रतिस्पर्धी नभई साझेदार बन्नुपर्नेमा जोड दिएका थिए । भारतको परराष्ट्र मन्त्रालयले भेटपछि विज्ञप्ति जारी गर्दै भन्यो, ‘आपसी सम्मान, आपसी हित र आपसी संवेदनशीलताको आधारमा भारत र चीनबीचको स्थिर सम्बन्ध र सहकार्य दुवै देशका २.८ अर्ब जनताको प्रगति र विकासका लागि अत्यावश्यक छ ।’ यद्यपि एससीओ शिखर सम्मेलनले तत्काल तनाव कम गर्ने ब्रेकथ्रू ल्याउने वा नल्याउने अनिश्चित भए पनि विश्लेषकहरूले भने चीन–भारत सम्बन्ध सुधारले बेइजिङको प्रभाव बलियो बनाउन सक्ने बताएका छन् । ‘भारतसँगको सम्बन्ध सुधार ठूलो कुरा हो । यसले भारतलाई औद्योगिकीकरण र उत्पादन वृद्धि गर्न आवश्यक बौद्धिक सम्पत्तिमा पहुँच दिन्छ,’ जियोम्याक्रो स्ट्राटेजी बीसीए एसेसका प्रमुख रणनीतिकार मार्को पापिकले इमेलमार्फत भने । ‘तर दीर्घकालीन रूपमा अमेरिकाले चीनलाई समस्या सृजकको रूपमा चित्रित गर्ने प्रचार युद्ध हार्दै गएको छ । यसले बहुध्रुवीय विश्वलाई अझ मजबुत बनाइरहेको छ,’ उनले थपे । ‘चीनले आर्थिक सहकार्य र शान्तिका लागि ‘पहल’ लिएको छ,’ सेन्टर फर चाइना एण्ड ग्लोबलाइजेशनका संस्थापक तथा अध्यक्ष हेन्री हुयाओ वाङले भने । उनले चीन–भारत सम्बन्ध पुनःस्थापना गर्ने प्रयासको प्रशंसा गर्दै भारत–पाकिस्तानले पनि त्यस्तै गर्नुपर्ने बताए । ‘अमेरिकी राष्ट्रपति ट्रम्प धेरै शान्ति ल्याउने प्रयासमा छन्, तर चीनको सहयोग भए हामीले पनि त्यस्तै गर्न सक्छौं,’ वाङले सोमबार सीएनबीसीको द चाइना कननेक्शन कार्यक्रममा भने। ‘चीनले रुससँगको राम्रो सम्बन्धको फाइदा उठाएर युक्रेन युद्धबारे सम्झौता गराउन सहयोग गर्न सक्छ,’ उनले थपे । साथै एससीओ वा चीन–भारत जस्ता सदस्यहरूले सुरक्षा ग्यारेन्टरको भूमिका खेल्न सक्ने उनले जोड दिए । एससीओ शिखर सम्मेलनले चीनलाई धेरै देशहरूसँग सम्बन्ध सुधार्ने बाटो खोल्न सक्ने सम्भावना रहेको पापिकले बताए । दुई दिने बैठकको अन्त्यमा संयुक्त विज्ञप्ति जारी हुने अपेक्षा गरिएको छ । चीनका शीर्ष कूटनीतिज्ञ वाङ यीले सोमबार बेलुकी पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । भारतको त्रिदेशीय सन्तुलन : शुल्क, तेल र असजिलो हस्तमिलन
अमेरिकी अदालत भन्छ- ट्रम्पको ट्यारिफ गैरकानुनी
काठमाडौं । अमेरिकाको एक संघीय अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफलाई गैरकानुनी ठहराएको छ । अदालतले ट्रेड घाटा र सिमाना मुद्दालाई ‘राष्ट्रिय आपतकाल’ भनेर आफ्नो अधिकारको दुरुपयोग गरेको जनाएको छ । अदालतले भनेको छ कि हालका लागि ट्यारिफ लागू रहिरहनेछन् । ट्रम्प प्रशासनसँग सर्वोच्च अदालतमा अपील गर्ने मौका छ । अर्थात् व्यापारी, उपभोक्ता र चीन, भारतलगायतका देशहरू अझै लागू ट्यारिफको असरमा छन् । तर ट्रम्पमाथि दबाब बढिसकेको छ । अमेरिकी संसदको विदेश मामिलाको समितिले ट्रम्पको ट्यारिफमा कदम चाल्न सक्छ । ट्यारिफ ट्रम्पको सबैभन्दा ठूलो नेगोसिएसन हतियार थियो । उनी देशहरूलाई उच्च शुल्कको धम्की दिएर सम्झौता गराउँथे । यदि अदालतले यो हतियार खोस्यो भने ट्रम्पको शक्ति घट्छ र विश्वले अमेरिकी दबाबलाई बेवास्ता गर्न सक्छ । विशेष गरी यस्तो समयमा जब अमेरिकी ट्यारिफबाट पीडित धेरै देशहरू आपसमा नजिक हुँदैछन् । जुलाईसम्म अमेरिका यस ट्यारिफबाट १५९ अर्ब डलर संकलन गरिसकेको छ । यदि सर्वोच्च अदालतले यसलाई अवैध ठहरायो भने यो पैसा फिर्ता गर्नु पर्न सक्छ । न्याय विभागले चेतावनी दिएको छ कि यस्तो भए देशले ‘आर्थिक विनाश’ भोग्न सक्छ । ट्रम्पले सर्वोच्च अदालत जाने घोषणा गरेका छन् । उनले चेतावनी दिएका छन् कि यदि फैसला उनीविरुद्ध आयो भने यसले अमेरिका ध्वस्त पार्न सक्छ । यदि सर्वोच्च अदालत ट्रम्पको पक्षमा छ भने ट्यारिफ कायम रहिरहनेछ । नभए अरबौं डलर फिर्ता गर्नु पर्नेछ र अमेरिका नयाँ व्यापार नीति बनाउन बाध्य हुनेछ । ट्रम्पको अदालतमा हार पछि पनि ट्यारिफ बढाउने विकल्पहरू हुनेछन्, तर ती सीमित हुनेछन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले मोदीलाई भने– ‘ड्रागन र हात्ती मिल्नु धेरै जरुरी’
काठमाडौं । चीनका राष्ट्रपति सी ‍जिनपिङले आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय भेटमा ड्रागन र हात्तीको साथ आउनु धेरै जरुरी रहेको बताएका छन् । सी चिनफिङले भने, ‘विश्व परिवर्तनतर्फ अघि बढ्दैछ । चीन र भारत संसारका दुई सबैभन्दा पुराना सभ्यताहरू हुन् । हामी दुवै संसारकै सबैभन्दा बढी जनसंख्या भएका देश हौं र ग्लोबल साउथको हिस्सा हौं ।’ चीनी राष्ट्रपतिले भने, ‘दुवै देश मित्र बनेर रहनु, राम्रो छिमेकी हुनु र ड्रागन र हात्तीको सहकार्य हुनु धेरै जरुरी छ ।’ यसअघि प्रधानमन्त्री मोदीले पनि सोही बैठकमा भारत र चीनका सम्बन्धलाई एक सकारात्मक दिशा मिलेको बताएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार तियानजिन पुगेका हुन् । २०१८ पछि प्रधानमन्त्री मोदीको यो पहिलो चीन भ्रमण हो । गत वर्ष भारत र चीनबीचको द्विपक्षीय व्यापार करिब १२७.७ अर्ब अमेरिकी डलरको रहेको थियो । चीनको तियानजिनमा ३१ अगस्टदेखि १ सेप्टेम्बरसम्म शाङ्घाई को–अपरेसन अर्गनाइजेशन (एससीओ) को बैठक भइरहेको छ । यसमा मोदी र सी जिनपिङसँगै रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन पनि सहभागी भएका छन् ।