विश्वमा पाँच करोड २६ लाख व्यक्ति घरेलु श्रमिक, काठमाडौंमा मात्रै चालिस हजार

काठमाडौं। काठमाडौंमा ४० हजार घरेलु श्रमिक रहेका छन् । स्वतन्त्रता अभियान नेपालले दिएको जानकारीअनुसार डिस्को, बार, होटल, रेस्टुराँलगायतमा सो परिमाणमा घरेलु श्रमिक रहेका छन् । बेरोजगार अशिक्षालगायत समस्याका कारण काठमाडौँमा श्रमिकको सङ्ख्या बढेको हो । काठमाडौंमा घरेलु श्रमिकको सङ्ख्या माग सङ्ख्याको ७३ प्रतिशत हो । स्वतन्त्रता अभियान नेपालका कार्यालय प्रमुख ऋतु भट्टराईका अनुसार विश्वमा पाँच करोड २६ लाख व्यक्ति घरेलु श्रमिक रहेको बताउछन् । उनी भन्छन्,“नेपालमा मात्र दुई लाख घरेलु श्रमिक श्रममा संलग्न छन् ।” अन्यन्तै न्यून ज्याला, काममा लिखित सम्झौता नहुनु, कानुनी पहिचानको अभाव, यौन हिंसा र दुव्र्यवहारजस्ता घटना घरेलु श्रमिकले भोग्दै आएको भट्टराई बताउँछन् । महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह नेपालका कार्यकारी निर्देशक बेनुमाया गुरुङ नेपालमा एक लाख बालबालिका निकृष्ट श्रम र छ लाख २१ हजार बालबालिकाले जोखिमपूर्ण श्रम गरिरहेको बताउँछन् । नेपालमा बर्सेनि १० हजारदेखि १२ हजार महिला तथा बालबालिका बेचबिखनमा पर्ने गरेका छन् । केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालका अनुसार बालबालिकाका लागि खुला स्थान, मनोरञ्जन, सिकाइस्थल नहुनु, हेला, उपेक्षा, दुव्र्यवहार, हिंसा, शोषणलगायत समस्याका कारण बालबालिका सडकमा आउने गरेका छन् । काठमाडौंमा कुल जनसङ्ख्याको ३५ प्रतिशत बालबालिका छन् । स्वतन्त्रता अभियान नेपालले आज यहाँ आयोजना गरेको स्थानीय तहमा बाल संरक्षण तथा श्रमिक अधिकार संरक्षणका सम्बन्धमा काठमाडौं उपत्यकाका नवनिर्वाचित जनप्रतिनिधिसँगको कार्यशाला गोष्ठीमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले श्रमिक क्षेत्रमा लागेका महिला तथा बालबालिकाको समस्या समाधानमा महानगरपालिका गम्भीर भएर लाग्ने बताए । “महिला, बालबालिका, अपाङ्ग, दलित, अल्पसङ्ख्यक, मुस्लिमका लागि महानगरको कुल बजेटको ३५ प्रतिशत खर्च गर्ने व्यवस्था छ, उक्त रकमलाई यस्ता काममा खर्च गर्न सकिन्छ,” उनले भने । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माणका लागि महानगरपालिका जुटेको उनको भनाइ थियो । सरकारी तथा गैरसरकारी क्षेत्रको राय र सुझावलाई समेटेर नीति तथा कार्यक्रम निर्माण गरीने उनले बताए । काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी महिला तथा बालबालिका बेचबिखन समस्या काठमाडौंमा बढ्दै गएकाले यसलाई रोक्न महानगरपालिका लाग्ने बताउँछन् । काठमाडौंको नयाँ बसपार्क, ठमेल, गौशाला, कलङ्की, कोटेश्वरलगायत ठाउँका होटल, रेस्टुराँ, डान्सबार, दोहोरीमा महिला तथा बालबालिकाको बढी प्रयोग भएको पाइएको छ । कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहरा, टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोललगायतले घरेलु श्रमिक तथा बालबालिकाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारी तथा गैरसरकारी क्षेत्र एकजुट हुनुपर्नेमा जोड दिएका थिए । रासस

डेढ अर्ब खर्चेर साढे दुई सय कर्मचारीलाई अवकाश

काठमाडौं । घाटा बेहोरिरहेको सरकारी स्वामित्वको नेसनल ट्रेडिङ लिमिटेडले साढे दुई सय भन्दा बढी कर्मचारीलाई अवकाश दिएको छ । कम्पनी स्वामित्वमा काठमाडौं, टेकुमा रहेको करिब ५० रोपनी जग्गा बेचेर कर्मचारीलाई स्वेच्छिक अवकाश दिएको हो । अवकाश लिएका कर्मचारीलाई असार १५ बाट रकम दिइने बताइएको छ । कर्मचारीलाई एकमुष्ठ एक करोड ६६ करोड रुपैयाँ बाँड्ने कम्पनीले जनाएको छ । कर्मचारीले तह अनुसार न्यूनतम १५ लाखदेखि अधिकतम ७० लाख रुपैयाँसम्म बुझ्छन् । कम्पनीका महाप्रवन्धक लबराज जोशीले बने, यसबाहेक पेन्सन लगायत अरु कुनै सुविधा पाउँदैनन् । नागरिक दैनिकबाट ।

निगमले पाइलट टिकाउन ३ सय प्रतिशतसम्म तलब बढायो, २ लाख पाउने पाइलटको मासिक तलब अब ६ लाख

नेपाल वायुसेवा निगमका पाइलटको तलबभत्ता ३ सय प्रतिशतसम्म वृद्धि हुने भएको छ ।निजी क्षेत्रका एयरलाइन्सहरुले आकर्षक तलब भत्ता दिन थालेसँगै निगममाथि पाइलटको सुविधा बढाउन दबाब परेको थियो । अर्थ मन्त्रालयले गत बिहीबार पाइलटको तलब भत्ता बढाउन सहमति दिएसँगै अब निगमका जहाज उडाउने क्याप्टेनहरुको तलब ६ लाख ८ हजार रुपैयाँ पुग्नेछ । अर्थले सहमति दिएपछि पाइलटहरुले करबाहेक बैंक खातामा ४ लाख ५० हजार रुपैयाँ जानेछ । निजी क्षेत्रका वायुसेवा कम्पनीहरुले आकर्षक तलबवसुविधा दिएपछि निगममा पाइलट टिकाउनै हम्मे हम्मे परेको थियो । यस देखि १ देखि २ लाख रुपैयाँ मात्रै तलवभत्ता निगमका पाइलटले बुझ्दै आएका थिए । निजी क्षेत्रले ५ लाखसम्म दिने रेका थिए । कारोबार दैनिकबाट ।