एनआईसी एशियाको प्रमुख कार्यकारी अधिकृतमा रोशन न्यौपाने नियुक्त, वासलात २ खर्ब नजिक
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रोशनकुमार न्यौपाने नियुक्त भएका छन् । आइतबार(आज) बसेको बैंकको ३७९औं सञ्चालक समितिको बैठकले बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई सीईओ पदमा नियुक्त गरेको हो । उनकाे कार्यकाल ४ वर्षकाे लागि ताेकिएकाे छ । तत्कालिन प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालको राजिनामा स्वीकृत भएपश्चात नवनियुक्त सीईओ न्यौपानेले कायम मूकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए । न्यौपानेको नेतृत्वमा बैंकले विभिन्न वित्तीय परिसूचकहरुमा उत्कृष्ट रुपमा सुधार गर्दै निक्षेप, कर्जा तथा वासलातको आकार, शाखा तथा एटिएम संजाल लगायतका परिसूचकमा नेपालकै सबैभन्दा ठूलो बैंकको पहिचान बनाई सकेको छ । नवनियुक्त सीईओ न्यौपाने आन्तरिक लेखापरीक्षण विभाग प्रमुखको रुपमा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका थिए । उनले बैंकको प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत, तथा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व प्रदान गर्दै बैंकलाई देशकै अग्रणी बैंकहरुमध्येको एक बैंकको रुपमा स्थापित गराउने अभियानमा मुख्य अभियन्ताको रुपमा काम गर्दै आएका छन् । साथै, उनी चार्टड एकाउण्टेण्ट समेत हुन् । सीईओमा नियुक्त भएकै दिन न्यौपानेलाई बैंकका संचालक समितिका अध्यक्ष तुलसी राम अग्रवालले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । साथै, उनले सबै सरोकारवालाहरुको सर्वाङ्गिण आर्थिक समृद्धिका लागि एक उत्कृष्ट बैंकको रुपमा यस बैंकलाई थप उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । नववियुक्त प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बैंकका समस्तलाई उत्कृष्ट, सरल एवं सुलभ बैकिङ्ग सेवाप्रदान गरीे समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय संकल्पले परिकल्पना गरे वमोजिम सबै सरोकारवालाहरुको सर्वाङ्गिण आर्थिक समृद्घिका लागि एक उत्कृष्ट बैंकको रुपमा यस बैंकलाई थप उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि”भन्ने बैंकको नारालाई मुर्तरुप दिन सम्पूर्ण बैंक परिवार हर हमेसा प्रतिबद्ध रहने प्रण उनले गरेका छन् । गत असाेज मसान्तमा यस बैंककाे वासलात १ खर्ब ९५ अर्ब रूपैयाँ छ । यस बैंकमा सर्बसाधारणकाे निक्षेप १ खर्ब ६३ अर्ब रूपैयाँ छ । १४ लाखभन्दा बढि ग्राहक रहेकाे बैंकले जनाएकाे छ । २६८शाखा तथा २८१ एटीएमसहित देशकै सवैभन्दा बढी शाखा सञ्जालबाट बैंकले बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
गरिबी निवारण कोषका उपाध्यक्ष भट्टराईद्धारा पदबहाली
काठमाडौँ । गरिबी निवारण कोषका नवनियुक्त उपाध्यक्षले पदबहाली गरेका छन् । उपाध्यक्ष निर्मल कुमार भट्टराई सोमबार कोषको कार्यालय पुगेर कोषका कार्यकारी निर्देशक तथा नेपाल सरकारका सहसचिव छबि रिजालले पदभार ग्रहण गरेका छन् । तेह्रथुमका स्थायी बासिन्दा भट्टराइले कोष भित्र रहेको भ्रष्टाचार र व्यथितीलाई समाप्त गर्दै गरिब जनताका पक्षमा काम गर्ने जनाउँदै ‘कोष अब नयाँ ढंगले अघि बढाउँने हुँदा सबैको साथ र सहयोग अपिल गरेका छन् । लामो समयदेखी राजनीतिका साथै शिक्षण तथा विकास निर्माणका क्षेत्रमा क्रियाशिल भट्टराइले अंग्रजीमा स्नातकोत्तर गरेका छन् । भट्टराई र रिजाल दुबैलाई कोषका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको लक्ष्य तथा कोषको उद्देश्य अनुसार पारदर्शि ढंगले काम गर्न निर्देशन दिएका छन् ।
प्लान इन्टरनेशनलका ७६ कर्मचारी बर्खास्त, बालबालिकाको हितमा काम गर्ने संस्थाभित्र कर्मचारी शोषण
काठमाडाैं । प्लान इन्टरनेशनल नेपालमा कार्यरत ७६ जना कर्मचारी बर्खास्त भएका छन् । संस्थामा कार्यरत विकास संयोजक, सुरक्षा गार्ड र सूचना प्रविधि संयोजक पदमा कार्यरत कर्मचारी स्काइप बैठकमा डोनर एजेन्सीले बर्खास्तको निर्णय सुनाएको पीडित कर्मचारीले बताएका छन् । पूर्व सूचना बिना २४ अक्टोबर तारिक मध्यान्नको स्काइप बैठकमा एक्कासी गैरकानूनी, अपमानजनक र अन्यायपूर्ण ढंगले वर्खास्तको निर्णय सुनाएको र ३१ डिसेम्बरदेखि लागूू हुने गरी बर्खास्तीको पत्रसमेत दिएको पीडितहरुले बताएका छन् । संस्थामा १० देखि २० वर्षसम्म कार्यरतस्थायी कर्मचारीहरूलाई संस्थाको पुनर्संरचनाको नाममा अन्यायपूर्ण तरिकाले बर्खास्त आफूहरुको आत्मसम्मानमा चोट पार्नुको साथै नेपालको प्रचलित कानूनको ठाडो उल्लंघन भएको प्लान इन्टरनेशनलका कर्मचारीको गुनासो छ । प्लान इन्टरनेशनलले कर्मचारीहरूसँग समझौता गर्दा ‘नियमित र स्थायी कर्मचारी’ भनी भनिएको छ तथा स्वतः अवकाश हुने उमेर ६२ वर्ष तोकिएको बताइएको छ । एकतिर पद नै आवश्यक नभएको भन्ने तर अर्कातिर विद्यमान स्थायी कर्मचारीहरूलाई बर्खास्त गरी सोही पदमा बाहिरबाट व्यक्तिहरूलाई तत्कालै बहाल गरिएको कर्मचारीको दावी छ । यसमा उच्च व्यवस्थापनमा संलग्न स्वेच्छाचारी निर्णयका पक्षपोषक विदेशी मूलका नेपालका लागि डाइरेक्टर र तिनका सीमित नेपाली दलाल कर्मचारीहरूको चलखेल र मिलेमतो भएको उनीहरुको आरोप छ । कर्मचारी बर्खास्त गर्ने सो संस्थाको निर्णय प्रचलित श्रम ऐन २०७४ दफा १४५ विपरीत उनीहरुको निष्कर्ष छ । यस अघिसमेत प्लान इन्टरनेशनल नेपालले आफ्नो संस्थामा कार्यरत कर्मचारीहरूलाई संस्थाबाट निष्कासन गरेको र पूर्ण कार्यअवधिको क्षतिपूर्ति नदिएको र त्यसको मुद्दासमेत अहिले सर्वोच्चमा चलिरहेको र पैसा तथा पावरको भरमा यस संस्थाले सरकारी तथा न्यायिक निकायलाई समेत प्रभावित गर्ने गरेको सम्बन्धित कर्मचारीहरू बताउँछन् । बालबालिकाको क्षेत्रमा काम गर्ने यस संस्थाको उच्च व्यवस्थापनले नेपालमा गरेका धेरै कार्यहरु विवादमा पर्दै आएका छन् । कर्मचारी कटौतीको निर्णयका विरुद्घ पीडित कर्मचारीहरू प्लान इन्टरनेशनल नेपालको राष्ट्रिय कार्यालयमा चरणवद्ध, शान्तिपूर्ण तथा अनिश्चितकालीन विरोधका कार्यक्रम संचालन गरिरहेका छन् ।