राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा मतदान जारी, ८० प्रतिशत मत खस्यो

काठमाडाैं । राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि भइरहेको निर्वाचनअन्तर्गत मुलुकका सातै प्रदेशमा अहिले मतदान जारी छ । दिउँसो एक बजेसम्म ८० प्रतिशतभन्दा बढी मतदान भइसकेको सम्बन्धित मतदान अधिकृतले जानकारी दिएका छन् । मतदान केन्द्रमा पुगेर मतदाता बिहान बजेदेखि नै लाइनमा बसेकाे देखिन्थ्याे । मतदानका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म समय तोकिएको छ । सातै प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाम क्रमशः मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन हुँदैछ । निर्वाचनका लागि ती जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचनमा ५ सय ५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुख एक हजार ५ सय ६ गरी कूल दुई हजार ५६ मतदाता रहेका छन् । निर्वाचनमा छ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ कायम भएको छ । मतदान सकिनासाथ राजनीतिक दलको सहमतिमा मतगणना कार्य प्रारम्भ हुने छ । आजै राति सातै प्रदेशबाट निर्वाचनको नतिजा प्राप्त हुनेछ । यसैबीच, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तद्वय नरेन्द्र दाहाल र इश्वरीप्रसाद पौड्यालले वाग्मती प्रदेशको ललितपुर नगरपालिका–४ स्थित वडासमितिको भवन परिसरमा कायम गरिएको मतदान केन्द्रमा भइरहेको मतदानको निरीक्षण गरे । उक्त मतदान केन्द्रमा प्रदेशसभा सदस्यतर्फ १ सय १० र स्थानीय तहतर्फ २ सय ३८ मतदाता कायम छन् । रासस

लक्ष्मी लघुवित्तद्वारा २ महिने सिलाई कटाई तालिम प्रदान

काठमाडौं । लक्ष्मी बैंकको सहायक कम्पनीको रुपमा स्थापित लक्ष्मी लघुवित्त वित्तीय संस्थाले रुपन्देही जिल्लाको सुर्यपुरा, शाखामा आबद्ध ग्राहकहरुलाई २ महिने सिलाई कटाई तालिम प्रदान गरेको छ । उक्त तालिम पुस १० देखि माघ ८ गते सम्म सञ्चालन भएको थियो । तालिममा व्यवसाय उन्मुख २० जना ग्राहकहरुलाई सहभागी गराइएको थियो । टेलरीङ्ग व्यवसायमा आर्कषण गरी महिला ग्राहक सदस्यहरुलाई सफल उद्यमी बनाउने र जीविकोपार्जनलाई सहज बनाउन उक्त सीपको माध्यमबाट आयआर्जनको क्षेत्रमा टेवा पु¥याउने उद्देश्यले सिलाई कटाई तालिम आयोजना गरिएको थियो । तालिम समापन कार्यक्रममा उपस्थित गैडहवा गाँउपालिकाकी उपाध्यक्ष सुभावती यादवले “सबैले जागिर नै खानु पर्छ भन्ने छैन् आफ्नो सिप र क्षमता अनुरुपको कार्यबाट व्यावसायिक भई आत्मनिर्भर तिर लाग्न सकिने” कुरा बताएकी थिइन् । लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण र लक्ष्मी बैंकसँंगको सहकार्यमा शाखा रहित बैंकिङ्ग सुविधा सँगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तीकरणमा टेवा पुर्याउने उद्देश्यले यस्ता किसिमका क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ ।

वैदेशिक रोजगारको समय अवधिमा नेपालमै मृत्यु भए परिवारलाई ७ लाख सहयोग

काठमाडौं । वैदेशिक रोजगारमा गएका नेपाली युवाको श्रम स्विकृति अवधिमा नृेपालमै मृत्यु हुन गएमा परिवारलाई ७ लाख रुपैयाँ सहायता दिने भएकाे छ । बिदामा नेपाल हुँदा जस्तो सुकै अवस्थामा मृत्यु भएको भेटिएका मृतकका परिवारलाई सरकारले आर्थिक सहायता रकम स्वरुप ७ लाख दिने निर्णय गरेको हो । हालसम्म वैदेशिक रोजगारीको क्रममा विरामी भई स्वदेश आएका तथा उपचारको क्रममा मृत्यु हुनेलाई सो रकम दिइने छ । अहिलेसम्म १ सय १४ श्रमिकको मृत्यु भएको वैदेशिक रोजगार बोर्डले जानकारी गराउँनुको साथै सबै मृतक परिवारसामु सहायता रकम पुर्याउने निर्णय गरेको छ । त्यहाँ अन्य विविध कारण नेपाल आएको समयमा २ सय १ जनाको मृत्यु भएको बोर्डले जनाएको छ । बोर्डमा निवेदन दर्ता गरेका सबै मृतकका परिवारसामु सहायता रकम प्रदान गर्ने भएको छ । पछिल्लो समय ५० देखि ६० जनालाई बोर्डले सहायता रकम प्रदान गरेको छ । २०७४ मा वैदेशिक रोजगार ऐन संशोधन भएसँगै मृतकका परिवारलाई ७ लाख रुपैयाँ दिने भएको हो । यस अगाडी ३ लाख रुपैयाँ सहायता रकम बोर्ड मृतकका परिवारलाई दिँदै आएको थियो । वैदेशिक रोजगारमा गएका विरामी भएर तथा बिदामा नेपाल आएका जम्मा ३ सय १५ जना मध्ये अझै २ सय ९० जना मृतकका परिवारलाई ७ लाख रुपैयाँको दरले सहायता रकम प्रदान गर्ने भएको छ । आर्थिक सहायता रकम बराबर वैदेशिक रोजगार बोर्डले करिब ३० लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ । त्यस्तै हालसम्म साढे ६ करोड रुपैयाँ १ सय १२ मृतकका परिवारलाई प्रदान गर्न व्यवस्था गरेको थियो ।