‘अस्वस्थ प्रतिस्पर्धा र आयातको दबाबले स्थापित औषधि उद्योग धरासायी हुने अवस्था आयो’

नेपालका औषधि उद्योगहरूले स्वदेशमै उत्पादन सुरु गरेको लामो समय भइसक्यो । तर, सरकारी नीतिमा हुने ढिलासुस्ती, अस्वस्थ प्रतिस्पर्धा र आयातित औषधिको दबदबाका कारण स्वदेशी उद्योगहरूले अनेकौं अप्ठ्यारा भोग्नुपरिरहेको छ । दक्ष जनशक्ति र पूर्वाधार उपलब्ध भएता पनि कच्चा पदार्थमा परनिर्भरता र बजारको सीमितताले नेपाली उद्योगहरू संकटमा छन् । यद्यपि, हर्मोन र मुटुसम्बन्धी संवेदनशील औषधि उत्पादनमा नेपाल आत्मनिर्भर हुन सक्ने सम्भावना र निर्यातको अवसर अझै छ । राज्यको प्रोत्साहन र स्वदेशी उत्पादनको प्रवद्र्धन भएमा मात्र औषधि क्षेत्रले आर्थिक उन्नतिमा ठूलो योगदान दिन सक्ने व्यवसायीहरूको अपेक्षा छ ।यसै सन्दर्भमा हामीले नेपालका औषधि उद्योगको इतिहास, वर्तमान अवस्था र चुनौतीबारे लोमस फार्मास्युटिकल्सका अध्यक्ष प्रदीपजंग पाण्डेसँग कुराकानी गरेका छौं ।  तपाईं औषधि उद्योगमा संलग्न भएको लामो समय भयो, विगत र अहिलेको अवस्थालाई कसरी तुलना गर्नुहुन्छ ? पहिले ‘नेपालमै पनि औषधि बन्छ र ?’ भन्ने गरिन्थ्यो । मन्त्री र पढेलेखेका सचिवहरूमा समेत विश्वास थिएन । ओखती भनेको जडिबुटी मात्र हो भन्ने आम धारणा थियो। कतिपय ठाउँमा उपचार गर्नुको सट्टा झारफुक गर्ने चलन थियो। विस्तारै औषधि उद्योगहरू खुल्न थाले। त्यतिबेला चिकित्सकहरूले बिरामीलाई एन्टिबायोटिक खासै लेख्दैनथे; खोकीको औषधि र भिटामिन बढी सिफारिस गर्थे। त्यो समयमा मुटु, मधुमेह र मानसिक रोगका बिरामीहरू अहिलेको तुलनामा धेरै कम थिए । बरु गरिबी र खानपानको अभावले लाग्ने रोगहरू बढी थिए। टिभी (क्षयरोग) को प्रकोप बढी भएकाले त्यसकै औषधि बढी आयात हुन्थ्यो। विस्तारै प्रविधि भित्रियो, फार्मेसी कलेजहरू खुले र दक्ष जनशक्ति नेपालमै तयार हुन थाले। अहिले प्रायः सबै प्रकारका औषधि नेपालमै उत्पादन भइरहेका छन् र नेपाली औषधिप्रति जनविश्वास पनि बढ्दो छ । चार दशकको यात्रा पार गर्दा लोमसले कस्ता चुनौतीहरू अनुभव ग¥यो ? लोमस फार्मास्युटिकल्स अब ‘तन्नेरी’ भइसक्यो । बाल्यकालमा यसले पनि धेरै आरोह–अवरोह पार ग¥यो र अहिले हामी संवेदनशील औषधिहरू यहीँ बनाउँछौं । हामीसँग हर्मोनका लागि छुट्टै विभाग र भण्डारण (स्टोर) छ । ४१ वर्षको इतिहासमा लोमसले उत्कृष्ट र गुणस्तरीय उत्पादनहरू बजारमा ल्याएको छ । यदि औषधि उद्योगले गुणस्तर सुनिश्चित गरेर राष्ट्रलाई आवश्यक औषधि उत्पादन गर्न सक्यो भने नेपाली औषधि अझ बढी विश्वसनीय हुन्छ । उद्योगले नाफा कमाउँदा सरकारलाई कर तिर्न र कर्मचारीलाई बोनस खुवाउन पनि सहज हुन्छ । लोमसले कुन औषधिबाट आफ्नो उत्पादन यात्रा सुरु गरेको थियो ?  हामीले सबैभन्दा पहिले ‘लोम सिट’ नामक उत्पादनबाट यात्रा सुरु गरेका थियौं । अहिले हामीसँग ६२२ ‘मोलिक्युल’ छन् भने ३५० प्रकारका औषधि उत्पादन गरिरहेका छौं । लोमसले ‘नम्बर वान’ कम्पनीको रूपमा प्रमाणपत्र समेत पाएको छ । हामी क्यान्सरबाहेकका प्रायः सबै औषधि नेपालमा उत्पादन गर्छौं । एउटै भान्छामा सबैथोक पकाउन नसकिए झैँ औषधिका लागि पनि फरक–फरक सेक्सन चाहिन्छ । हामीले लिक्विड, ट्याब्लेट, मलम, ड्राई पाउडर आदिका लागि छुट्टाछुट्टै भवन र सेक्सन बनाएका छौं । विशेषगरी हर्मोन र स्टेरोइडका लागि अत्याधुनिक र पूर्णतः अलग सेक्सनहरू छन्, किनकि यस्ता संवेदनशील कामका लागि मेसिनदेखि ढोकासम्म (मान्छे छिर्ने, सामान ल्याउने र लैजाने) सबै छुट्टै हुनुपर्छ ।  तपाईंहरूले उत्पादन गर्दै आएको औषधिको बजार कस्तो छ ? अहिले बजारमा प्रतिस्पर्धा निकै छ । प्रतिस्पर्धा हुनु आफैंमा नराम्रो होइन, तर प्रतिस्पर्धा ‘स्वस्थ’ हुनुपर्छ । दुर्भाग्यवश, अहिले बजारमा अस्वस्थ प्रतिस्पर्धा बढी देखिएको छ । स्वस्थ प्रतिस्पर्धा कसरी गर्न सकिन्छ ? गुणस्तरीय उत्पादन पस्कने, बजारमा माग सिर्जना गर्ने र बलियो ‘ब्रान्डिङ’ मार्फत स्वस्थ प्रतिस्पर्धा गर्न सकिन्छ । अहिले अस्तित्व जोगाउनका लागि मात्रै पनि धेरैले अस्वस्थ प्रतिस्पर्धा गरिरहेका छन् । मान्छे बाँच्नका लागि जे पनि गर्न तयार हुन्छ, त्यसलाई म अन्यथा त लिन्न, तर यसो गर्दा स्थापित उद्योगहरू धराशयी हुने र बन्द हुने जोखिम बढ्छ । नेपाली बजारले मात्र तपाईंहरूको उद्योग टिकाइराख्न कत्तिको सम्भव छ ? नेपालको जनसंख्या तीन करोड मात्र भएकाले बजार तुलनात्मक रूपमा सानो छ। खुला अर्थतन्त्रका कारण उद्योग वा पसल खोल्न रोक छैन, तर जनसंख्याको अनुपातमा कम्पनीहरू धेरै भए । अहिले ६०–७० प्रतिशत औषधि नेपाली कम्पनीले ओगटेको भनिए पनि यथार्थमा त्यति पुग्न सकेको छैन । अझै पनि आधा औषधि सीमापारिबाट आउँछ। राज्यले नेपाली कम्पनीको गुणस्तर सुधार र क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्छ । राम्रो गर्ने कम्पनीलाई सहुलियत र प्रोत्साहन दिनुपर्छ । सहुलियतको अर्थ नगद अनुदान मात्र होइन, राज्यको हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ र ‘नेपाली औषधि प्रयोग गर्नुपर्छ’ भन्ने भावना जागृत हुनुपर्छ ।  आयातित औषधिले कत्तिको चुनौती थपेका छन् ? चुनौती धेरै छन् । अब राष्ट्रको सोच नै परिवर्तन हुनुपर्छ । बाहिरको एउटा कम्पनी दर्ता गरेपछि जुनसुकै औषधि ल्याउन पाइने सहज अवस्था छ । तर, हामी स्वदेशी उद्योगले धेरै झन्झट बेहोर्नुपर्छ । औषधि दर्ता गर्दा ६ महिनाको ‘स्टाबिलिटी’ रिपोर्ट राख्नुपर्छ । प्रक्रिया पूरा गर्न महिनौं लाग्छ, फेरि बजार स्वीकृतिको लागि ५–६ महिना कुर्नुपर्छ । यति गर्दा त औषधिको ‘एक्सपायरी डेट’ नै आधा सकिइसक्छ । यस्तो ढिलासुस्तीले सञ्चालकलाई दिक्क बनाउँछ भने बिरामीले बाध्य भएर अरु नै औषधि खानुपर्ने अवस्था आउँछ । नीतिगत व्यवस्थामा देखिएका मुख्य समस्या के-के हुन् ? कागजमा ‘स्वदेशी उद्योगलाई प्राथमिकता दिने’ लेखिएको छ । टेन्डरमा स्वदेशी उत्पादन २० प्रतिशत महँगो भए पनि खरिद गर्ने नीति छ, तर व्यवहारमा त्यो लागू भएको देखिँदैन । स्वदेशी उत्पादनलाई पन्छाउने परम्परा नै बसिसक्यो । अर्कोतर्फ, हाम्रो उत्पादन लागत महँगो छ । औषधिमा प्रयोग हुने सयौं केमिकलहरू स्टक राख्नुपर्छ । कच्चा पदार्थ आयात गर्दा ढुवानी भाडा, ड्राइभर खर्च र सीमा क्षेत्रमा हुने ढिलासुस्तीले लागत बढाइदिन्छ । साथै, औषधि बजारमा उधारोको ठूलो समस्या छ । ६ देखि ९ महिनासम्म पैसा आउँदैन । ‘वर्किङ क्यापिटल’ अभाव हुँदा तलब खुवाउन र बैंकको ब्याज तिर्न समेत कठिन हुन्छ । सबैभन्दा दुःखद कुरा, राज्यले उद्योगीलाई हेर्ने नजर नै नकारात्मक छ । सबै व्यवसायीलाई एउटै डालोमा राखेर हेरिन्छ । सफल उद्योगीलाई प्रोत्साहन गर्ने प्रणाली छैन । कर प्रणालीका चुनौतीहरू के-के छन् ? हामीलाई अतिरिक्त फाइदा चाहिँदैन, केवल अरू सरह सुविधा दिए पुग्छ । उदाहरणका लागि, औषधि प्याक गर्न प्रयोग हुने बोतल, बिर्को र लेबल आयात गर्दा हामीले छुट्टाछुट्टै कर तिर्नुपर्छ । तर, आयातित औषधि (फिनिस्ड प्रोडक्ट) ल्याउँदा केवल एक प्रतिशत भन्सार तिरे पुग्छ । यसले गर्दा हाम्रो उत्पादन स्वतः ५–७ प्रतिशत महँगो हुन जान्छ । राज्यले स्वदेशी उद्योगलाई ‘आर एन्ड डी’ (अनुसन्धान र विकास) मा सहयोग गर्ने र बजार सुनिश्चित गरिदिने हो भने हामी धेरै अगाडि बढ्न सक्छौं ।  लोमसले उत्पादन गरेका औषधिहरू निर्यात पनि हुन्छन् ? पहिले हामीले निर्यात गरेका थियौं, तर अहिले छैन । ढुवानी भाडा महँगो हुनु र निर्यातमा भारतले जस्तो इन्सेन्टिभ (प्रोत्साहन) हाम्रो सरकारले नदिनु मुख्य कारण हो । निर्यातका लागि आवश्यक कनेक्सन र पूर्वाधारमा पनि राज्यको सहयोग चाहिन् छ। औषधि उद्योगका लागि कच्चा पदार्थको अवस्था कस्तो छ ? मुख्य कच्चा पदार्थ अझै पनि आयात नै गर्नुपर्छ । चीन, भारत र केही युरोपबाट । यदि उद्योगहरूको संख्या र निर्यातको सम्भावना बढ्यो भने कच्चा पदार्थ पनि यहीँ उत्पादन गर्न सकिन्छ । पहिले जनशक्ति बाहिरबाट ल्याउनुपथ्र्यो, अहिले नेपालमै पर्याप्त फर्मासिस्ट र प्राविधिकहरू छन् । तर, यहाँ उचित अवसर नपाउँदा धेरै दक्ष जनशक्ति विदेश पलायन भइरहेका छन् । यदि उद्योगहरू राम्रोसँग चले र कच्चा पदार्थ यहीँ बन्न थाल्यो भने रोजगारी बढ्छ, जुन देशको विकासका लागि अनिवार्य छ । प्रविधि र जनशक्तिको उपलब्धता कस्तो देख्नुहुन्छ ? उपलब्धता सहज छ । अहिलेको एआईको युगमा नयाँ प्रविधि भित्र्याउन गाह्रो छैन।  चिकित्सा क्षेत्रमा (जस्तैः चिरेर गरिने अप्रेसनको सट्टा ल्याप्रोस्कोपी), औषधि उत्पादनमा पनि नयाँ प्रविधि आइरहेका छन् । पहिले दिनको चार पटक खानुपर्ने औषधि अहिले एक पटक खाए पुग्ने गरी विकास भएको छ । हामीसँग प्रविधि र जनशक्ति दुवै छ, केवल त्यसलाई सही ढंगले प्रयोग गर्ने वातावरण चाहिएको छ । लोमसको आगामी योजना के छ ? हामीले समयको मागअनुसार आफूलाई परिमार्जन गर्दै लगेका छौं । २० वर्षअघि नभएको हर्मोन विभाग अहिले हामीसँग छ । राष्ट्रलाई चाहिने अति आवश्यक औषधिहरू हामी आपूर्ति गरिरहेका छौं । म औषधि उत्पादक संघको अध्यक्ष हुँदा प्यारासिटामोल र स्लाइन पानी जस्ता अत्यावश्यक वस्तुको मूल्य नियन्त्रणमा काम गरेको थिएँ । कम्पनीले नाफा मात्र हेर्ने होइन, संकटको बेला राष्ट्रलाई सहयोग पनि गर्नुपर्छ । आगामी दिनमा अझ संवेदनशील र गुणस्तरीय औषधि बनाएर निर्यात गर्ने र स्वदेशमै रोजगारी सिर्जना गर्ने हाम्रो लक्ष्य छ । उपकरण र प्रविधिमा लगानी गर्दै हामी हरेक दुई–तीन वर्षमा आफ्नो क्षमता विस्तार गरिरहेका छौं ।   

‘विदेशी औषधीको मूल्य बढिरहँदा नेपाली औषधीको मूल्य १८ वर्षदेखि यथावत छ’ {अन्तर्वार्ता}

करिब २६ वर्षदेखि नेपालमा औषधी उत्पादन गर्दै आएको क्वेस्ट फर्मास्युटिकल्सले अहिले नेपालमा करिब दुई सय प्रकारका औषधी उत्पादन गर्दै आइरहेको छ । औषधी क्षेत्रमा मेडिकल रिप्रेजेन्टेटिभको रूपमा करिब पाँच दशक काम गरेको अनुभव भएका उमेशलाल श्रेष्ठले स्थापना गरेको क्वेस्टले ७ सय जनालाई रोजगारी दिएको छ । नेपालमा औषधी उद्योग सञ्चालन गरेर काम गर्दा कस्ता व्यवधानको सामना गर्नुपर्छ लगायतका विषयमा क्वेस्ट फर्मास्युटिकल्सका अध्यक्ष उमेशलालसँग विकासन्युजकी इन्द्रसरा खड्काले गरेको कुराकानीको सम्पादित अंश ।  यो क्षेत्रमा प्रवेश गर्दा र अहिले औषधी उद्योग सञ्चालन गरी आफै नेतृत्व गर्दा कति फरक हुँदो रहेछ ? म यो क्षेत्रमा एउटा कामदारको हिसाबले छिरेको थिएँ  । संसारको सबभन्दा ठुलो औषधी कम्पनीको मार्केटिङ प्रमोसनमा थिएँ । त्यहाँ काम गर्दैगर्दा अब विदेशीको लागि धेरै काम नगरी नेपालमा गर्नुपर्छ भन्ने मेरो मनमा लाग्यो र मैले आफ्नै कम्पनी स्थापना गरेको हुँ । नजिकका तीन जना साथीहरूसँग मिलेर क्वेस्ट फर्मास्युटिकल्स सञ्चालनमा ल्याएको हौं । यो कम्पनी खोलेको करिब २६ वर्ष भयो । मिहिनेत र सबैको सहयोगले हाल हामी नेपालको नम्बर वान औषधी कम्पनीका रूपमा काम गरिरहेका छौं । आफ्नो काम गर्दा जति आनन्द आउँछ, त्यो आनन्द अरूको काम गर्दा आउँदैन । मेरो आमा सहाना प्रधान विश्वविद्यालयको प्रोफेसर हुनुहुन्थ्यो, उहाँलाई जागिरबाट निकालिएको थियो । त्यसपछि हातमुख जोर्न समस्या भयो । आयआर्जनको लागि पनि मैले काम गर्नुपर्यो । जतिबेला म १८/१९ वर्षको थिएँ । काम गर्दै जाँदा अहिले जुन स्थितिमा हाम्रो कम्पनी छ र जुन स्थानमा म छु, मलाई अत्यन्त आनन्द आउँछ । काम गर्दै जाँदा अवसर पनि हुन्छ, चुनौतीहरू पनि हुन्छन्, तपाईंले के–कस्ता चुनौती खेप्नुपर्‍यो ? आफ्नै काम गर्दा अवसर त जति पनि हुन्छ, तर आफूले गर्न भने सक्नुपर्छ । तर कर्तव्य भने थुप्रै हुन्छ । चुनौतीलाई मैले कर्तव्य मान्छु । क्वेस्ट फार्मासुटिकल्सका मेरा तीन जना मित्रले पनि कम्पनीलाई दिलोज्यान दिनुभएको छ । हामीले एक–अर्काको भरोसामा विभिन्न चुनौतीको अवसर पार गर्दै यहाँसम्म आएका हौं । उमेशलाल श्रेष्ठ । कम्पनीले कति जनालाई रोजगारी दिएको छ ? क्वेस्टले प्रत्यक्ष रूपमा करिब ७ सय जनालाई रोजगारी दिइरहेको छ ।  क्वेस्टले कति प्रकारका औषधीहरू उत्पादन गरिरहेको छ ? हामीले झन्डै २ सय किसिमका औषधी उत्पादन गरिरहेका छौं । यसमध्ये २५ प्रकारका औषधी  मधुमेह र मुटुसम्बन्धी रोगका रहेका छन् । हामीले क्षमताअनुसारको औषधी उत्पादन गरिरहेका छौं ।     क्वेस्टले उत्पादन गरिरहेको औषधी नेपाली बजारमा बिक्री वितरण अथवा बजारमा खपत कत्तिको भइरहेको छ ? हामीले उत्पादन गरिरहेका सबै औषधी नेपाली बजारमा गइरहेको छ । तर सरकारका नीति नियमले औषधी उद्योगलाई गाह्रो बनाएको छ । यो उद्योगमा धेरै प्रतिस्पर्धा छ ।  यसमा म सबैभन्दा दोषी सरकार देख्छु । अब हेरौं नयाँ सरकारले कस्तो गर्छ । नेपालको औषधी ऐन आजभन्दा झन्डै ५० वर्ष पुरानो छ । त्यो ऐन औषधी उद्योगलाई प्रवर्द्धन गर्ने खालको छैन । नेपाललाई जहिले पनि विदेशबाट औषधी आयात गरेर बचाइ राख्ने खालको ऐन हो । हुन त त्यो बेला नेपालमा औषधी उद्योग पनि थिएनन् । यो ऐन परिवर्तन नगरेसम्म, नेपाली उद्योगलाई विशेष महत्त्वका साथ अगाडि नबढाएसम्म नेपाली औषधी उद्योगको हालत यही रहिरहने छ । तपाईंहरूले उत्पादन गरिरहेका औषधी बाहिरबाट पनि आयात भइरहेका छन् ? सबै बाहिरबाटै आएका छन् । औषधीको बजारमा हाम्रो सेयर जम्मा ५० प्रतिशतमात्र छ । ५० प्रतिशत त अहिले पनि विदेशबाटै आइरहेको छ । हाम्रो मुख्य प्रतिस्पर्धी नै विदेशबाट आएको कम्पनी र त्यसमा पनि भारतीय कम्पनीहरू हुन् । औषधी सम्बन्धी ऐन, विदेशबाट आयातित औषधीले विशेषगरी तपाईंहरूलाई बाधा गरिरहेको रहेछ, यो सम्बन्धमा सरकारसँग कुरा गर्नु भएन ? पैसा नखाइकन कुन चाहिँ उद्योगको कुरा सरकारले सुन्छ ? यस्ता कुरा सरकारले सुन्दै सुन्दैन । त्यसैको परिणाम अहिलेको चुनावी नतिजा हुन सक्छ ।  नेपाल विकासोन्मुख देशबाट अब विकसित देशमा प्रवेश गर्दैछ । कारण नेताहरूको अप्रष्ट बुझाइ हो । बुझ्दै नबुझ्ने खालका नेताहरूले आफूले देशलाई यस्तो अवस्थाबाट यस्तो अवस्थामा पुर्यायौं भन्नको लागि मात्र हो । खास देश त्यस्तो अवस्थामा पुगेकै छैन ।   तपाईंहरूले उत्पादन गरेका औषधी बाहिरबाट पनि उत्तिकै आइरहेका छन्, यसले तपाईंहरूलाई कस्तो अप्ठ्यारो पर्छ ? मलाई यसमा कुनै आपत्ति छैन । स्वदेशको मात्र होइन, विदेशका औषधी उद्योगसँग पनि हाम्रो प्रतिस्पर्धा हो । प्रतिस्पर्धा नभएसम्म हामीले हामीमा निखार ल्याउन सक्दैनौं  । त्यसैले विदेशी, स्वदेशी प्रतिस्पर्धा  हामीलाई चाहिन्छ । उनीहरूलाई हेरेर हामी अगाडि बढ्ने हो । नेपाल सरकारको नीति यस्तो खालको छ कि मेरै देशमा म दोस्रो दर्जाको नागरिक भएर बस्नुपर्छ । यस्तो खालको व्यवस्था, तौरतरिका जहिलेसम्म रहन्छ, तबसम्म केही हुँदैन। नीतिमा के-कस्ता समस्या छन् ? विभिन्न समस्यामध्ये एक मूल्यको हो ।  हिजो एउटा वस्तु किन्दा १ हजार ३ सय रुपैयाँ तिर्नुपर्यो । सोही वस्तु तीन महिना अगाडि किन्दा १ हजार १ सयमा किनेको थिएँ । यो सामान्य हो कि असामान्य हो मलाई थाहा छैन । तर १८ वर्षदेखि हाम्रो औषधीको मूल्य जत्तिको त्यत्ति नै छ । १६ वर्षअगाडि फ्रिज फ्रोजन पाँच रुपैयाँमा बेचेको थिएँ, त्यसको मूल्य अहिले पनि पाँच रुपैयाँ नै छ । तर आयातित कम्पनीलाई यस्तो  रोक छैन । उनीहरूको २१ रुपैयाँ पुगिसक्यो । समस्या भनेको यस्तै हो ।  सरकारले नेपाली कम्पनीहरूलाई प्रोत्साहन गर्नुको सट्टा झन् दुरुत्साहन गरिरहेको जस्तो लाग्छ ? सरकारले त हामीलाई त झन् दबाउने काम गरिरहेको छ । ब्युरोक्रेट्सहरूले हामीलाई दबाउने अनि नेताहरू बुझ्दै नबुझ्ने । नेपाली कम्पनीलाई प्रोत्साहन गर्नुको सट्टा हरेक तरिकाबाट हामीलाई रोक्ने प्रयास भइरहेको छ । बाहिरका कम्पनीलाई नेपालमा जे गर्दा पनि छुट दिने तर हामीलाई कुनै पनि लाभ छैन । यस्तो खालको प्रवृत्ति छ ।  सरकारले के गरिदिए तपाईंहरूलाई काम गर्न सहज हुन्छ ? अरू केही गर्न पर्दैन, बस् हामीलाई र विदेशीलाई बराबरको कानुन हुनुपर्छ । एउटा फुटबल खेलमा दुई टिमलाई फरकफरक नियम हुनुभएन । एउटै नियम बने पुग्छ । हामी कुनै पनि प्रतिस्पर्धालाई आफ्नो स्तरमा राख्न सक्छौं । नेपाली उद्योगले त्यति विकास त गरेको छ नि । हामी २०/२५ वटा कम्पनीहरू छौं, हामी मिलेर अगाडि जाने हो भने एक किसिमको विदेशी अतिक्रमणलाई खत्तम गर्न नसके पनि न्यूनीकरण भने गर्न सक्छौं । औषधी उद्योग सञ्चालन गर्दा, नयाँ औषधी उत्पादन गर्न खोज्दा वा करका हिसाबले कत्तिको झन्जटिलो छ ? करमा पनि केही असमानता छ तर, म करको समस्या ठूलो मान्दिनँ । मैले भारतमा जानु पर्यो भने अनुमति पाउनै गाहो छ । भारत मात्र होइन, बंगलादेश जान पनि उत्तिकै गाह्रो छ ।  मेरो कम्पनी त्यहाँ दर्ता गर्न ५० हजार डलर लाग्छ भने एउटा प्रोडक्ट दर्ता गर्न तीन वर्षको १ हजार ५०० डलर लाग्छ । यो तुलना नेपालसँग गर्ने हो भने नेपालले भारतीय र अरू विदेशी कम्पनी दर्ता गर्न जम्मा १५ हजार रुपैयाँ लिन्छ । तपाईं आफै भन्नुहोस् रुपैयाँ र ५० हजार डलरमा कति फरक पर्छ ? नेपालमा करिब चार सय वटा कम्पनीहरू  सक्रिय छन् भने देशको राजश्व कति बढ्थ्यो होला ? त्यो विषयमा सरकारले कहिल्यै ख्याल गरेन । यस्ता यावत समस्याले हामी भारतजस्तो विशाल देशको विशाल बजारमा छिर्नै पाएका छैनौं ।  तपाईंहरूले उत्पादन गरेका औषधीको निर्यात अवस्था कस्तो छ ? कतिपय साथीहरूले औषधीहरू निर्यात गरिरहनुभएको छ । हामी पनि अब केही औषधी निर्यात गर्ने तयारीमा छौं । तर निर्यात भन्नलाई जति सजिलो छ त्यतिकै असहज पनि छ । हामी विगत तीन वर्षदेखि पाँचवटा देशमा निर्यात गर्ने तयारीमा थियौं तर सकिरहेका छैनौं ।  अनि यस्तो अवस्थामा कसरी काम गर्न सक्नुभएको छ ? धेरै कुरा सहनुपर्छ, भोग्नुपर्छ । लगानी गरिसकेपछि प्रतिफल पनि हेर्नैपर्यो । अरू कम्पनीका साथीहरूले पनि थुप्रै मिहिनेत गर्नु भएको छ, हामीले पनि गरिरहेका छौं ।  सरकारले कहिलेकाहीँ भन्छ– हामीले गरेर यस्तो भयो तर तर सरकारले गर्दा अप्ठ्यारो मात्र भएको छ । नेपाल सरकारको कानुन बाङ्गो नभएर सोझो भइदिएको भए अहिले हामी सायद ८० प्रतिशतको हाराहारीमा हुन्थ्यौं । विदेशी औषधीहरू बिक्री नै नहुनुपर्ने अवस्था आउनुपर्थ्यो । अब नयाँ सरकार आउँदै छ, अबको सरकारबाट के अपेक्षा गर्नुभएको छ ? कस्तो सरकार बन्छ, त्यसपछि मात्र अपेक्षा गर्न सकिन्छ । राम्रा मान्छे, राम्रो गर्छन् भनेर भोट दिइयो । हिजोका व्यक्तिलाई पनि राम्रै भनेर ४८ सालदेखि लगातार भोट दिएका थियौं । सबै बेकामे निस्किए  । अब सबभन्दा पहिला सरकार बन्न दिऊँ, सरकार बनिसकेपछि हाम्रो छलफल हुन्छ । अब बन्ने सरकारलाई लिएर हामी निकै आशावादी छौं ।  विदेशबाट कच्चा पदार्थ ल्याएर नेपालमा काम गर्दा कस्तो अप्ठ्यारो हुन्छ ? औषधी उद्योग चल्ने भनेकै कच्चा पदार्थले हो । हामीसँग अल्कोहलबाहेक अरू कच्चा पदार्थ छैन । हामी विशेषगरी चीन र भारतबाट कच्चा पदार्थ आयात गर्छौं । यसरी आयात गर्दा मुख्य समस्या कसैगरी त्यो कच्चा पदार्थ फेल हुन्छ कि भन्ने हो । भारत र चीनमा धेरै राम्रो कच्चा पदार्थ बन्छ हामीलाई खासै समस्या हुँदैन । कच्चा पदार्थ नेपालमै उत्पादन गर्न सकिँदैन ? हामीले गर्न सक्छौं । जस्तो पारासिटामोल, एम्पिसिलिन जस्ता एमोक्सिलिन बनाउन सक्छौं । तर नेपाल सरकारले हामीलाई निर्यात गर्न सहयोग गर्नुपर्यो । बंगलादेश एकदम विशाल बजार हो, उसले ६/७ वटा कच्चा पदार्थ बनाउँछ । बंगलादेशी सरकारले कच्चा पदार्थ विदेशबाट आयात गर्न रोक लगाएको छ । जति महँगो भएपनि बांगलादेशकै लिनुपर्ने प्रावधान छ । हाम्रो सरकारले यस्तो गर्दैन । यदि नेपाल सरकारले पनि यस्तै नियम बनाइदिने हो भने नेपालले पनि ६/७ वटा कच्चा पदार्थ बनाउ सक्छ ।  औषधी उद्योगहरू सञ्चालन गर्न प्रविधि तथा जनशक्तिको उपलब्धता नेपालमा कत्तिको छ ?  हामीसँग जनशक्ति पर्याप्त छ । प्रविधि प्रायः किन्नु पर्छ । २०/२२ वर्ष अगाडि जनशक्तिकै अभाव हुन्थ्यो, अहिले अभाव छैन । यद्यपि उच्चतम खालको जनशक्तिमा भने अलिक अभाव नै छ ।  औषधी दर्ता, लाइसेन्स र नियामक प्रक्रियामा चाहिँ कति सहज छ ? मैले लाइसेन्स अप्लाई गरें भने मैले कहिले पाउँछु स्वयं मलाई नै थाहा हुँदैन । किन रोकियो भन्ने पनि थाहा हुँदैन । मैले चार वर्ष अगाडि दिएको लाइसेन्स जस्ताको तस्तै राखेर हिजो भर्खर अप्लाई गर्नेलाई लाइसेन्स दिने चलन छ । किन त्यस्तो गर्छन् मलाई थाहा छैन । त्यसका बाबजुद पनि हाम्रो कम्पनी नेपालको नम्बर वान कम्पनी छ, यो खुसीको कुरा हो ।  तपाईंहरूको नियामक निकाय औषधी व्यवस्था विभागबाट केकस्ता चुनौतीहरू सामना गर्नु परेको छ ? समस्या त्यहीँबाट छ । मनपरितन्त्र, अपारदर्शिता छ । एउटै कुरा मैले अघि भनें १८ वर्ष भइसक्दा औषधीको मूल्य बढाउन सकेको छैन । १८ वर्षमा तपाईंको तलब कति बढ्यो, मेरो तलब कति बढ्यो, डलरको मूल्य कति बढ्यो ? । योभन्दा बेसी उदाहरण चाहिन्छ ? विदेशबाट आयात भएका औषधीको मूल्य आरामसँग बढिरहेको छ । हामीले केही गरी गल्तीले मूल्य बढाइहाल्यौं भने अर्को वर्ष नवीकरणमै रोक लागाइदिन्छ । विदेशी  कम्पनीलाई त्यो गर्ने इच्छा नभएको हो कि तागत नभएको हो, मलाई थाहा भएन । सरकारीस्तरबाट सहयोग प्राप्त गरेको भए नेपाली औषधी उद्योग विश्वस्तरीय औषधी कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्थ्यो जस्तो लाग्छ ? प्रतिस्पर्धा त हामी अहिले पनि गर्न सक्छौं, गरिरहेकै छौं । नेपाली औषधीको स्तरीयतामा प्रश्नचिन्ह अहिले छैन । छुटपुट गल्ती त सबै ठाउँमा हुन्छ । भारत, बंगलादेश इभन अमेरिकामा पनि हुन्छ । अझै पनि धेरैजना नेपाली औषधी भन्दा नाक खुम्चाउँछन् । औषधी विभिन्न अन्तर्राष्ट्रिय मापदण्डअनुसार बन्छ ।  बुवा नेपालको कम्युनिस्ट नेता, आमा महिलावादी नेतृ, यस्तो परिवारमा तपाईं जन्मिनुभयो तर राजनीति छाडेर व्यवसायमा किन लाग्नुभयो ? मलाई राजनीतिप्रति कहिल्यै रुचि भएन । राजनीति गर्छु भन्ने सोच्न पनि सोचिनँ । बुवा म सानो छँदै बित्नुभयो । मेरो आमाले राजनीतिमा करिब ४ दशक बिताउनु भयो । मलाई पनि ‘तँ पनि राजनीतिमा लाग्’ भनेर थुप्रैले सल्लाह दिए । तर, मेरो आमाले एउटा परिवारको एउटा मान्छे राजनीतिमा लागे पुग्छ भन्नुभयो । त्यसपछि झन् त्यतापट्टि रुचि नै राखिनँ ।  क्वेस्टले आगामी दिनमा कसरी अगाडि बढ्ने योजना बनाएको छ ?  हामीले करिब करिब डेढ सय करोडको लगानीमा रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर खोल्दै छौं । अरू नयाँ औषधीहरू पनि बजारमा ल्याउने योजना छ ।  अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ? ऐन कानुनलाई ठीक गर्नूहोस् । ऐन कानुनमा स्वदेशी कम्पनीहरूलाई बढ्ने खालको वातावरण बनाइदिनूहोस् । म सरकारसँग छुट माग्दिनँ, छुट माग्ने काम मेरो हैन ।