‘सहकारीमा टाठाबाठाले मात्रै लाभांश पाए, राजनितिज्ञले संस्था चलाउँदा समस्या आयो’
काठमाडौं । सहकारी विभागमा उपरजिष्ट्रार टोलराज उपाध्यायले सहकारीमा टाठाबाठाले मात्रै लाभांश पाउने अभ्यास रहेको बताएका छन् । सहकारी विभाग र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा सञ्चालित कार्यक्रममा आफ्नो प्रस्तुती राख्दै उनले सहकारी संस्थाहरुले वितरण गर्ने लाभांश टाठाबाठाले मात्रै पाउने बताएका हुन् । उनले सेयर सदस्य भएपनि पहुँच नभएकाहरुले भने नपाउने धारणा राखे । शनिबार सहकारीको सुशासन, नियमन र प्रवर्द्धनको विषयमा पस्तुति राख्दै उनले राजनीतिक मान्छेले नै सहकारी संस्था चलाउँदा समस्या आएको बताए । उनका अनुसार सहकारीमा स्वनियमनको विषय ल्याउँदा पनि नै समस्या आएको हो । यस्तै, उपरजिष्ट्रार उपाध्यायले संविधानमा उल्लेख सहकारीका विषयलाई जानकारी गराउँदै अब विभाग सधैंभरी बतासे तथ्यांक लिएर अगाडि नबढ्ने बताए । ‘अहिले सहकारीको संख्या र संस्थाको हरेक सूचकको विषयमा यकिन तथ्यांक कसैलाई थाहा छैन, अब हामी तथ्यांक बनाउँछौं, त्यसमा लागि स्थानीय तहहरुसँग समन्वय गर्छौं’ उनले भने । २०७५ मा संघीय सरकारले तयार पारेको सुचना प्रणाली (कोपोमिस)मा संघ संस्था आवद्ध हुनु पर्ने अनिवार्य गरेको गरेको बताउँदै उनले कोपोमिसमा आवद्ध हुन २९ हजारले पासवर्ड लिएको र १७ हजार संस्थाले एक पटक लगइन गरेको जानकारी गराए । यस्तै, उनले स्थानीय अर्थतन्त्रमा रहेको योगदान र यो क्षेत्रको गुणस्तरको विषयमा पनि समीक्षा गर्नु पर्ने, तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको र सबैको बुझाइमा एकरुपता ल्याउनु पर्ने धारणा राखे । शुक्रबारदेखि सुरु भएको सहकारी पत्रकारिता तालिम शनिबार सकिएको छ । तालिममा पाँच जना प्रशिक्षकले प्रशिक्षण दिएका थिए।
९९ जना महिला मिलेर सुरु भएको ‘दिदिबहिनी किचन’, साढे दुई करोड लगानीबाट मासिक २० लाख आम्दानी
पोखरा । सङख्या विज्ञानमा अङ्क ९९ एउटा चक्रको अन्त्य र अर्को चक्रको शुरुवात हो । गणना विधिमा दुई अङ्कको चक्र ९९ सकिन्छ र तीन अङ्कको चक्र शुरु हुन्छ । धार्मिक हिसाबले अङ्क ९९ लाई प्रतिकात्मक रुपमा विभिन्न सकारात्मक विषयसँग जोडेर हेर्ने गरिन्छ । एकता, प्रतिवद्धता, कार्यसफलतालगायतका भाव र अर्थको सङ्केत यो अङ्कले दिन्छ । उनान्सय जना महिलाले पर्यटकीय नगरी पोखरामा सञ्चालन गरेको व्यवसाय ‘रोयल दिदीबहिनी किचन’ यस्तै प्रतीकात्मक बिम्ब हो । जसले निकै खराब समयबाट गुज्रिएर आशाको प्रकाश बालेको छ र यो महिला सशक्तिकरणको ज्वलन्त उदाहरण बनेको छ । यहाँ गृहणीदेखि विभिन्न पेशा व्यवसायमा जोडिएका महिला एकताबद्ध भएर केही फरक, चुनौतीपूर्ण र नमूना काम गर्ने प्रयासमा छन् । पोखरा महानगरपालिका वडा नम्बर १० को बुद्ध चोकमा महिलाहरुको सामूहिक प्रयासमा साढे दुई करोड लगानीमा रेस्टुराँ सुरु भएको हो । उनीहरु सबै पोखरा ‘रोयल बचत तथा ऋण सहकारी’मार्फत् एकआपसमा जोडिए । कम्पनी ऐनअनुसार निजी कम्पनी दर्ता गरे र रेस्टुराँ तथा बैङ्क्वेट चलाए । महिला सशक्तीकरणका लागि केही फरक गर्नुपर्छ भन्ने लागेरै आफूहरुले रेस्टुराँ शुरु गरेको सञ्चालक रुद्रकुमारी गुरुङ बताउँछिन् । पोखरा रोयल बचत तथा ऋण सहकारीमा अध्यक्ष गुरुङकै नेतृत्वमा महिलाहरु एकजुट भइ दिदीबहिनी किचन स्थापना गरेका हुन् । ‘सहकारीमा उपाध्यक्ष हुँदा मैले दिदीबहिनी किचनको नेतृत्व गरेको हुँ । विभिन्न अध्ययन अवलोकन र भ्रमणमा आउनेका लागि कार्यक्रम सञ्चालन गर्न र सँगसँगै खाना खान मिल्ने ठाउँको आवश्यकता महशुस भएपछि रेस्टुराँ शुरु गरेका हौँ’, गुरुङले भनिन् । महिलाहरु एकताबद्ध भएर भइ सञ्चालन गरेको यो व्यवसाय आफैँमा उदाहरणीय भएका कारण विभिन्न क्षेत्रका महिला समूह र सहकारी संस्थाका सदस्यहरु अध्ययन तथा अवलोकनका लागि आउने गरेको उनको भनाइ छ । रोयल दिदीबहिनी किचनमा पोखरा रोयल सहकारीकै सदस्यहरु जोडिएका भएपनि छुट्टै कम्पनी हो । यो प्राइभेट लिमिटेडका रुपमा दर्ता छ । हरेक सदस्यले समान साढे दुई लाख रुपैयाँ बराबर लगानी गरेका छन् । रेष्टुराँमा एक सय जनालाई एकै साथ सेवा दिने क्षमता छ भने एक सय जनासम्म अटाउने बैङ्क्वेट तथा पार्टी भेन्यु पनि सञ्चालनमा छ । एउटा रेन्टुराँ चलाउनका लागि उनान्सय जनाको लगानी किन ? ‘यसको सांकेतिक अर्थ त छ नै । व्यवहारिक रुपमा पनि यस्तो हुन गयो । प्राइभेट कम्पनीमा ९९ जनाभन्दा बढी सदस्य बस्न नमिल्ने रहेछ । नत्र हामी अरु महिला दिदीबहिनीलाई पनि यसमा सहभागी गराउने सोचमा थियौँ’, सञ्चालक गुरुङले भनिन् । कोभिड–१९ महामारीभन्दा केही समयअघि मात्र शुरु भएको रेस्टुराँ लकडाउनका समयमा नराम्रोसँग थलियो । व्यवसाय पूर्णरुपमा बन्द भएपछि सञ्चालन खर्चसमेत धान्न नसक्ने अवस्था आएको थियो । तर दिदीबहिनी किचनले कर्मचारी कटौती गरेन । तीन वर्षदेखि सञ्चालनमा रहेको रेस्टुराँमा हाल २० जना कर्मचारी छन् । व्यवसाय शुरु गरेको पहिलो दुई वर्ष निकै समस्या भोगेको रेस्टुराँ आर्थिक वर्ष २०७८/७९ मा भने लगानीकर्तालाई पाँच प्रतिशत लाभांश दिन सफल भएको अध्यक्ष गुरुङको भनाइ छ । दिदी बहिनी किचेनले सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको छ । रेस्टुराँसँग जोडिएका दिदीबहिनीहरु सामाजिक काममा पनि खटिन्छन् । यसवर्ष हामीले न्यून आर्थिक अवस्था भएका केहीलाई न्यानो कपडा बाँड्यौं । कम्पनीमा आवद्ध महिलालाई अन्य सीपमुलक काममा पनि खटाउने गरेको उनको भनाइ छ । उनका अनुसार मासिक २० लाख रुपैयाँ आम्दानी सो रेष्टुराँबाट भइरहेको छ । सहकारीको अवधारणाबाट सञ्चालित रेष्टुराँ निजी क्षेत्रका लागि पनि अनुकरणीय छ । यहाँ सदस्यहरु आफै सेवामा खटिन्छन् । लगानीकर्ताका परिवारका सबै सदस्य प्रत्येक महिना कम्तीमा एकपटक यो रेस्टुराँमा खाना खान आइपुग्छन् ताकि यहाँको व्यवस्थापन मात्र होइन खानेकुराको स्वाद, गुणस्तर, सेवाप्रवाह जस्ता कुराको जानकारी लिन सकियोस । रेष्टुराँलाई विस्तार गर्ने योजना रहेकाे उनले सुनाइन् । करिब दुई रोपनीमा रेष्टुरेन्ट फैलिएको उनले बताइन् । अब राति बस्नका लागि पनि व्यवस्था गरिने उनको भनाइ छ । यस्तै, सो रेष्टुराँमा प्रत्येक सदस्यको परिवारले महिनामा एक पटक आएर खानु पर्ने नियम बनाएको बताइन् ।
नेपाल फाईनान्सको ३०औं साधारण सभा सम्पन्न
काठमाडौं । निजी क्षेत्रको लगानीबाटपहिलो फाइनान्स कम्पनीको रुपमा २०४९ सालमा स्थापना भएको नेपाल फाईनान्स लिमिटेडको ३०औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शेयरधनीहरुको उल्लेखनीय सहभागीतामा संचालकहरु हिरेन्द्रमान प्रधान, दिप्रश शाक्य, राजन प्रजापती, विकेश शाक्य, रोजीना श्रेष्ठ, लक्ष्मी महर्जन र स्वतन्त्र संचालक आनन्द कृष्ण ताम्राकार लगायत आधारभुत शेयरधनीहरुको उपस्थितीमा आज शनिबार सम्पन्न सम्पन्न भएको हो । साधारण सभामा सामान्य प्रस्तावहरु अन्तर्गत आ.व. २०७८/७९ को वार्षिक वित्तीय विवरणहरु पारित गर्नुको साथै आ.व. २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गर्ने निर्णय पारित गरेको छ । साधारण सभाले बिशेष प्रस्ताव अन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने÷गाभिने एवम् प्राप्ति गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ । संस्थाका संचालक समिति अध्यक्ष हिरेन्द्रमान प्रधानको सभापतित्वमा सम्पन्न भएको साधारण सभामा संचालक दिप्रश शाक्यले स्वागत मन्तव्य राखेका थिए । यसैगरी संस्थाका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाले हाल सम्मको प्रगती विवरणहरुको बारेमा प्रकाश पारेका थिए । सभाको संचालन कम्पनी सचिव बिष्णु प्रसाद गौतमले गरेका थिए । सभामा शेयरधनीहरुले विभिन्न जिज्ञासा, सुझाव एवम् शुभकामना र धन्यबाद दिँदै संस्थाले छोटो समयमा नै शाखा विस्तार, खराब कर्जा असूली र शाख सृजना गरी व्यवसाय विस्तार गर्न सफल भएकोमा संचालक एवम् व्यवस्थापनलाई धन्यवाद दिएका थिए । सभाले आगामी दिनहरुमा खराब कर्जा नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र ल्याउन र नपुग भएको चुक्तापुजीं पुर्याउने गरी कार्य गर्न एवम् आगामी साधारण सभामा शेयरधनीलाई थोरै भएपनिलाभांशवितरणगर्न सक्ने हुनको लागि संचालक तथा ब्यवस्थापनलाई सुझाव एवम् शुभकामना तथा शुभेच्छा समेत प्रदान गरेका थिए । सभामा शेयरधनीहरुले उठान गरेका जिज्ञासाहरुको समाधान संस्थाका अध्यक्ष एवम् सभाका सभापति हिरेन्द्रमान प्रधान एवम् संस्थाका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाले गरेका थिए ।