सुनचाँदी कारोबार सम्बन्धी निर्देशिका परिमार्जन गर्न सरकार तयार
काठमाडौं । सरकारले सुनचाँदी कारोबार सम्बन्धी निर्देशिका परिमार्जन गर्ने प्रतिवद्धता जनाएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले निर्देशिका परिमार्जन गर्ने बताएका हुन् । समितिको बैठक मंगलबार सिंहदरबारमा बसेको थियो । सुनचाँदी कारोबार सम्बन्धी निर्देशिकालाई समयसापेक्ष र ब्यवहारिक बनाउन त्यसलाई परिमार्जन गर्ने कार्य सुरू भैसकेको मरासिनीले बताए । अञ्चल संरचनामा रहेको निर्देशिकालाई प्रदेश संरचनामा लैजाँदै अन्य आवश्यक ब्यवस्थाहरुमा समेत परिमार्जन गर्न लागिएको मरासिनीले समितिको बैठकमा बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले आगामी आर्थिक बर्षको बजेटले सुनचाँदी ब्यवसायमा पारेको प्रभावका बारेमा समितिलाई जानकारी गराएका थिए । सुनको आयातमा लाग्ने भन्सारमा एकै पटक ५० प्रतिशत वृद्धि गरिएको, सुनको आयातलाई बर्षौं देखि कोटा प्रणालीमा सीमित गरी प्रतिष्पर्धी बजारलाई खुम्च्याइएको, सुनचाँदीलाई विलासिताको वस्तुको सूचिमा राखेर २ प्रतिशत विलासिता कर लाग्ने ब्यवस्था गरिएको जस्ता समस्या सुनाएका थिए । सरकाले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट वक्तव्यमार्फत सुनचाँदीको क्षेत्रमा लाग्दै आएको करमा ५० प्रतिशत वृद्धि गरेको थियो । महासंघ अध्यक्ष शाक्यले बजेटले सुनचाँदी सम्बन्धी गरेको नयाँ व्यवस्थाप्रति असन्तुष्टी जनाउँदै बजेट नियन्त्रणमुखी र विभेदकारी भएको टिप्पणी गरेका थिए । नेपालमा भन्दा अन्य देशमा सुन प्रतितोला१५ हजार भन्दा कम मूल्यमा पाइने अवस्था भएको उनले बताए । १५ प्रतिशतको भन्सार दर घटाएर १२ देखि १३ प्रतिशतसम्ममा ल्याउनुपर्ने र तयारी गहनाहरु विदेशबाट ल्याउन पाउने व्यवस्थाले नेपालका २५ हजारभन्दा बढी व्यवसायीहरुको व्यवसायमा कच्चा पदार्थको कमी हुने शाक्यको भनाई थियो । बैठकमा सचिव मरासिनीले सुन, चाँदी विलाशिताको बस्तु भएकाले सरकारले कर बढाएको प्रस्टोक्ति व्यवसायीहरुलाई दिएका थिए ।
नागरिक लगानी कोषको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नागरिक लगानी कोषको सेयर मूल्य समायोजन भएको छ । कोषको २५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता २०९०.४० रुपैयाँ कायम हुने गरी कोषको मूल्य समायोजन गरेको हो । सोमबार कोषको सेयर प्रतिकित्ता २६१३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कोषले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । यससँगै मंगलबार कोषको कारोबार समायोजित मूल्यका आधारमा हुनेछ ।
समता घरेलु लघुवित्तले एफपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो । ृउक्त सम्झौतापत्रमा समता घरेलु लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन् । संस्थाले तीन करोड ३२ लाख ८५ हजार ६०० रुपैयाँ बराबरको तीन लाख ३२ हजार ८५६ किता सेयर निष्काशन गर्न लागेको हो । मुक्तिनाथ क्यापिटल मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो । लघुवित्तको २०७९ चैत मसान्तसम्मको अधिकृत पुँजी ५० करोड रुपैयाँ, कुल जारी तथा चुक्ता पुँजी ४२ करोड ७४ लाख रुपैयाँ छ । त्यसैगरी कर्जा लगानी ३ अर्ब १० करोड छ । संस्थाले हाल ६१ वटा शाखाबाट कुल ६२ हजार ग्राहकहरुलाई सेवा दिई रहेको छ ।