पूँजीगत लाभकरको निर्धारण सिडिएससीबाटै गर्न माग, अन्यथा आन्दोलनमा उत्रने चेतावनी

काठमाडौँ । पूँजीगत लाभकरको निर्धारण सिडिएससी बाटै गर्न नेपाल इन्भेष्टर्भ फोरमले माग गरेको छ । फोरमका अध्यक्ष छोटेलाल रौनियारले विज्ञप्ती प्रकाशित गरी सिडिएससी र ब्रोकरले पूँजीगत लाभकरका विषयमा झण्झटिलो र अव्यवहारिक नियम ल्याएको उल्लेख गरेका छन् । तत्काल पूँजीगत लाभकरको निर्धारण सिडिएससीबाटै नगरे आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।

ग्लोबल आइएमई लघुवित्तको हकप्रद सेयर निष्काशन साउन २१ देखि

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद सेयर निष्काशन साउन २१ गतेदेखि हुने भएको छ । प्रति सेयर १ सय रुपैयाँ अंकित दरको ११ लाख ४ हजार ५ सय ७५ कित्ता हकप्रद सेयर निष्कशन गर्न लागिएको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेडले जनाएको छ । साउन २१ गतेदेखि भदौ २३ गतेसम्म हकप्रद भर्न सकिने लक्ष्मी क्यापिटलले जनाएको छ ।

नयाँ आर्थिक वर्षको दोश्रो दिन नै घट्यो नेप्से, ४१ करोडको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक उकालो लाग्नेक्रम आज थामिएको छ । बुधबार दोहोरो अङ्कले उकालो लागेर बन्द भएको बजारमा नेप्से परिसूचक २.३७ बिन्दुले घटेर एक हजार २७२.४९ विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२७ विन्दुले घटेर २७३.८४ विन्दुमा झरेको छ । नेप्से ओरालो लागे पनि कारोवार रकम भने औसतमा रहेको छ । कूल १५८ कम्पनीको १२ लाख ५० हजार ७०८ कित्ता शेयर रु ४१ करोड १३ लाख ६९ हजार २९९ मूल्यमा खरीद बिक्री भए । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर उकालो लागेको छ । त्यसमा वित्त ३.०३, उत्पादन ५.३९ र लघुवित्त ०.१८ विन्दुले बढेको छ । यस्तै बैंकिङ १.३५, होटल २५.८८, विकास बैंक ४.३६, जलविद्युत् ७.५८, अन्य ०.७४, जीवन बीमा २७.६७ र सामूहिक लगानी कोष ०.०१ अङ्कले घटेको छ । स्टकका अनुसार कारोवारका आधारमा छिमेक लघुवित्त विकास बैंक शीर्ष स्थानमा छ । सो बैंकले रु पाँच करोड १७ लाख ६८ हजार ५०० बराबरको कारोवार गर्यो । यस्तै शिवम् सिमेन्ट रु दुई करोड ६१ लाख ५५ हजार ३६२, नेपाल लाइफ इन्स्योरेन्स रु दुई करोड ४५ लाख ९७ हजार १२, नेपाल बैंक लिमिटेड रु दुई करोड २८ लाख नौ हजार ६१५, प्रभु बैंक रु एक करोड ७९ लाख ६६ हजार ३३९ र एनआइसिएशिया बैंकको रु एक करोड ३० लाख ५१ हजार ८८४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । यस्तै नेपाल हाइड्रो डेभलपर्सका शेयरधनीले ९.२४, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ४.९४, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था ४.८९, दिव्येश्वरी हाइड्रो ४.२३ र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.६३ प्रतिशतले कमाए । त्यस्तै मेरा माइक्रोफाइनान्स वित्तीय संस्था ६.८१, नविल इक्विटी फण्ड ५.५७, एशियन लाइफ इन्स्योरेन्स ३.२९, ज्योति विकास बैंक २.९४ र पाँचथर पावर कम्पनीका शेयरधनीले २.८७ प्रतिशतले गुमाए ।