गुराँस लघुवित्तको चौथो साधारणसभाबाट ८ प्रतिशत लाभांश पारित
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा चौथो वार्षिक साधारणसभा धनकुटामा सम्पन्न भएको छ । उक्त साधारण सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, चुक्तापूँजी ७ करोड ७५ लाखको ८.०१ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । साथै, सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ओमप्रकाश प्रसाई र डा. प्रियंका कटवाललाई निर्विरोध संचालकमा निर्वाचित गरेको छ । हाल वित्तीय संस्थाले प्रदेश नं. १ अन्तर्गतका १० जिल्ला कार्यक्षेत्र रहेकोमा ४ जिल्ला थप गरी प्रदेश नं. १ का सम्पूर्ण जिल्लाहरुमा कार्यक्रम विस्तार गर्ने गरी प्रदेश स्तरीय संस्था रहने निर्णय गरेको छ । संस्थाले हाल २६ वटा शाखा कार्यालय मार्फत १२ हजार भन्दा बढी विपन्न वर्गका परिवारलाई ७० करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरी ११ करोड रुपैयाँभन्दा बढी बचत परिचालन गरेको छ । बोनस शेयर वितरण पश्चातवित्तीय संस्थाको चुक्तापूँजी ८ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।
ग्लोबल आइएमई बैंकको एटिएम सेवा विराटनगर महानगरपालिका कार्यालय परिसरमा
काठमाडौं । ग्लोबल आइएमई बैंकले विराटनगर महानगरपालिका परिसरमा एटिएम सेवा सुरु गरेको छ । एटिएम विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उक्त एटिएम सेवाको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा विराटनगर महानगरपालिकाका उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी लगाएतको उपस्थिति रहेको थियो । बैंकले विराटनगर महानगरपालिकामा आएका ग्राहकहरुलाई लक्षित गरि उक्त एटिएम सेवा सञ्चालनमा ल्याएको हो । नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या १५१ पुगेको छ । बैंकले हाल १५३ वटा शाखा,३१ वटा एक्सचेन्ज तथा राजश्व संकलन काउण्टर, १५१वटा एटिएम, १९५ वटा शाखारहित बैंकिङ्ग सेवार विदेशस्थित ३ सम्पर्क/प्रतिनिधि कार्यालय मार्फत आफ्ना ११ लाखभन्दा बढि ग्राहक माझ सेवाप्रदान गर्दै आइरहेको छ ।
नेशनल माइक्रोफाइनान्सका सेयरधनीलाई ७५ प्रतिशत बोनस, लगत्तै ५० प्रतिशत हकप्रद सेयर
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई ७५ प्रतिशत बोनस सेयर दिने भएको छ । लगत्तै माइक्रोफाइनान्सले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । धादिङमा केन्द्रीय कार्यालय रहेको यस फाइक्रोफाइनान्सको चुक्ता पुँजी १५ करोड रुपैयाँ छ । बोनस सेयरपछि २६ करोड ४० लाख रुपैयाँ हुने छ । त्यस्तै हकप्रद सेयर निष्काशन गरेपछि चुक्ता पुँजी करिव ४० करोड रुपैयाँ हुनेछ । संस्थाको साधारणसभा मंसिर २९ गते धादिङबेसीमा हुँदैछ । मंसिर १५ गतेसम्म सेयर किन्नेले बोनस सेयर पाउने छन् भने १६ गतेदेखि बुक क्लोज हुनेछ । यस संस्थाको सेयर प्रतिकित्ता १७०० रुपैयाँभन्दा बढी मूल्यमा कारोबार भईरहेको छ ।