यूनाईटेड मोदी हाइड्रोको नगद लाभांश घोषणा, बुक क्लोज कहिले ?
काठमाडौं । यूनाईटेड मोदी हाइड्रोपावरले गत आर्थिक वर्षको नगद लाभांश घोषणा गरेको छ । हाइड्रोले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ५.२६३ प्रतिशत नगद लाभांश(कर सहित) वितरण गर्ने घोषणा गरेको हो । मंसिर २५ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले उक्त नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । कम्पनीको आगामी वार्षिक साधारणसभा आगामी पुस २२ गते बस्दै छ । उक्त सभा सो दिन बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंको कमलादीमा रहेको हेरिटेज प्लाजाको सभाकक्षबाट भर्च्युअल माध्यमबाट सभा सञ्चालन हुनेछ । सभामा जाने प्रयोजन तथा लाभांश प्रयोजनको लागि पुस ५ गतेदेखि ९ गतेसम्म कम्पनीको बुक क्लोज हुने छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८.४२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
बोनसपछि अरुण भ्याली हाइड्रोको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । शुक्रबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३४ रूपैयाँ कायम भएको छ । नेप्सेले कम्पनीको गत बिहीबार (मंसिर २५ गते) को अन्तिम कारोबार मूल्य प्रतिकित्ता २४६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
लघुवित्त बैङ्कर्स संघद्वारा तीन दिने कार्यशाला गोष्ठी सम्पन्न, ३४ वटा संस्थाको सहभागिता
काठमाडाैं । नेपाल लघुवित्त बैङ्कर्स संघले तीन दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । संघले गत मंसिर १९ देखि २१ गतेसम्म ‘कोभिड-१९ महामारी र संघको भूमिका’ विषयक प्रमुख कार्यकारी अधिकृत स्तरीय कार्यशाला गोष्ठी ल्याण्डमार्क फरेस्ट पार्क, सौराहा, चितवनमा सम्पन्न गरेको हाे । संघका अध्यक्ष बसन्त राज लम्सालको अध्यक्षतामा भएको उक्त गोष्ठीमा काठमाडौं विश्वविद्यालयका सह-प्राध्यापक तथा बरिष्ठ अर्थशास्त्री डा. विश्व पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए भने सघंको कार्यक्रम तथा उपलब्धी, लघुवित्त संस्थाहरुका लागि आचार संहिता, कर्जा सूचना सम्बन्धि कार्य प्रगति एवं चुनौती तथा नेपाल फिनसफट कम्पनी द्वारा विकसित बैंङ्किग सफ्टवेरबारे प्रस्तुती तथा छलफल भएको थियो । डा. विश्व पौडेलले संघका नीतिगत वकालत, क्षमता अभिवृद्धि र ज्ञान व्यवस्थापनका कार्यहरुको महत्व तथा चुनौतीको चर्चा गर्दै संघले अनुसन्धानका लागि कसरी आफ्नो स्रोत सुदृढ गर्ने र राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति उच्च राख्ने भन्ने विषयमा आफ्नो विचार राखे । उनले लघुवित्त संस्थाहरुको कार्य संचालनमा एकरुपता ल्याउन, संस्थागत क्षमता अभिवृद्धि गर्न, खराब कर्जा असुली तथा गाभ्ने/गाभिने व्यवस्था जस्ता जटील विषयहरुमा सहजिकरण गर्न र बजार विकास गर्न संघले खेल्न सक्ने भूिमका बारे पनि आफ्ना सुझावहरु राखे । कार्यपत्रमाथि टिप्पणी गर्दै डा. गाेपाल दलित (युनिक नेपाल लघुवित्त), प्रकाश राज शर्मा (लक्ष्मी लघुवित्त), डा. सुमित्रा मानन्धर गुरुङ्ग (महिला सहयात्रा लघुवित्त) र नुम नाथ पौडेल (फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त) बाट सघंले हालका दिनमा खेलेको र आगामी दिनमा खेल्नु पर्ने भूमिका बारे आफ्ना धारणा प्रस्तुत गरे । कोभिड-१९ महामारीका कारण लामो समय आ-आफ्नै चाघैरा भित्र आवागमन सिमित राखी कार्यशील रहेका लघुवित्तकर्मीहरुलाई सामाजिक दूरी कायम गर्दै भौतिक उपस्थितिमा गोलवद्ध भई संघको भूमिका बारे गहन अन्तर्क्रियाका लागि दिईएको यस अवसरवाट सहभागी सबैले पुनःर्ताजगीको महसुस गरेका छन् । नेपाल लघुवित्त बैङ्कर्स संघ छाता संगठनका रुपमा २०६३ सालदेखि लघुवित्त क्षेत्रको हकहीतका लागि सक्रिय रहँदै आएको छ र ७८ वटा मध्ये ५५ वटा लघुवित्त वित्तीय संस्थाहरु यसका सदस्य छन् । कार्यशाला गोष्ठीमा कूल ३४ वटा लघुवित्त संस्थाहरुको सहभागिता रहेकाे थियाे ।