बन्द खानी फेरि खुल्ने सम्भावना : बागलुङमा तामाखानी अध्ययन सुरु
ढोरपाटन । बागलुङको तमानखोला गाउँपालिका–६ नर्जाखानीमा तामाखानी उत्खननका लागि खोजतलास सुरु भएको छ । खानी तथा भूगर्भ विभागले अनुमति दिएपछि खोजतलास सुरु भएको हो । तमानखोलाको दर्जनौँ स्थानमा तामाखानी छन् । त्यहाँ रहेको तामाखानीहरु विसं १९८१ सम्म सञ्चालनमा थिए । सरकारले खानीलाई करको दायरामा ल्याएपछि बन्द भएका थिए । खानी तथा भूगर्भ विभागले अध्ययन तथा अनुसन्धानका लागि २०८४ असोज १४ गतेसम्मका लागि अनुमति दिएपछि खानीको खोजताल सुरु भएको हो । हाल विकप्लस मिनिलर प्रालीले नर्जाखानीका विभिन्न ठाउँमा खानीको खोजतलास गरिरहेको छ । उक्त क्षेत्रमा सतहमा तामा सामान्य रुपमा देखिएको विकप्लस मिनिलर प्रालीका भूर्गवशास्त्री बलराम कार्कीले जानकारी दिए । उनका अनुसार यस क्षेत्रमा तीन चरणका अनुसन्धान हुनेछ । त्यसबाट राम्रो नतिजा आयो भने उत्खनन गर्न सकिनेछ । अबको एक वर्षभित्रमा तीनै चरणको अध्ययन सकिने गरी काम भइरहेको कार्कीले बताए । अहिले नर्जाखानी क्षेत्रमा प्राविधिक खटिएर धमाधम अध्ययन गरिरहेको छ । 'अनुसन्धानका धेरै चरणहरु हुन्छन्, हामीहरु अहिले पहिलो चरणको अनुसन्धानमा छौँ, जुसलाई ‘जियोफिजिक सर्भे’ भन्छौँ, यसबाट राम्रो नतिजा आयो भने दोस्रो चरणको टेस्ट ड्रिलिङ गर्छौं र त्यसपछि फाइनल ड्रिलिङ गरी राम्रो नजिता आए, उत्खनन गर्छौं', भूर्गवशास्त्री कार्कीले भने, 'यसको उत्खनन गर्न रु २० देखि २२ अर्ब लाग्छ, यति रुकम लगानी गरेर खानी सञ्चालन गर्न सक्छौँ कि सक्दैनौँ भनेर खोजतलास गरिरहेका हौँ ।' तमानखोलाको नर्जाखानी, भित्रीवन र पात्लेगाउँको धेरै स्थानमा तामाखानीका सुरुङ र अवशेष प्रशस्तै छन् । बन्द भएका खानी उत्खननका लागि अध्ययन हुँदा स्थानीय खुसी भएका छन् । तमानखोला गाउँपालिका–६ का अध्यक्ष चित्र छन्त्यालले बाउबाजेले खानेको खानी उत्खनन गर्नसके गाउँलेको जीवनस्तर उकासिने बताउँछन् । उनले भने, 'यहाँका खानीहरुसँग हाम्रो पहिचान जोडिएको छ, हाम्रो समुदायका मानिसको इतिहास जोडिएको छ, अहिले पनि हाम्रो गाउँमा सयौँ ठाउँमा पहिले तामा निकालेको डोबहरु छन्, ती खानीहरुबाट तामा निकाल्न पाए, यस क्षेत्रका नागरिकको जीवनस्तर परिवर्तन हुने थियो, आर्थिक रुपमा मजबुत हुने थिए भने युवाले गाउँमै रोजगार पाउने थिए ।' तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले लामो समयको प्रयासपछि तामाखानीको अध्ययन गर्न थालिएको बताए । तामानखानीको अध्ययन अहिलेसम्म सकारात्मक देखिएको अध्यक्ष बुढामगरले बताए । रासस
मीनबहादुर र उमेशसहित आधा दर्जन व्यवसायी र बैंकर मिलेर कोल्डस्टोर निर्माण, २ अर्ब लगानी
काठमाडौं । आधा दर्जन व्यवसायीहरूको सामूहिक प्रयासमा चितवनको टाँडीमा कोल्डस्टोर निर्माण हुने भएको छ । देशकै सबैभन्दा ठूलो सुपरमार्केट स्टोर भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङको नेतृत्वमा कोल्डस्टोर निर्माण हुने भएको हो । कोल्डस्टोर निर्माणका काम सुरु भइसकेको सञ्चालक गुरुङले जानकारी दिए । उनका अनुसार ७२ हजार स्क्वायरफिट क्षेत्रफलमा कोल्डस्टोरको निर्माण भइरहेको छ । कोल्डस्टोर १० हजार म्याट्रिक टन क्षमताको हुने उनको भनाइ छ । उनका अनुसार कोल्डस्टोर निर्माण गर्न अनुमानित २ अर्ब रुपैयाँ लगानी लाग्नेछ । एक वर्षमै सेवा दिने योजना बनाइएको यो परियोजनाले कृषि उत्पादनमा 'गेम चेन्जर' हुने अपेक्षा उनको छ । कृषिमा सम्भावना र व्यावसायिकताले चुलिँदै गएको चितवन अब आधुनिक संरचनामा पनि अघि बढ्ने उनको धारणा छ । गुरुङका अनुसार किसानले आफ्नो उत्पादन २४ घण्टाभित्र स्टोरमा ल्याउन सके ६ महिनासम्म पनि जस्ताको त्यस्तै ताजा राख्न सकिनेछ । 'फलफूल, तरकारी, आलु, गाजरजस्ता वस्तुहरूलाई ६ महिनापछि पनि बिनासङ्कोच प्रयोग गर्न मिल्नेछ,’ गुरुङले भने । निर्माणमा खटिएका इन्जिनियर सुवर्ण ढुंगेलका अनुसार दुई बिगाहा जग्गामा बनिरहेको यो मल्टिटेम्प्रेचर कोल्डस्टोर सिभिल संरचनाको काम ४ महिनामै सकिनेछ भने प्री-इन्जिनियरिङका लागि ८ महिना लाग्नेछ । सबै काम समयमै सम्पन्न भएमा एक वर्षभित्रै कोल्डस्टोर सञ्चालनमा आउने उनले जानकारी दिए । उनका अनुसार यस्तो आधुनिक प्रविधिको कोल्डस्टोर छिमेकी देशहरूमा समेत दुर्लभ छ । यो कोल्डस्टोर चितवनका किसानका कोशेढुंगा सावित हुने उनको दाबी छ । इन्जिनियर ढुंगेलका अनुसार अहिले १२५ जना नेपाली कामदार निर्माण कार्यमा खटिएका छन् । भाटभटेनीको मुख्य नेतृत्वमा निर्माण भइरहेको यो परियोजनामा व्यवसायी उमेश श्रेष्ठ, किरण श्रेष्ठ, राजेश श्रेष्ठ, आशीष शर्मा र रामकृष्ण खतिवडाको पनि लगानी रहेको छ । उमेश श्रेष्ठ शिक्षा क्षेत्रमा परिचित व्यवसायी हुन् भने नेपाली कांग्रेसका कोषाध्यक्ष पनि हुन् । उनी पछिल्लो समय कृषिमा प्राथमिकता दिएर लगानी गरिरहेका छन् । यस्तै, किरण श्रेष्ठ पूर्वबैंकर हुन् । उनी राष्ट्रिय वाणिज्य बैंकका पूर्वसीईओ हुन् । यस्तै, खतिवडा नेपाल पूवार्धार बैंकका पूर्वसीईओ हुन् भने राजेश श्रेष्ठ पनि व्यवसायी नै हुन् । यसैगरी, आशीष शर्मा हिमालयन बैंकका सञ्चालक हुन् । कोल्डस्टोरमा एकपटकमा ५ सय ट्रक बराबरको सामान स्टोर गर्न सकिनेछ । भाटभटेनीकाे दाबीअनुसार यो कोल्डस्टोर देशको हालसम्मकै ठूलो हुनेछ, जुन इटहरीको कोल्डस्टोरभन्दा पनि उन्नत प्रविधिमा आधारित हुनेछ ।
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ समापन हुँदै, १२० बढी स्टल सहभागिता
काठमाडौं । काठमाडौंको भुकृटीमण्डपमा चलिरहेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ मा आज समापन हुँदैछ । महासंघले वार्षिक क्यालेन्डर कार्यक्रमका रुपमा आयोजना गरिएको मेलामा निशुल्क प्रवेशको व्यवस्था छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयर व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा सुरु भएको मेलाको वैशाख २५ गतेबाट मेला सुरु भएको थियो । मेलामा नेपाल, चीन र बंगलादेशका गरि १२० बढि स्टल सहभागि रहेका छन् । मेलाका अवसरमा विभिन्न देशका व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट र छलफलले द्विपक्षीय व्यापार र लगानीका अवसरहरूका बारेमा पनि छलफल भएको थियो । मेलामा उल्लेख्य दर्शकहरुको सहभागित रहेको र मेलाले नेपाली उद्योगी व्यवसायीहरुलाई उत्पादनको प्रवद्र्धन तथा बजारिकरणमा मेला सहयोगी देखिएको प्रतिक्रिया महासंघको मेला समितिका सभापति उमेश डालमियाले जानकारी दिए ।