दश विमानस्थलको सरसफाइ सम्परीक्षण गरिँदै
काठमाडाैं । नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा सरकारले मुलुकका प्रमुख १० विमानस्थलको सरसफाइको सम्परीक्षण (अडिट) गर्ने भएको छ । विदेशी पर्यटकको पहिलो नजर पर्ने र देशको अवस्थालाई झल्को दिने देशको ऐनाका रुपमा रहेको विमानस्थलको सरसफाइलाई प्रभावकारी बनाउन सरोकारवाला संस्थासँगको सहकार्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको मौजुदा सरसफाइको अडिट गर्न लागेको हो । उक्त प्रयोजनका निम्ति पर्यटनमन्त्रीको उपस्थितिमा गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिसँग छलफलपछिको निर्देशनबमोजिम यही माघ ८ गते विमानस्थलको सफाइ अडिट गर्ने सम्झौता भएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । सम्झौताअनुरुप पर्यटन मन्त्रालय र गैरआवासीय नेपाली सङ्घबीच स्वयंसेवीका रुपमा १० विमानस्थलको स्थलगत भ्रमण गरी ती स्थानमा हालको सरसफाइको अवस्थाको अडिट गरी र तोकिएको समयभित्र मन्त्रालयसमक्ष प्रतिवेदन पेश गर्नुपर्नेछ । आगामी फागुन २० देखि चैत १९ सम्म (एक महिनाभित्र) मन्त्रालयलाई सरसफाइ अडिट प्रतिवेदन बुझाउने सम्झौतामा उल्लेख छ । विमानस्थलमा विद्यमान सरसफाइको मौजुदा अवस्थाको जानकारी लिने र प्राप्त सुझावका आधारमा भावी दिनमा विमानस्थललगायत अन्य सांस्कृतिक तथा पर्यटकीयस्थलमा समेत सरसफाइलाई थप प्रभावकारी बनाइने जनाइएको छ । मुलुकका व्यस्त ठूला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिक र अन्तर्राष्ट्रिय)सहित विराटनगर विमानस्थल, चन्द्रगढी विमानस्थल, जनकपुर विमानस्थल, सिमरा विमानस्थल, भरतपुर विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा), पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगञ्ज विमानस्थल र धनगढी विमानस्थलको सरसफाइ अडिट गरिने विज्ञप्तिमा उल्लेख छ । रासस
नाकामा भित्रिएका पर्यटक तानातान गर्नेलाई कानूनी कारवाही गरिने
भद्रपुर । पूर्वीनाका काँकडभिट्टामा भित्रिएका पर्यटकलाई आफ्ना होटल, बस र आँखा अस्पतालमा लैजाने बहानामा तानातान गर्नेलाई कारवाही गरिने भएको छ । काँकडभिट्टाबाट काठमाडौँ, लुम्बिनी, पोखरालगायतका स्थानमा जाने रात्रि तथा दिवाकालीन बस सेवा सञ्चालित छन् । ती बस सेवाका लागि यात्रु र उनीहरुका झोला बसपार्कमा तानातान गरिँदै आइएको छ । स्थानीय आँखा अस्पताल र होटल लजका लागि ग्राहक बनाउनसमेत नाकामा पर्यटकलाई जबर्जस्ती गर्ने गलत प्रवृत्ति छ । अब कसैले पर्यटकलाई तानेर हैरानी दिएको फेला परेमा कानूनबमोजिम कारवाही गर्न सर्वपक्षीय सहमति जुटाइएको मेचीनगर नगरपालिका–६ का अध्यक्ष ललित तामाङले जानकारी दिएका छन् । उनका अनुसार होटल व्यवसायी, यातायात व्यवसायी, प्रहरी प्रशासन, स्थानीय सामाजिक सङ्घसंस्थालगायतका प्रतिनिधिको छलफलले त्यस्तो तानातान प्रवृत्तिको अन्त्य गर्ने र कसैले अटेर गरेमा प्रहरीमार्फत कानूनी कारवाही चलाइने निर्णय गरेको हो । भूटान, बङ्गलादेश र म्यान्माका पर्यटक सोझै काँकडभिट्टा आएर पर्यटकीय गन्तव्य लुम्बिनी, पोखरा र सोलुखुम्बुसम्म पुग्ने गर्छन् । कोलकाता, सिक्किम, दार्जिलिङ र भूटानका पर्यटकले बसयात्रा गर्नका लागि काँकरभिट्टा बसपार्क एकमात्र विकल्प हो । नेपाल भ्रमण वर्ष २०२० चलिरहेको हुँदा पर्यटकलाई स्वागत गरिने नाकामै तानातान गर्ने असभ्य शैलीलाई हटाउने सर्वपक्षीय निर्णयलाई ग्रीन जेनेरेसन झापाका अध्यक्ष एवं पर्यटन अभियानकर्मी अर्जुन कार्की सकारात्मक कदम भन्छन् । “पर्यटकलाई स्वागत र सम्मान गर्नुपर्दछ, तर बसपार्क र नाकामै तानातान हुनु लज्जास्पद अवस्था थियो”, अध्यक्ष कार्कीको धारणा छ । काँकडभिट्टा बसपार्क र मूलगेटमा रहेको तानातान प्रवृत्ति हटाउन विगतदेखि प्रयास भइरहेको थियो । बसपार्कमा कमिशन एजेन्टले र मूलगेटमा केही आँखा अस्पतालले खटाएका प्रतिनिधिले भारतबाट भित्रिएका पाहुनालाई आफ्नातिर लैजान प्रहरीको आँखा छलेर जबर्जस्ती गर्दै आएका थिए । होटल र लजले समेत एजेन्ट खटाएर बसपार्क र मूलगेटमा पर्यटक तान्ने कार्य गर्दै आएका थिए । मान्छे तानातानको धन्दाले नेपाल घुम्न आउने पर्यटक, उपचारका लागि आउने बिरामी र भारत घुमेर फर्कने नेपालीलाई निकै सकस हुने गरेको थियो । जनगुनासो बढेपछि स्थानीय सरकार र प्रहरीले तानातान प्रवृत्ति हटाउन बल्ल अग्रसरता देखाएको छ । काँकडभिट्टा पर्यटक प्रवेश गर्ने महत्वपूर्ण नाका भएको हुँदा यहाँ आउने हरेक विदेशी पाहुनालाई मैत्रीपूर्ण व्यवहार गर्न वडाध्यक्ष तामाङले सबै व्यवसायीलाई आह्वान गरेका छन् । काँकडभिट्टा नाकाबाट २८ मुलुकका पर्यटक नेपाल भित्रिने गरेका छन् । सर्वपक्षीय निर्णयको कार्यान्वयनपछि उनीहरुले चाहेको होटलमा बस्न पाउने, गाडीमा चढ्ने सक्ने र उपचारका लागि छानेर आँखा अस्पताल जान पाउने वातावरण बन्ने अपेक्षा गरिएको छ । मेची उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष बीना तामाङ विगतमा पनि तानातान हटाउने निर्णय भएको स्मरण गर्दै अब कार्यान्वयन पक्षमा कमजोरी गर्न नहुने धारणा राख्छन् । उनले नाकामा रहेका सबै नागरिकले पर्यटनमैत्री व्यवहार सिक्नुपर्ने र पर्यटकको स्वतन्त्रतामाथि अवरोध पुर्याउन नहुने बताए । बसपार्क क्षेत्रमा अव्यवस्थित पार्किङ, फोहरमैला र पर्यटक तानातान नगर्न पहिलो चरणमा माइकिङमार्फत सूचना गर्ने र यात्रुहरुलाई अशिष्ट र अभद्र व्यवहार गरेको पाइएमा कानूनअनुसार कारवाही गरिने इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए । उनले दोषीमाथि अभद्र व्यवहारसम्बन्धी कानुन आकर्षित हुने बताएका छन् ।रासस
यस कारण दिए नेपाल एयरलाइन्सका पाइलटले सामूहिक राजिनामा पत्र
काठमाडाैं । नेपाल एयरलाइन्सका २ दर्जन पाइलटले एकसाथ सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । २० जना पाइलटले एक पत्रमा सामूहिक हस्ताक्षर गर्दै बिहिबार राजिनामा दिने चेतावनी दिएका हुन् । सेवा–सुविधा कम भएको, विदेशी र स्वदेशी पाइलटलाई विभेद भएको भन्दै ए ३२० र ए ३३० जहाज जहाज उडाउने २ दर्जन पाइलटले बिहीबार साँझ व्यवस्थापनसमक्ष लिखित पत्र बुझाएका छन् । निगमका पाइलट लामो समयदेखि सेवा–सुविधाको विषयलाई लिएर रुष्ट थिए । उनीहरूले ३ महिनामा माग पूरा नभए राजीनामा दिने पत्रमा उल्लेख गरेका छन । व्यवस्थापनबाट राजीनामा स्वीकृत भएमा निगमका अन्तर्राष्ट्रिय उडान प्रभावित हुनेछन् ।