बुद्ध एयरले शुरू गर्याे काठमाडौ-राजविराज दैनिक उडान
सप्तरी । पर्यटन वर्ष २०२० लाई लक्षित गरी बुद्ध एयरले काठमाडौदेखि सप्तरीस्थित ‘राजविराज विमानस्थल’ मा दैनिक उडान सेवा भर्न शुरुआत गरेको छ । एयरलायन्सको ९ एनएजेओ नंको विमानले शनिबारबाट दैनिक उडान सेवा शुरु गरेको हो । यात्रुको बढ्दो चाप तथा पर्यटनलाई लक्षित गरी एयरलायन्सले दैनिक उडान सेवा थालेको जनाएको छ । हाललाई रु दुई हजार ५०० न्यूनतम भाडादर कायम गरिएको छ । पहिलो उडान लिएर राजविराज ओर्लेको विमानस्थलका चालक दल सहित यात्रुलाई शनिबार सप्तरी उद्योग वाणिज्य सङ्घ र राजविराज नगरपालिकाले स्वागत गरेका थिए । पर्यटकको आवागमनसँगै स्थानीयस्तरमा रोजगारी सिर्जना हुने र आर्थिक वृद्धि हुने सङ्घका अध्यक्ष अरुण प्रधानले बताए । सो अवसरमा राजविराज धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण शहर भएकाले यहाँ उडान थप हुँदा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने नगरप्रमुख शम्भुप्रसाद यादवले जानकारी दिए । राजविराज विमानस्थलमा सो एयरलायन्सले दैनिक उडान सेवा शुरु गरेसँगै यात्रुलाई राहत मिल्ने विश्वास गरिएको छ । राजविराज उडानले सप्तरी, उदयपुर, सिरहा तथा सुनसरीका यात्रुलाई थप हवाई सुविधा पुग्ने कम्पनीका प्रवक्ता रुपेश जोशी जानकारी दिए । उडान सेवा काठमाडौँबाट राजविराजका लागि ११ बजेर २५ मिनेटमा तथा राजविराजबाट काठमाडौँका लागि १२ बजेर २० मिनेटमा प्रस्थान गर्ने समयतालिका निर्धारण गरिएको स्टेशन इञ्चार्ज अनिल राजवंशीले बताए । कम्पनीका अनुसार काठमाडौँबाट राजविराजको उडान अवधि करीब ३५ मिनेटको हुनेछ । राजविराज विमानस्थल तत्कालीन यातायातमन्त्री गणेशमान सिंहले विसं २०१६ मा शिलान्यास गरेका थिए । सप्तरीको विष्णुपुर गाउँपालिकास्थित विमानस्थलमा एक हजार ५०० मिटर लामो तथा ३० मिटर चौडाइको पक्की धावनमार्ग निर्माणकार्य सम्पन्न भएसँगै विसं २०७५ जेठ १० गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका थिए । ६० मिटर चौडाइ तथा ९० मिटर लामो एप्रोन रहेको राजविराज विमानस्थलमा ११० मिटर लामो तथा २० मिटर चौडा ट्याक्सी वे रहेको छ । यहाँबाट छिन्नमस्ता, वराहक्षेत्र, कोशीटप्पु, सलहेश बहवरका साथै अन्य थुप्रै पर्यटकीय गन्तव्यसम्म सजिलै पुग्न सकिने जनाइएको छ । राजविराज उडानले सीमापारिका सहरसा, सुपौल, निर्मली, वीरपुर, राघोपुर, पिपरा, मधेपुरा, प्रतापगञ्ज, झन्झारपुर, सकरी, घोघडिया, लौकहालाई सजिलैसँग जोड्न सकिने र यसबाट दुवै देशका पर्यटकलाई फाइदा पुग्ने जनाइएको छ । यसअघि राजविराज विमानस्थलमा श्री एयरलाइन्सले साताको तीन दिन उडान सेवा दिँदै आएकामा छ । प्रारम्भिक चरणमा बुद्धको ४७ सिट क्षमता भएको विमानले उडान भर्ने जानकारी दिइएको छ । रासस
अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्गोज ट्रेल’ संचालन, डेढ करोड लागतमा निर्माण
काठमाडौं । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जोड्ने ‘मौरिस हर्गोज ट्रेल’ सञ्चालन गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा गाउपालिकाले पदमार्ग सञ्चालन गरेको हो । ८ हजार मिटरभन्दा अग्ला हिमालको पहिलोपटक आरोहण गरेका फ्रान्सका मौरिस हर्गोजका नाममा तयार भएको यो पदमार्ग नयाँ हो । हिमाल आरोहण भएको ७० वर्षपछि अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पदमार्गले जोडेर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए। “आधार शिविरलाई आधारभूत स्तरको पदमार्गले जोड्नुका साथै पूर्वाधार निर्माणलाई तीव्रता दिएका छौं” उनले भने, “नारच्याङदेखि नीलगिरिखोलाको किनारै–किनारै आधार शिविर जोड्ने पदमार्गमा पर्यटक र पूर्वाधारका लागि लगानी भित्र्याउन पहल थालेका छौं ।” पदमार्ग तयार भएको, अन्नपूर्ण आधार शिविर म्याग्दीमा पर्ने सन्देश प्रवाह गराउन पदमार्गको प्रवेशविन्दु नारच्याङमा बिहीबारदेखि प्रथम अन्नपूर्ण पर्यटन महोत्सव शुरु भएको छ । महोत्सव उद्घाटनका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘मौरिस हर्गोज ट्रेल’ घोषणा गर्नुका साथै पदमार्गको नक्सा सार्वजनिक गरे । हार्जोगले १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्दै आठ हजारभन्दा अग्ला हिमालमा पहिलो पाइला टेक्ने दुर्लभ रेकर्ड बनाएका थिए । अन्नपूर्ण प्रथम आरोहण भएको तीन वर्षपछि सगरमाथामा मानव पाइला परेकाले यसलाई जेठो हिमाल पनि भनिन्छ । यो पदमार्ग मौरिसकालीनजस्तै कठिन र ‘वाइल्ड’ रहेको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए । ८ वर्षअघि गुरुङको अगुवाइमा पदमार्ग पहिचान भएको थियो । पछिल्लो पाँच वर्षयता पर्यटन विभाग, प्रदेश सरकार, गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को डेढ करोड लगानीमा पदमार्ग, झोलुङ्गेपुल, फड्के पुल, सिँढी निर्माण भएको छ । पदयात्रामा आउने पर्यटकका लागि सेल्टर निर्माण भएको छ । होटल तथा लज नभएकाले क्याम्पिङ पदयात्रा गर्नुपर्ने हुन्छ । नारच्याङदेखि छोटेपा, हुमखोला, भुसकेत हुँदै तीन दिनमा आधार शिविर पुग्न सकिन्छ । हिमाल आरोहण मात्र नभएर झरना, ताल, हिमाल, वन्यजन्तु, वनस्पति पदमार्गका आकर्षण भएका धवलागिरि पर्यटन विकास परिषद्का अध्यक्ष अमर बानियाँले बताए । फराकिलो फाँट भएकाले दुर्घटनाको जोखिम कम भएको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिने सबैभन्दा छोटो, रमणीय र सुरक्षित यो पदमार्ग आठ वर्षअघि पहिचान गरिएको थियो । यसअघि मुस्ताङको कुञ्जो हँुदै भिर र जङ्गलमा एक साता हिँडेर, हेलिकोप्टरमार्फत अन्नपूर्ण आधार शिविर पुग्नुपर्ने बाध्यता थियो । रासस
सेञ्चुरी बैंकका ग्राहकलाई भैरहवाको होटल निर्वाणामा १० प्रतिशत छुट
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले भैरहवाको रुपन्देहीस्थित होटल निर्वाणा लक्जरी ईन्टरनेशनल प्रा.लिले दिने विभिन्न सेवा सुविधामा १० प्रतिशत छुट पाउने भएका छन् । दुई कम्पनीबीच उक्त छुट दिने सम्बन्धि बिहीबार सम्झौता भएसँगै ग्राहकले उक्त सुविधा पाउने भएका हुन् । ‘नेपाल भ्रमण वर्ष २०२०’लाई भव्यताका साथ सफल पार्न बैंकले आफ्ना खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक सेयरधनीहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकको खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक सेयरधनीहरुले होटलको रुम बुकिङ्ग, फुड एण्ड बेभेरेज, स्पा, स्विमिङ्ग पुललगायल सम्पुर्ण सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् । उक्त सम्झौतापत्रमा बैंकका भैरहवा शाखा प्रबन्धक बिशाल गुप्ता र होटल र्निवाणा लक्जरीका महाप्रबन्धक सुनील श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।