मर्दी हिमाल जान नयाँ पदमार्ग
पोखरा । कास्कीको प्रसिद्ध पर्यटकीय गन्तव्य मर्दी हिमाल पुग्न नयाँ पदमार्ग बनाउन थालिएको छ । गण्डकी प्रदेश सरकारको १० लाख र जनसहभागिताबाट एक लाख गरी ११ लाखमा उक्त बाटो निर्माण शुरु गरिएको हो । बाटो निर्माण समितिका अध्यक्ष विश्वराज अधिकारीका अनुसार पदमार्ग निर्माणअन्तर्गत मेलबोटदेखि अस्तामसम्म बाटोको झाँडी फाँड्ने, कूल २३० मिटर बाटोमा सिँढी हाल्ने र ५० मिटर रेलिङ निर्माण गरिनेछ । मेलबोटदेखि अस्तामसम्म करिब पाँच किलोमिटर बाटोको निर्माण हुनेछ । मङ्सिरको पहिलो हप्ताबाट शुरु गरिएको उक्त बाटो निर्माणका लागि दैनिक २० देखि २५ मजदूर खटिएका छन् । पछिल्लो समय पर्यटकीय पदमार्ग मोटरेबल बाटोले विस्थापित हुँदै गइरहेको अवस्थामा नयाँ बन्दै गरेको पदमार्गले पदयात्रामा रमाउने पर्यटक लाभान्वित हुने उनको विश्वास छ । “ लालीगुराँसको जङ्गल, रुद्रमहादेव, पञ्चेबाजा पार्क, सुनझाँक्रीको थान, अस्ताम देउराली माइको मन्दिरलगायत धार्मिक तथा पर्यटकीय र जैविक विविधतासहित पर्यावरणका हिसाबले पनि यो क्षेत्र उपयुक्त रहेकाले पदमार्गबाट पर्यटक लाभान्वित हुनेछन्”, अधिकारीले भने । उनका अनुसार यस क्षेत्रमा पोखराबाट करिब दुई किलोमिटरको दूरीमा सुन्दर लालीगुराँस देख्न सकिन्छ । यो पाँच दिनदेखि सात दिनसम्मको पदमार्ग हो । मर्दी हिमाल र माछापुच्छे« नमूना ट्रेकलाई जोड्नका साथै संसारको सबैभन्दा उच्च स्थानमा साइकल लान सक्ने वातावरणका लागि यस पदमार्गले सहयोग पुग्ने उनको भनाइ छ । अधिकारीले प्रदेश सरकारको १० लाख बजेटबाट काम शुरु गरिएको र यसका लागि सङ्घीय सरकारले समेत बजेट छुट्टाएको जानकारी दिनुभयो । “अहिले सीमित बजेटमा जनसहभागितामार्फत बाटो निर्माणमा जुटेका छाैँ, सङ्घीय सरकारको बजेट आएपछि यसमार्गले पूर्णता पाउनेछ ।” ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष सुशीलराज पौडेलले उक्त पदमार्गलाई टान मोडल टे«कसँग जोड्न संस्थागत अभ्यास गरिसकेको बताए । यस पदमार्गले ‘भिलेज टु भिलेज कनेक्टिभिटि’ हुने र छोटो दूरीका हाइकिङ र लामो दूरीको ट्रेकिङ दुवैको लागि उत्तिकै सहज हुने उनको भनाइ छ । उक्त पदमार्ग हेम्जाको मेलबोट सुनझाँक्री, अस्तामदेखि धम्पुस हुँदै मर्दी हिमाल पुग्नेछ । कोभिड–१९ को महामारीबीच पनि आन्तरिक पर्यटकको लर्को लाग्ने गरेको मर्दी हिमालमा नयाँ पदमार्ग निर्माणले आगामी दिनमा पर्यटकको बसाई लम्बाउने र यस क्षेत्रका पर्यटकीय गतिविधिलाई बढाउने विश्वास माछापुछ्रे गाउँपालिका–६ का वडाध्यक्ष हरिश्चन्द्र ढुङ्गानाले बताए । रासस
कहिले खुल्ने अझै निश्चित भएन चिडियाखाना
काठमाडाैं । गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखा कहिले खोल्ने भन्ने विषय अझै यकिन भएको छैन । चिडियाखाना व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी तिहारपछि खोल्ने तयारी गरे पनि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) बाट निर्णय नआउँदा कहिले खुल्ने भन्ने निश्चित नभएको हो । विश्वभर फैलिएको कोभिड–१९ का कारण गत चैत ७ गतेदेखि अवलोकनका लागि पूर्णरूपमा चिडियाखाना बन्द गरिएको थियो । लामो समयसम्म बन्द रहँदा जीव जनावरको खानपान र कर्मचारी व्यवस्थापन गर्न समस्या भएकाले खोल्ने तयारी गरे पनि निर्णय नआएकाले अन्योल भएको चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेलले जानकारी दिए । “कोरोना भाइरस सङ्क्रमण कम भएको छैन, त्रास केही कम भएकाले सावधानी अपनाएर खोल्ने तयारी गरेको हो । त्यसका लागि मापदण्ड पनि तयारी अवस्थामा छ”, पोखरेलले भने । मास्क अनिवार्य ल्याउनुपर्ने, एकपटकमा ८०० मानिसलाई मात्र अवलोकन गर्न दिने, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन छुन नपाउने, एक व्यक्ति बढीमा डेढ घण्टा मात्र बस्न पाउने, बालबालिकालाई खेलाउन नपाउनेजस्ता मापदण्ड तयार गरिएको छ । यसअघिझैँ हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुने गरी नै मापदण्ड तयार गरिएको भए पनि एकपटकमा केही सीमित व्यक्तिलाई मात्रै प्रवेशको व्यवस्था गरिएको छ । हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जीवजनावर रहेका छन् । यहाँ मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा, रेडपाण्डा आदि रहेका छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ । उक्त स्थानमा अवलोकनका गर्न विदेशीका लागि ७५०, सार्क राष्ट्रका पाहुनाका लागि ५००, नेपालीलाई १५० र नेपाली विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि ९० शुल्क निर्धारण गरिएको छ । वार्षिक ११ लाख दर्शक अवलोकन गर्न आउने यहाँ प्रवेश शुल्कबाट नै वार्षिक १५ देखि १६ करोडसम्मको आर्थिक कारोवार हुने गरेको छ । अवलोकन गर्न आएका अवलोकनकर्ताबाट प्राप्त शुल्कबाट कर्मचारी व्यवस्थापन र जनावरलाई खानपानको व्यवस्थापन गर्दै आएको चिडियाखानामा विगत आठ महिनादेखि आम्दानी शून्य भएपछि खर्च व्यवस्थापन गर्न समस्या भएको छ । कोरोनाका कारण बन्द हुनुअघि ८० कर्मचारी कार्यरत थिए । अहिले व्यवस्थापन गर्नै समस्या भएपछि २० कर्मचारी कटौती गरिसकेको जनाइएको छ । अब तत्काल सञ्चालनमा नल्याए थप समस्या हुनेछ । उद्धार केन्द्र अभाव सदर चिडियाखानामा विभिन्न जीवजन्तुलाई संरक्षण गर्न पहिलो चरणमा ल्याएर राखिने उद्धार केन्द्रको अभाव रहेको छ । जङ्गली जनावरले समय–समयमा मानव बस्तीमा आएर समस्या पार्ने गरेकाले तिनलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यसरी मानव बस्तीमा आएर दुःख दिने जनावरलाई पहिलो चरणमै चिडियाखानामा राखिएका अन्य जनावरसँग घुलमिल गराएर राख्न समस्या हुन्छ । तिनलाई लामो समय स्वास्थ्य परीक्षण गर्नका लागि विशेष निगरानीमा राख्नुपर्छ तर चिडियाखानामा यस स्थानको अभाव छ । “प्रत्येक वर्ष १०/१५ जीवजन्तु यहाँ संरक्षण गर्नुपर्छ, संरक्षण गरिएका जीवजन्तुलाई छ महिनादेखि एक वर्षसम्म अवलोकन गर्नका लागि राख्न सम्भव हुँदैन, पशु चिकित्सकको निगरानीमा संरक्षण गरी राख्नुपर्छ तर स्थान अभाव छ”, प्रमुख व्यवस्थापक डा पोखरेलले भन्नुभयो । थपियो डाँफे विगत आठ वर्षपछि चिडियाखानामा एक जोडी डाँफे थपिएको छ । जुम्लाबाट ल्याइएको डाँफेलाई अहिले अवलोकनका लागि नराखी संरक्षणकक्षमा राखिएको छ । अन्य जीवजनावरको तुलनामा चराको प्रजाति यहाँ बढी छ । तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाको रूपमा स्थापना गर्नुभएको हो । विसं २०११ बाट सर्वसाधारणका लागि खुला गरिएको चिडियाखाना विसं २०५२ बाट यसको व्यवस्थापनको जिम्मेवारी ३० वर्षका लागि नेपाल सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको हो । रासस
सबैभन्दा बढी कर तिर्ने कैलाश हेलिकोप्टर सम्मानित
काठमाडौं । आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी आयकर दाखिला गरेको कैलाश हेलिकोप्टर सर्भिसेज सम्मानित भएको छ । कैलाश हेलिकोप्टरले आन्तरिक राजस्व कार्यालय बत्तीसपुतलीको क्षेत्राधिकारका करदातामध्ये उक्त आवमा सबैभन्दा बढी आयकर दाखिला गरेको थियो । कैलाश हेलिकोप्टर नवौं राष्ट्रिय कर दिवसको अवसरमा सम्मानित भएको हो । उक्त अवसरमा प्रमुख कर अधिकृत मित्रलाल अधिकारीले कैलाश हेलिकोप्टर सर्भिसेजका प्रबन्ध र्निदेशक प्रतापजंग पाण्डेलाई सम्मानपत्रका साथ सम्मान गरेका हुन् ।