हवाई पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको छ: निवर्तमान पर्यटनमन्त्री

काठमाडाैं । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सुशासन प्रवद्र्धन, नीतिगत सुधार तथा नागरिक उड्डयन क्षेत्रको पूर्वाधार विकास र सेवा सुदृढीकरणमा उल्लेख्य काम भएको बताएका छन् । विकसित राजनीतिक घटनाक्रमपछि आइतबार पदबाट राजीनामा दिएका भट्टराईले आज मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा आफ्नो १७ महिने कार्यकालमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको विषमावस्थामा पनि मन्त्रालयले नीतिगत र प्रशासनिक सुधारका काम गरेको जिकिर गरर् । नागरिक उड्डयनतर्फ पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको बताउँदै उनले भने, “चाहेर पनि मन फुकाएर काम गर्न र प्रभावकारी योजना अघि बढाउन सकिएन । सङ्कुचित र नियन्त्रित ढङ्गले काम गर्नुपर्ने बाध्यता थियो, त्यसैले सोचेअनुरुप उपलब्धि भएन ।” नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता भट्टराईले विसं २०७६ साउन १५ गते पर्यटनमन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दा आर्थिक वर्षको कार्यक्रम कार्यान्वयन तथा वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेका सन्दर्भमा बढी नै जिम्मेवारी थियो । मुलुकको अर्थतन्त्रको मुख्य आधार पर्यटन क्षेत्रमा पूर्वाधार विकास र गन्तव्य प्रवद्र्धन गरी अर्थतन्त्रलाई बलियो बनाउने दायित्वलाई पनि आत्मसात् गरेर कार्ययोजना अघि बढाइएको पूर्वमन्त्री भट्टराईले बताए । पर्यटन मन्त्रालयले अघिल्लो आर्थिक वर्षमा झण्डै ६० प्रतिशत भौतिक प्रगति गरेको थियो । महामारीका कारण छ महिना पूँजीगत खर्च हुन नसकेको र प्रभावकारीरुपमा जनशक्ति परिचालन हुन नसकेपछि मन्त्रालयले लिएको ८० प्रतिशतभन्दा बढी लक्ष्यलाई भेट्टाउन नसकिएको भट्टराईको भनाइ थियो । पर्यटन मन्त्रालयले पूर्वाधार विकासतर्फ निकै प्रगति गरेको छ । नागरिक उड्डयन क्षेत्रमा राष्ट्रिय गौरवका आयोजना गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थलको उल्लेख्य प्रगति छ । गौतमबुद्ध विमानस्थल शीघ्र सञ्चालनको तयारीमा छ । निवर्तमान मन्त्री भट्टराईले पूर्वाधार विकास, आधुनिक उपकरण जडान र सुरक्षित उडानमा प्रगति हासिल भएको बताए । युरोपेली सङ्घले नेपालको हवाई क्षेत्रमाथि लगाएको प्रतिबन्ध फुकुवाका लागि सकारात्मक पहलकदमी लिएको र अब छिट्टै नेपाल सङ्घको सुरक्षा चासो सूचीबाट हट्ने विश्वास व्यक्त गरे । मन्त्रालयले विसं २०३४ को ऐन विस्थापन गरी नयाँ पर्यटन ऐन मस्यौदा तयारी गरी मन्त्रिपरिषद्मा पठाउने चरणमा छ । हवाई नीति मस्यौदा पनि मन्त्रिपरिषद्मा लैजाने तयारी छ । मुलुक सङ्घीय संरचनामा गएपछि पर्यटकीय पूर्वाधारमा तीन तहका सरकारको साझेदारीलाई अघि बढाइएको छ । मन्त्रालयले करीब २०० आयोजना छनोट गरेको छ । रासस पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सुशासन प्रवद्र्धन, राष्ट्रिय गौरवका आयोजनाको निरन्तर अनुगमन तथा कुनै विषयमा छिट्टै निर्णय लिन सक्ने नेतृत्वदायी क्षमता भएका पर्यटनमन्त्रीको बिदाइ गर्नुपर्दा दुःख लागेको बताउनुभयो । मन्त्रालयका उपसचिव मोहन घिमिरेले पर्यटनमन्त्री भट्टराईले मन्त्रालयको नीतिगत सुधार र पूर्वाधार विकासका आयोजनालाई प्रगतिउन्मुख बनाउन सकारात्मक नेतृत्व गरेको बताउनुभयो । निवर्तमान पर्यटनमन्त्रीलाई मन्त्रालयका उच्च अधिकारी, मातहत निकायका प्रमुख एवं प्रतिनिधिले मायाको चिनोसहित बिदाइ गर्नुभएको थियो ।

संसद पुर्नस्थापना हुने निवर्तमान पर्यटनमन्त्री योगेश भट्टराईकाे विश्वास

काठमाडौं । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अदालतबाट विघटन भएको संसद पुर्नस्थापना हुने विश्वास व्यक्त गरेका छन् । मन्त्रालयमा आयोजित औपचारिक विदाई कार्यक्रममा बोल्दै भट्टराईले संवैधानिक अंगहरु स्वतन्त्र रहेको अवस्थामा संसद पुर्नस्थापना हुने विश्वास व्यक्त गरेका हुन् । लोकतान्त्रिक प्रकृयामा आघात पुगेका कारण आफुसहितका मन्त्रीहरुले सामूहिक राजीनामा दिएको उल्लेख गर्दै उनले भने, ‘‘यसलाई ट्रयाकमा ल्याउन मलाई विश्वास छ । यदि यो देशका संवैधानिक अंगहरु स्वतन्त्र छन् विवेक पुर्याउँछन् । त्यहाँका मान्छेहरु ठिक छन् भने । सतप्रतिशत भन्दा पनि बढी विश्वासका साथ भन्छु संसद पुर्नस्थापना हुन्छ । मुलुकप्रति संविधानप्रति जवाफदेही छन् भने सतप्रतिशत संसद पुर्नस्थापना हुन्छ । हुनुपर्छ । त्यो नै हाम्रो लोकतन्त्रको विजय हुन्छ । संविधानको रक्षा हुन्छ ।’’ भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटको प्रस्ताव गर्दा आफुहरुले रोक्ने धेरै प्रयास गरेपनि सम्भव नभएको उनले बताए । प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानिक रहेको उल्लेख गर्दै उनले भने, ‘‘संविधान पल्टाएर हेर्दा संवैधानिक नै छैन् । कानून र संविधानको हिसाबले मेल खाँदैन । राजनीतिक हिसाबले राजनीतकि मुल्यलाई बोकेको छैन् । जुनसुकै कारणले भएपनि यो अलोकतान्त्रीक नै हो । अन्य बाटोहरु पनि थिए । असंवैधानिक काम गर्न नपर्ने थियो गर्नुभयो । दुःखी छौँ ।’’ भट्टराईको विदाइमा मन्त्रालयका सचिव यादव कोइरालाले नेपाली ढाका टोपीका साथै फुलगुच्छा र मायाको चिनो दिएका छन् । मन्त्रालयका अन्य कर्मचारी, युनियन कर्मचारी संघठनका पदाधिकारी लगायतका व्यक्तित्वहरुले समेत मन्त्री भट्टराईलाई स-सम्मान विदाइ गरेका छन् । गत आइतबारको विकसित राजनीतिक घटनाक्रमसँगसँगै मन्त्री भट्टराईले हिजै आफ्नो राजीनामा घोषणा गरेका थिए ।

पूर्वमन्त्री श्रेष्ठले २६ करोडमा किने धनगढीकाे ‘दि होटल डिभोटी’, छिट्टै चार तारे र क्यासिनाे सञ्चालन गर्ने

काठमाडौं । व्यवसायी तथा पूर्व शिक्षा सहायक मन्त्री सिनेट श्रेष्ठले धनगढीमा २६ करोड रुपैयाँमा तीन तारे होटल खरिद गरेका छन् । उनले धनगढीको हशनपुरमा रहेको तीन तारे होटल ‘दि होटल डिभोटी’ खरिद गरेका हुन् । उनले एक वर्ष अगाडिदेखि नै आफ्नो स्वामित्व होटलमा हुने गरी प्रवेश गरेपनि अहिले पूर्ण रुपमा दुई जनाको मात्र सेयर हुने गरी खरिद गरेका हुन् । उनले सो होटलमा आफ्नो ५० प्रतिशत सेयर रहने गरी होटल खरिद गरेको बताएका छन् । उनीसँगै धनगढीकै व्यवसायी लिलाधर जोशीको पनि सो होटलमा ५० प्रतिशत सेयर रहेको छ । दुवै जनाको ५०/५० प्रतिशत हिस्सा हुने किसिमले होटल खरिद गरेको उनले बताए । सञ्चालक द्वय श्रेष्ठ र जोशी उनका अनुसार अब होटल डिभोटी नयाँ व्यवस्थापनका साथ अगाडि बढ्नेछ । ‘हामीले एक वर्ष अगाडिदेखि नै सीमित स्वामित्व लिएर सञ्चालकको रुपमा प्रवेश गरेका थियौं, त्यसमा पूर्व सञ्चालकको पनि २० प्रतिशत सेयर कायमै थियो, अहिले त्यो २० प्रतिशत सेयर पनि बिक्री गरेर उहाँ बाहिरिसक्नु भएको छ, अहिले हामी दुवै जनाको होटलमा ५०/५० प्रतिशत सेयर छ,’ श्रेष्ठले विकासन्युजसँग भने । उनले अब होटललाई चाँडै नै चार तारे बनाउने तर्फ आफुहरुको ध्यान जाने बताए । ‘हामी अब यो तीन तारे होटललाई चाँडै चार तारे बनाउँदैछौं, क्यासिनो सञ्चालनका लागि पनि प्रक्रिया अगाडि बढाएका छौं, सुदूरपश्चिमका विभिन्न परिकार पाइने होटलमा रुपमा पनि विकास गर्दै लैजान्छौं,’ उनले भने । अर्का सेयरधनी लिलाधर जोशीले पनि अब सुदूरपश्चिममा होटल डिभोटी नयाँ र पृथक व्यवस्थापनका साथ अगाडि बढ्ने बताए । उनका अनुसार काम गर्ने जनशक्तिका साथ साथै भारतीय पर्यटकहरुलाई आकर्षित गर्नको लागि फरक व्यवस्थापनका साथ काम भइरहेको बताए । यस अघि सो होटल व्यवसायी कृष्ण बहादूर महराको पूर्ण स्वामित्वमा सञ्चालन भइहरेको थियो । होटल डिभोटी सूदुरपश्चिममा परिचित छ । आफुले होटल बिक्री गर्न नचाहेको भएपनि सरकारी स्तरबाटै सहयोग नभएपछि बिक्री गर्न बाध्य भएको महराले प्रतिक्रिया दिए । दि हाेटल डिभाेटी ‘मैले होटल डिभोटीलाई चार तारे बनाउन र त्यसमा क्यासिनो सञ्चालन गर्नको लागि धेरै प्रयास गरेँ, त्यसका लागि आवश्यक तथा आधारभूत पूर्वाधारहरु निर्माणको प्रक्रिया गर्नको लागि सरकारी स्तरबाटै अनेक बाधा तथा असहयोग भयो, त्यसैले पनि म त्यसबाट बाहिरिन बाध्य पारिएँ,’ महराले भने । चार तारे होटल निर्माणका लागि जग्गाको आवश्यक थियो, सँगै रहेको सार्वजनिक जग्गा भाडामा लिनको प्रक्रिया गर्दा त्यसको सरकारी तहबाटै अनेकन टर्चर मैले भोगेँ, मैले यहाँका सासंद, मन्त्रीदेखि प्रधानमन्त्तीलाई समेत आग्रह गरेँ, तर कसैले मेरो समस्या बुझेनन्, बाध्य भएर होटलबाट बाहिरिएँ,’ उनले भने । डिभोटी होटल सुदूरपश्चिममा ब्राण्डको रुपमा स्थापित भएको छ । सुनसरी घर भएका पूर्वमन्त्री श्रेष्ठ राजनीति रुपमा सक्रिय रहेका छन् भने जोशी धनगढीकै व्यवसायी हुन् ।