बर्दिया निकुञ्जमा पर्यटकको चलपहल बढ्दै

नेपालगञ्ज । बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चलपहल बढ्न थालेको छ । निकुञ्जमा रहेको बाघ, चितुवा, हात्ती, जरायो, बाह्रसिङ्गेलगायत वन्यजन्तु हेर्न पर्यटक त्यहाँ पुग्ने गरेको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बाघको सङ्ख्या बढेर एक सय २५ पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढदै गएको जानकारी दिए । करिब ९० प्रतिशत पर्यटकले बाघ अवलोकन गरेको जानकारी दिँदै उनले अघिल्लो आर्थिक वर्षमा एक हजार विदेशी पर्यटक आएकामा अहिले चार हजारको हाराहारीमा पुगेको उल्लेख गरे । यसैगरी अघिल्लो आर्थिक वर्ष आन्तरिक १० हजार पर्यटकले निकुन्ज अवलोकन गरेकामा अहिले १२ हजार पुगेका छन् । गत आर्थिकम वर्ष चार सय सार्क मुलुकका पर्यटकले अवलोकन गरेकामा अहिले बढेर ८०० पुगेका छन् । बाघ हेर्नकै लागि गत वर्षभन्दा यसवर्ष पर्यटकको सङ्ख्या बढेको प्रमुख संरक्षण अधिकृत भण्डारीले जोड दिए । पर्यापर्यटनका लागि यो निकुञ्ज केन्द्रको रुपमा स्थापित भएको उल्लेख गर्दै उनले भने, ‘हामीलाई विश्वास छ यस वर्ष करिब २० हजार पर्यटकले निकुञ्ज भ्रमण गर्नेछन्, यसको मुख्य कारण बाघको सङख्या बढेकाले त्यसलाई प्रत्यक्ष रुपमा देख्न पाउनु नै हो ।’ प्रमुख संरक्षण अधिकृत भण्डारीले विदेशी पर्यटक खास गरेर अमेरिका, जर्मन, फ्रान्स, न्यूजिल्याण्ड, चीन, भारतलगायत मुलुकका पर्यटकले निकुन्ज अवलोकन गरेकामा तीमध्ये अमेरिकी पर्यटकको सङ्ख्या बढिरहेको छ । ‘उनीहरु बाघ हेर्न नै मन पराउने हुनाले यहाँ आउँछन्, त्यसबाहेक डल्फिन पनि अवलोकन गर्छन्, बाघको आहारको रुपमा रहेको चित्तल, बाह्रसिङ्गेको हेरेर पनि पर्यटकले आनन्द लिएका छन् । सुन्दर घाँसेमैदान, नदी र जैविक विविधताले निकुञ्जको सौन्दर्य बढाएको छ ।’ ‘निकुञ्जमा १०० स्क्वायर किलोमिरटमा सात बाघ छन् । अझै पनि यसको पक्षमा राम्रो काम गर्ने हो भने बाघको सङ्ख्या बढाउन सकिन्छ’, प्रमुख संरक्षण अधिकृत भण्डारीले भने, ‘वन्यजन्तु र मानव बीचको द्वन्द्व व्यवस्थापनका लागि बाघको आहारा बढाउनेलगायत काम गर्नाका साथै तिनलाई निकुञ्जभित्रै सीमित बनाउने गरी केही प्रयास भएको छ ।’ उनले बाघ र हात्तीबाट हुने क्षति कम भएकाले मानवीय व्यवहारलाई परिवर्तन गर्न आवश्यक भएको धारणा व्यक्त गरे । निकुञ्ज आसपास बस्ती रहुञ्जेल वन्यजन्तु र मानवबीच द्वन्द्व बढिरहने भएकाले मानव वन पैदावरको खोजीमा जाने र कहिलेकाहीँ वन्यजन्तु विशेष गरी बाघ त्यो पनि बिरामी वा घाइते बाघ आहाराको खोजीमा जङ्गलभन्दा बाहिर जाँदा द्वन्द्व बढेको जस्तो देखिए पनि ठूलो समस्या भने नभएको प्रमुख संरक्षण अधिकृत भण्डारीले बताए । निकुञ्जले सकेसम्म मानव र वन्यजन्तुबीचको द्वन्द्व शून्य रहोस् भनेर काम गरिरहेको छ । वन्यजन्तुको आनीबानी र व्यहार परिवर्तन गर्न सकिदैन तर उसमाथि देखाउने व्यवहार परिवर्तन गर्न सकिन्छ । यो निकुञ्ज भावर क्षेत्रमा पर्ने भएकाले करिब पाँच स्क्यावार किलोमिरटको दूरीमा एउटा पोखरी बनाउनाका साथै सोलार जडित बोरिङको प्रबन्ध गरेर पानीको व्यवस्था गरिएको छ । बाघका लागि पाँच वर्षमा चार स्क्वायर किलोमिटरको ग्रिड बनाइएको र प्रत्येक ग्रिडमा एउटा पोखरी र घाँसे मैदान बनाउने लक्ष्य राखिएको छ । यस कार्यले बाघको आहारा जातीको जन्तुको सङ्ख्या बढाउन सहयोग गर्ने विश्वास लिइएको छ । घाँसे मैदान राम्रो भए बाघको आहार जातीको सङ्ख्या बढाउन सकिने भएकाले आहारा प्रजातिको लागि पोषण खानामा जोड दिइएको छ । अहिले घाँसे मैदान कम छ पुराना घाँसे मैदान वन पैदावर पाउने ठाउका रुपमा रुपान्तरण भएको छ । पुरनो घाँसे मैदानलाई पुनः घाँसे मैदानकै रुपमा ल्याउन बजेट अभावले समस्या देखिएको बताइएको छ । निकुञ्जभित्र रहेका लम्कौलीलगायत विभिन्न घाँसे मैदानका फाँटालाई व्यवस्थापन गरिएको छ । पुराना घाँसे मैदानको गुणस्तर बढाउन निकुञ्जले जोड दिएको छ । निकुञ्जमा १०० स्क्वायर किलोमिरटमा सात बाघ छन् । अझै पनि यसको पक्षमा राम्रो काम गर्ने हो भने बाघको सङख्या बढाउन सकिन्छ । बढेको बाघको सङ्ख्यालाई कसरी अवसरको रुपमा लिने र त्यसबाट आयआर्जन कसरी गर्ने भन्ने विषयमा पनि छलफल हुनु आवश्यक छ । बर्दियाको ठाकुरद्वारास्थित गैँडा क्याम्पका सञ्चालक रामजीबाबु थापाले निकुञ्जमा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढेको जानकारी दिँदै बाघको सङ्ख्या बढेपछि यहाँ रहेका करिब ३२ साना तथा ठूला होटेल र होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकको बसाइँ बढ्न थालेको बताए । त्यसमा पनि बाह्य पर्यटकमा अमेरिका, फ्रान्सलगायत मुलुकको पर्यटक भएको उल्लेख गर्दै उनले बाघ हेर्नका लागि बाह्य पर्यटक तीन दिनदेखि एकसातासम्म यहाँबस्ने गरेकोे जनकारी दिए । ‘कतिपय पर्यटक त एक महिनासम्म पनि बस्ने गर्छन्’ सञ्चालक थापाले भने । स्थानीय उमङ्ग खडकाले बाघ हेर्नकै लागि पर्यटकको सङ्ख्या वढिरहेको र उनीहरूले हात्ती, गैँडा र आहार प्रजातिका अन्य वन्यजन्तु देखेर फर्किने गरेको बताए । पाटेबाघ, एक सिङ्गे गैँडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गे र जङ्ली हात्तीलगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु निकुञ्जमा पाइन्छन् । जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् । निकुञ्जमा चार सय ३८ थरी रैथाने र बसाइँ सरी आउने चराको अभिलेख रहेको बताइएको छ । रासस

काठमाडौंमा व्यवस्थित बसपार्क नहुँदा मारमा पर्यटक

काठमाडौं । सङ्घीय राजधानी काठमाडौंमा पर्यटक बसपार्कको माग भएको लामो समय भइसकेको छ । तर अझै पनि पर्यटक बसपार्कको माग भने पूरा हुन सकेको छैन । जसकारण पर्यटक बसहरु सडकलाई नै अस्थायी बसपार्कका रुपमा प्रयोग गर्न बाध्य भइरहेका छन् । हवाईमार्ग हुँदै नेपाल भित्रिने पर्यटकहरु काठमाडौंमा आइपुग्छन् । र, काठमाडौंबाट हवाई तथा सडकमार्ग हुँदै विभिन्न पर्यटकीय गन्तव्यमा जान्छन् । काठमाडौंमाबाट विभिन्न पर्यटकीय गन्तव्यका लागि जाने पर्यटक बसहरु पर्यटक बसपार्कको अभावमा हाल अस्थायीरुपमा सोह्रखुट्टेस्थित सडकलाई पर्यटक बसपार्क बनाउन बाध्य भएका छन् । टुरिस्ट बस एशोसियशन अफ नेपाल टिवानका अध्यक्ष कृष्ण आचार्य पर्यटक बसपार्कका बारेमा लामो समयदेखि आवाज उठाउँदै आए पनि अहिलेसम्म सुनुवाइ हुन नसकेको बताए । ‘पर्यटक बसपार्क निर्माणका लागि विभिन्न सरोकारवाला निकायलाई सम्भावित स्थानबारे जानकारी गराइसकेका छौँ’, उनले भने, ‘तर उनीहरुले चासो नदिँदा पर्यटक बसपार्कले मूर्तरुप पाउन सकेको छैन ।’ पर्यटक बसपार्क निर्माणका लागि राज्यले कुनै चासो नदिएको उनको भनाइ छ । अध्यक्ष आचार्य पर्यटक बसपार्क लागि छुट्टै ‘पिक एण्ड ड्रप’ नहुँदा पर्यटकले सास्ती खेप्नुपरेको बताउँछन् । सरकारले पर्यटनमार्फत अर्थतन्त्रलाई सबल बनाउन खोजे पनि यसका लागि पूर्वाधार निर्माणमा ध्यान भने नदिएको अध्यक्ष आचार्यको भनाइ छ । लामो समयसम्म जमलस्थित कान्तिपथ सडकलाई अस्थायी पर्यटक बसपार्कका रुपमा प्रयोग गरिएको थियो । तर विसं २०७५ असार १६ गतेदेखि भने सोह्रखुट्टेको सडकलाई अस्थायी पार्किङस्थल बनाएर पर्यटक ओसार्न थालिएको हो । टिवानका पूर्वमहासचिव दीपक भट्टराई पर्यटन क्षेत्रको विकासका लागि काठमाडौंमा पर्यटक बसपार्क अनिवार्य भएको बताउँछन् । छुट्टै बसपार्क नहुँदा गोँगबुस्थित नयाँ बसपार्कबाट समेत पर्यटक बस सञ्चालन गर्न बाध्य भएको उनको भनाइ छ । काठमाडौं महानगरपालिका, ट्राफिक प्रहरीलगायतले कान्तिपथ क्षेत्रमा धेरै भीडभाड हुने भएकाले उक्त क्षेत्रबाट पर्यटकीय बसपार्क हटाएर सोह्रखुट्टे सडकमा सारेका थिए । नेपाल एशोसियशन टुर्स एण्ड ट्राभल एजेन्ट्स नाट्टाका महासचिव कुमारमणि थपलिया पर्यटक बसपार्क निर्माणका लागि नाट्टाले विभिन्न निकायमा पहल गरिरहेको बताए । ‘पर्यटक बसपार्क निर्माणका लागि सम्भावित ठाउँ हेरिरहेका छौँ, सम्बन्धित निकायलाई झक्झकाइरहेका छौँ’, उनले भने । नाट्टाले पर्यटन विभागसँग पर्यटक बसपार्कका बारेमा छलफल गरिरहेको उनको भनाइ थियो । विश्वका धेरै मुलुकमा पर्यटक बोक्ने सवारीसाधनलाई छुट्टै बसपार्कका रुपमा विकास गरेको पाइन्छ । पर्यटन विभागका इञ्जिनियर बीरेन्द्रप्रसाद चौधरी काठमाडौंभित्र पर्यटक बसपार्क आवश्यक भए पनि जग्गा नहुँदा निर्माणमा ढिलाइ भएको दाबी गरे । हाल काठमाडौंबाट पोखरा र चितवनको सौराहका लागि मात्रै दैनिक झण्डै एक सय वटा पर्यटकीय बस आवतजावत गर्दै आएका छन् भने दैनिक तीन हजारदेखि चार हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकले पर्यटक बसमा यात्रा गर्ने गरेका छन् । व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टेको सडकमा पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिरेर पार्किङ गर्दै आएका छन् । काठमाडौंबाट विशेष गरी पोखरा, चितवनको सौराहा, लुम्बिनी, जनकपुरलगायतका प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटक बस जाने गरेका छन् । रासस

मौलाकाली केबलकारको उद्घाटन वैशाख १८ प्रधानमन्त्रीले गर्ने

काठमाडौं । मौलाकाली केवलकार प्रालिद्वारा प्रवद्र्धित मौलाकाली केबलकार वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ । नवलपुर जिल्लाको गैडाकोट १ मा निर्माण सम्पन्न केबलकार यही वैशाख १ गतेदेखि परीक्षण सञ्चालन भएको थियो । केबलकारको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ । आईएमई ग्रुपको मुख्य लगानी रहेको मौलाकाली केबलकारको निर्माण गत वर्षदेखि सुरु गरिएको थियो । गैडाकोट १ बाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केबलकारमा १२ वटा गोन्डोला रहेका छन् । केबलकार सञ्चालनसँगै मौलाकालीको दर्शन तथा पुजाआजाका लागि जाने भक्तजनहरुका लागि सहज हुनेछ । केबलकारमार्फत बटम स्टेशनबाट टप स्टेशनसम्प पुग्न करिब ५ मिनेटको समय लाग्दछ । केबलकारको माथिल्लो स्टेसनमा सुविधासम्पन्न ६० रुमको होटल, ब्याङक्वेट हल र रेष्टुरन्ट सञ्चालनमा रहने छन् । केवलकार सञ्चालन भए पनि होटल सञ्चालनका लागि भने अझै केही महिना लाग्ने मौलाकाली केबलकार प्रालिले जनाएको छ । नवलपुर र चितवन जिल्लाको पर्यटकीय पूर्वाधारमा उल्लेख्य योगदान पुग्ने उक्त परियोजनामा दुई अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ । आईएमई ग्रुपको मुख्य लगानी रहेको केबलकारसहितको नयाँ पर्यटकीय गन्तब्य निर्माण काठमाडौंको चन्द्रागिरिमा निर्माणसम्पन्न भई सञ्चालनमा रहेको छ । त्यसैगरी, यस ग्रुपको मुख्य लगानी रहेको लुम्बिनी केबलकार प्रा.लिद्वारा प्रवद्र्धित अर्को केवलकार परियोजना रुपन्देही जिल्लाको बुटवल बजारदेखि पाल्पाको बसन्तपुरमा निर्माणाधीन रहेको छ । उक्त केबलकार परियोजना पनि यसै महिनाको अन्त्यदेखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ । आईएमई ग्रुपको लगानीमा सातवटै प्रदेशमा ठूला र नमूना पर्यटकीय पूर्वाधार निर्माणको चरणमा रहेका छन् ।