प्याराग्लाइडिङले रङ्गिँदै सुर्खेतको आकाश, सबै वर्गका मानिस आकर्षित
रुपनी जि एम सुर्खेत । सुर्खेतको आकाश केही वर्ष प्याराग्लाइडिङका कारण रङ्गिन थालेका छन् । कर्णाली प्रदेशको राजधानीसमेत रहेको यो सहर पछिल्लो समय साहसिक पर्यटनको नयाँ केन्द्रका रूपमा विस्तार भएको हो । चुरे पहाडको काखबाट उडान भर्दा तल देखिने हरियाली वन, फैलिएका बस्ती र टाढासम्म फैलिएको भू दृश्यले जो कोहीलाई केही क्षण भए पनि आनन्द दिलाउँछ । खुला आकाशमा स्वतन्त्र रूपमा उड्ने अनुभूति लिन पनि पर्यटकहरु केही वर्षयता यहाँ आउन थालेका छन् । शिक्षण पेसामा आबद्ध रमेश विष्ट यस परिवर्तनका साक्षी मात्र होइनन्, सक्रिय सहभागी पनि रहेका छन् । उनी भन्छन्, 'छोटो समयमै यहाँको प्याराग्लाइडिङले सबै वर्गका मानिसलाई आकर्षित गरेको छ ।' सुर्खेतमा प्याराग्लाइडिङ विस्तार हुँदै जाँदा यसको दायरा विस्तार हुँदै गएको छ । व्यवसायी, विद्यार्थी, शिक्षक, डाक्टर, इन्जिनियर सबै पेसाका मानिस प्याराग्लाइडिङमा सहभागी हुन थालेका छन् । अब यो खेल सीमित समुदायका लागि मात्र नभएर सर्वसाधारणको पहुँचमा आएको छ । व्यवस्थापनमा गरिएको सुधार, सुरक्षा मापदण्डको पालना र प्रशिक्षित पाइलटको उपलब्धताले यो व्यवसायप्रति थप विश्वास बढाएको छ । पाँच वर्ष जापान बसाइ सकेर फर्किएका ‘सेन्से’ उपनामले परिचित स्थानीय एक युवाले जीवनमै पहिलोपटक प्याराग्लाइडिङ अनुभव लिन सुर्खेत आइपुगेको बताए । उनका लागि यो केवल मनोरञ्जन होइन, स्वदेशको प्रकृति र पर्यटनको सम्भावनासँग पुनः जोडिने अवसर पनि हो । उनले भने, 'उडानअघि हल्का डर भए पनि पछि मज्जा भयो ।' जीवन र रमेशझैँ प्याराग्लाइडिङ अनुभव बटुल्न पहिलोपटक आएकी निरु चौधरीको अनुभव पनि खासै फरक छैन । 'मैले प्याराग्लाइडिङ गरेको धेरै भिडियोहरु देखेकी थिएँ । पोखरा गएर गर्नलाई आर्थिक रुपले र समयको व्यस्तताले सम्भव थिएन । तर यहाँ दूरीले पनि नजिक भएकाले आएकी हुँ', उनले भनिन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ स्थित बयलकाँडा क्षेत्रमा निमार्ण गरिएको प्याराग्लाइडिङ गर्ने स्थान विस्तारै व्यवस्थित र योजनाबद्ध रूपमा विकास गर्दै लगेको वेलकम प्याराग्लाइडिङ कम्पनीका सञ्चालकको भनाइ छ । ‘कर्णाली समृद्धि २०८२’ को सन्दर्भसँगै यहाँ सस्तो र सुलभ दरमा प्याराग्लाइडिङ उडान सञ्चालन गरिएको सञ्चालक कम्पनीले जनाएको छ । जसले आन्तरिक पर्यटनलाई चलायमान बनाएको छ । यस अभियानको नेतृत्व अनुभवी प्रशिक्षक देशवीर जिमीले गरिरहेका छन् । जसले करिब १६ वर्षदेखि यस क्षेत्रमा निरन्तर काम गर्दै आएका छन् । उनको नेतृत्वमा सञ्चालन भइरहेको ‘वेलकम प्याराग्लाइडिङ’ कम्पनीमार्फत चार जना दक्ष पाइलटले दैनिक रूपमा व्यावसायिक उडान गरिरहेका छन् । समुद्र सतहदेखि करिब एक हजार ५०० मिटर उचाइमा रहेको बयलकाँडा प्राकृतिक रूपमा प्याराग्लाइडिङका लागि उपयुक्तस्थल मानिन्छ । यहाँको हावाको सन्तुलित बहावले उडानलाई सुरक्षित र सहज बनाउने गरेको जिमीको भनाइ छ । जीमीका अनुसार बयलकाँडाबाट उडान भरेपछि वीरेन्द्रनगर–१ स्थित रेडियो नेपाल अगाडिको खुला फाँटमा सुरक्षित अवतरणको व्यवस्था गरिएको छ । प्याराग्लाइडिङको सम्पूर्ण अनुभव तीन चरणमा विभाजित हुने उनी बताउँछन् । टेकअफ, फ्लाइङ र ल्यान्डिङ । केही मिनेटको यो उडानले सहभागीलाई जीवनभर सम्झिने अनुभव दिन्छ । प्याराग्लाइडिङ फस्टाउँदै एपछि स्थानीय व्यवसायमा पनि यसको सकारात्मक प्रभाव देखिन थालेको छ । होटल, रेष्टुराँ, यातायात र गाइड सेवामा संलग्न व्यक्तिहरूको आम्दानी बढ्न थालेको छ । यसै सन्दर्भमा आन्तरिक राजस्व कार्यालय सुर्खेतका प्रमुख चक्रप्रसाद ढुङ्गानाले कर्णाली प्रदेशको आर्थिक विकास र पर्यटन प्रवर्द्धनमा सुर्खेतमा सञ्चालन हुँदै आएको प्याराग्लाइडिङ गतिविधिले महत्त्वपूर्ण योगदान पुर्याएको बताए । उनका अनुसार प्याराग्लाइडिङले प्रदेशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गरेको छ । सुर्खेतको आकाशमा उडिरहेका प्याराग्लाइडिङ केवल साहसिक खेलको विस्तार मात्र होइन, यो त कर्णालीको पर्यटन विकासमा सम्भावनाको सङ्केत पनि हो । रासस
हिमाल आरोहीबाट ७५ करोड रोयल्टी संकलन, सगरमाथाबाट मात्रै ६५ करोड
काठमाडौं । सन् २०२६ को वसन्त ऋतुको सुरुदेखि हालसम्म हिमाल आरोहीबाट ७५ करोड रुपैयाँ बराबरको रोयल्टी संकलन भएको छ । पर्यटन विभागका अनुसार ८५ सय आरोहीबाट हालसम्म ७५ करोड ५८ लाख ६८ हजार २८२ रुपैयाँ जम्मा भएको हो । ८५ समूहबाट वसन्त ऋतुमा ७ सय जनाले विभिन्न २५ हिमाल आरोहण गरेका छन् । सबैभन्दा धेरै सर्वोच्च शिखर सगरमाथाबाट मात्रै ६५ करोड २६ लाख १५ हजार ६१२ रुपैयाँ रोयल्टी उठेको छ । सगरमाथा आरोहणका लागि ३० आरोही समूहबाट २९७ जना त्यसतर्फ गएका छन् । जसमध्ये २३४ जना पुरुष र ६३ जना महिला छन् । सगरमाथापछि मकालु हिमालबाट २ करोड ३६ लाख २९ हजार ४ सय रुपैयाँ रोयल्टी उठेको छ । उक्त हिमालमा आरोहणको लागि ८ आरोही समूहबाट ५४ जनाले अनुमति लिएका छन्। धौलागिरी हिमालबाट १ करोड २५ लाख ६० हजार ८५० रुपैयाँ रोयल्टी संकलन भएको छ । उक्त हिमालमा आरोहणको लागि ३ जना समूहबाट २८ जनाले अनुमति लिएका छन् । लोत्से हिमालबाट १ करोड ८३ लाख ४६ हजार ५० रुपैयाँ रोयल्टी संकलन भएको छ । अन्नपूर्ण हिमालबाट १ करोड २० लाख ४९ हजार १७५ रुपैयाँ रोयल्टी उठाएको छ । उक्त हिमाल आरोहणको लागि ४ समूहबाट २७ जना आरोहीले अनुमति लिएका छन् । आमदवलामबाट १ करोड ४ लाख ३६ हजार ५५० रुपैयाँ संकलन भएको छ । त्यस्तै कञ्चनजंघा हिमालबाट ९७ लाख ६३ हजार ९५० रुपैयाँ राजश्व उठेको छ । यसैगरी, अन्नपूर्ण (आईभी) बाट १९ लाख १८ हजार ४५० रुपैयाँ रोयल्टी संकलन भएको छ । उक्त हिमाल आरोहणको लागि दुई समूहबाट १३ जनाले अनुमति लिएका छन् । अन्य हिमालहरूमा चुलु फार इस्टबाट ६ लाख २१ हजार २५० रुपैयाँ, सारीबुङबाट ६ लाख ७१ हजार ७०२ हजार रुपैयाँ, थ्रोङ पिक ७ लाख २७ हजार ५४५ रुपैयाँ, नुप्से ४२ लाख ९३ हजार ६ सय रुपैयाँ, हिमलुङ हिमालबाट ४५ लाख ६ हजार रुपैयाँ, मनास्लु हिमालबाट ४ लाख ५४ हजार २ सय रुपैयाँ र मकालु १० लाख ३६ हजार रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ ।
‘वेलनेस’ क्षेत्रमा दक्ष जनशक्तिको अभाव
काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार पहिलो पटक औपचारिक रूपमा आरोग्य दिवस मनाइएको छ । यसले विश्वस्तरमै वेलनेस र आरोग्य सेवाको महत्त्वलाई थप उजागर गरेको छ । नेपाल सरकारले यसलाई नीतिगत रूपमा समेट्दै ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा गरेको छ र आरोग्य पर्यटनलाई पर्यटन क्षेत्रको मुख्य आधारका रूपमा अघि बढाउने लक्ष्य लिएको छ । तर आरोग्य क्षेत्रमा दक्ष जनशक्तिको अभाव यस क्षेत्रको सबैभन्दा ठूलो चुनौतीको रूपमा रहेको सरोकारवालाहरूले औंल्याएका छन् । आयुर्वेद, योग, ध्यान, प्राकृतिक चिकित्सा, स्पा तथा थेरापी जस्ता सेवाहरूमा अन्तर्राष्ट्रिय स्तरको दक्षता भएका जनशक्ति सीमित छन् । यसका कारण नेपालले सम्भावना भएर पनि उच्च मूल्यका पर्यटक आकर्षित गर्न चुनौती रहेको सरोकारवालाहरुको धारणा रहेको छ । आयुर्वेद संघ नेपालका डा. रमेश पौडेलले दक्ष जनशक्तिको अभाव वेलनेस क्षेत्रको दीर्घकालीन विकासका लागि चुनौती भएको बताए । उनका अनुसार नेपाल हाल भएका जनशक्ति यो क्षेत्रको लागि पर्याप्त होइन । नेपाल आयुर्वेद चिकित्सा परिषद्को तथ्यांकअनुसार हालसम्म आयुर्वेद चिकित्सामा विद्यावारिधि (पीएचडी) गरेका चिकित्सकको संख्या मात्र चार जना छ । त्यस्तै, आयुर्वेदमा मास्टर डिग्री गरेका १८७ जना रहेका छन्, जसमा थप १५ जना समावेश हुने प्रक्रियामा छन् । यो संख्या थपिएपछि मास्टर डिग्री गरेका चिकित्सक करिब २०० को हाराहारीमा पुग्नेछ, जुन उच्च दक्ष र योग्य जनशक्ति हुन् । यसैगरी, आयुर्वेदिक स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सकको संख्या ४ हजार ३७४ रहेको छ । आयुर्वेद चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष पौडेलले आरोग्य क्षेत्रको विकासका लागि दक्ष जनशक्ति अत्यावश्यक रहेको औंल्याएका छन् । ‘विश्वस्तरमा आरोग्य सेवाको प्रवर्द्धन गर्ने क्रममा नेपालसँग पर्याप्त दक्ष जनशक्ति छ कि छैन भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ,’ उनले भने। उनले होटल क्षेत्रको उदाहरण दिँदै किचनदेखि सर्भिस डेलिभरीसम्म गुणस्तरीय सेवा दिन ‘मास्टरसेफ’ सहितको दक्ष टोली आवश्यक परे झैं वेलनेस क्षेत्रमा पनि योग्य र प्रमाणित जनशक्तिबाट सेवा प्रवाह भए मात्र लाभदायक हुने बताए । पौडेलका अनुसार प्राविधिक दक्ष जनशक्तिको तुलनामा वेलनेस सेवाको प्रभावकारी कार्यान्वयनका लागि ग्राहक/बिरामीसँग प्रत्यक्ष सम्पर्कमा रहेर थेरापी प्रदान गर्न सक्ने ग्रासरुट तहको जनशक्ति अभाव रहेको उनले उल्लेख गरे । विशेषगरी आयुर्वेदिक फार्मेसी क्षेत्रमा डिप्लोमा तहको अध्ययन कार्यक्रम नहुँदा समस्या झन् जटिल बनेको उनले उल्लेख गरे । ‘अहिले आवश्यक जनशक्ति खोज्दा समेत सहज उपलब्ध छैन,’ उनले भने, ‘यदि यसलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने हो भने सम्बन्धित कोर्स सञ्चालन अनिवार्य छ ।’ प्राविधिक शिक्षा तथा व्यवसायकि तालिम केन्द्र (सीटीईभीटी)ले १८ महिने टिएसलसी कार्यक्रम बन्द गरेपछि थेरापिस्टको अभाव झनै चर्किने बताए । ‘अहिले सीटीईभीटीको १८ महिने टिएसलसी कार्यक्रम बन्द भएको छ, जुन एकदमै छोटोमीठो कार्यक्रम हो, यो कार्यक्रम सुरु हुनुपर्छ भन्ने हाम्रो धारणा छ,’ उनले भने । होटल तथा पर्यटन व्यवसायीहरूका अनुसार आरोग्य पर्यटनका लागि आवश्यक पूर्वाधारको विकास नेपालमा भइसकेको छ । होटल संघ नेपाल (हान) का अध्यक्ष शाहले नेपालका अधिकांश ठूला होटल तथा रिसोर्टहरूमा फिटनेस सेन्टर, योग, ध्यान, स्पा र जिमजस्ता सुविधा उपलब्ध रहेको जानकारी दिए । ‘आरोग्य पर्यटनको लागि आवश्यक पूर्वाधार रहेकोले उचित नीति–नियम र समन्वय भएमा आगामी पाँच वर्षभित्रै यस क्षेत्रमा उल्लेखनीय प्रगति गर्न सकिन्छ भन्ने विश्वास लिएका छौं,’ अध्यक्ष शाहले भने । उनका अनुसार आरोग्य स्वास्थ्य र समग्र जीवनशैलीसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले यो दिवस केवल औपचारिक कार्यक्रम मात्र नभई जीवन पद्धति परिवर्तनसँग जोडिएको पहल हो । नेपालको सन्दर्भमा आरोग्य कुनै नयाँ अवधारणा नभएको उल्लेख गर्दै उनले प्राचीनकालदेखि ऋषि–मुनिहरूले योग, ध्यान, प्राकृतिक चिकित्सा जस्ता विधिमार्फत स्वस्थ जीवनशैलीको आधार निर्माण गरेको बताए । ती ज्ञान र अभ्यासहरू आज विश्वले आत्मसात गरिरहेको सन्दर्भलाई उनले नेपालीका लागि गर्वको विषय भनेका छन् । नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आरोग्यको विषय उठाएको र अन्ततः संयुक्त राष्ट्रसंघमार्फत अन्तर्राष्ट्रिय दिवसको मान्यता प्राप्त हुनु सम्पूर्ण नेपालीका लागि ऐतिहासिक उपलब्धि भएको उनले बताएका छन् । ट्रांक्विलिटी स्पाका कार्यकारी निर्देशक सुरेश पुरीले वेलनेसलाई मन, शरीर र जीवनशैलीको सन्तुलनका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार मानिसले कस्तो खाना खान्छ, कस्तो व्यायाम गर्छ र आफू तथा परिवारलाई कसरी स्वस्थ राख्छ भन्ने समग्र पक्ष नै वेलनेस हो । पुरीले आफ्ना व्यवसायिक यात्राबारे जानकारी दिँदै सन् २००८ मा चार वटा कोठाबाट सानो डे–स्पा सुरु गरिएको बताए । ‘विस्तारै होटलहरूसँग साझेदारी गर्दै अहिले २० वटा आउटलेटसम्म विस्तार गरेका छौं,’ उनले भने । साथै अन्तर्राष्ट्रिय स्तरका विज्ञहरूलाई ल्याएर नेपाली स्पा सेवाको गुणस्तर सुधार गर्दै लगिएको उनले उल्लेख गरे। उनका अनुसार स्पा उद्योगले लामो समयदेखि सरकारसँग तालिम तथा नियमनसम्बन्धी नीतिगत व्यवस्था गर्न आग्रह गर्दै आएको छ, जुन अहिले अन्तिम चरणमा पुगेको छ । ‘देशभर सयौं स्पा सञ्चालनमा छन्, अर्बौं लगानी भइसकेको छ,’ उनले भने, ‘तर गुणस्तरीय सेवा सुनिश्चित गर्न अनिवार्य रूपमा व्यवस्थित तालिमको आवश्यकता छ ।’ नेपाललाई वेलनेस गन्तव्य बनाउने उपायहरू नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का महासचिव युविका भण्डारीले नेपालले अब पारम्परिक ट्रेकिङ र एड्भेन्चर पर्यटनभन्दा माथि उठेर ‘हाई भ्यालु टुरिजम’मा ध्यान दिनुपर्ने बताएकी छन् । उनका अनुसार वेलनेस पर्यटन यसका लागि सबैभन्दा उपयुक्त विकल्प हो । उनले ‘जिरो बजेट कन्सेप्ट’ बाटै पनि वेलनेस प्रवद्र्धन सुरु गर्न सकिने उल्लेख गरिन्। ‘होटलमा पाहुना आउँदा प्याकेटको जुसको सट्टा स्थानीय जडीबुटीको हर्बल टी दिन सकिन्छ,’ उनले भनिन्, ‘यस्ता स–साना अभ्यासलाई प्राथमिकता दिनु आवश्यक छ।’ भण्डारीका अनुसार पर्यटकलाई छोटो समयमा धेरै गन्तव्य घुमाउनेभन्दा ‘स्लो टुरिजम’ अवधारणामा ध्यान दिनुपर्छ । ‘एउटा गुम्बा वा मन्दिरमा लगेर ध्यान गराउने, स्थानीय संस्कृतिसँग जोड्ने जस्ता गतिविधिले पर्यटकलाई वास्तविक वेलनेस अनुभव दिलाउँछ,’ उनले बताइन् । काव्य रिसोर्ट एण्ड स्पाका निर्देशक डा. रवि शिखावतले वेलनेसलाई समग्र र अनुभवमूलक सेवाका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । उनका अनुसार ‘सबै कुरा वेलनेस हुनुपर्छ’ भन्ने दृष्टिकोणबाट सेवा विस्तार गर्न आवश्यक छ । उनले वेलनेसलाई केवल स्पा वा मसाजमा सीमित गर्न नहुने बताउँदै यसलाई पूर्ण ‘प्याकेज’ का रूपमा बुझ्नुपर्ने धारणा राखे । ‘अहिले मानिसहरू विलासिताका लागि होइन, शान्तिका लागि यात्रा गर्छन्,’ उनले भने, ‘हामीले पाहुना आउनुअघि नै उनीहरूको स्वास्थ्य रिपोर्ट लिएर व्यक्तिगत कार्यक्रम तयार पार्छौं ।’ वैज्ञानिक पक्षबारे उल्लेख गर्दै उनले मानिस खुसी हुँदा शरीरमा ‘सेरोटोनिन’ बढ्ने र त्यसले ‘मेलाटोनिन’ (निद्रा लाग्ने हर्मोन) मा रूपान्तरण हुने बताए । उनका अनुसार नेपालको प्राकृतिक वातावरण, हिमाल र यहाँको सरल जीवनशैली नै वेलनेस पर्यटनका लागि सबैभन्दा ठूलो सम्पत्ति हो । सरकारको तयारी मन्त्रालयले आरोग्य पर्यटन रणनीति (२०२६–२०३६) तयार पारिएको छ । जसमा १० वर्षको रणनीति र ५ वर्षको कार्ययोजना रहेको छ । यो रणनीति हाल मन्त्रिपरिषदमा रहेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय पर्यटन महाशाखाको सहसचिव इन्दु घिमिरेले बताइन् । रणनीतिमा आठवटा रणनीतिक पिलरहरू राखिएका छन्, जसमा सर्टिफिकेसन (प्रमाणीकरण) र जनशक्ति विकासका कुराहरू समेटिएका छन् । धार्मिक र मेडिकल टुरिजमलाई भने अहिले स्पष्ट अवधारणा र पूर्वाधारको कमीले गर्दा केही समयका लागि बाहिर राखिएको उनको भनाइ छ । उनका अनुसार एसियाली विकास बैंक (एडीबी) ले डेस्टिनेसन डेभलपमेन्ट फ्रेमवर्क र कन्सेप्ट पेपरमा सहयोग गरिरहेको छ। पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले यस क्षेत्रको समग्र स्तरीकरण र नियमनका लागि मन्त्रालय, विभाग तथा सम्बन्धित निकायहरूबीच संस्थागत समन्वयलाई अघि बढाइएको छ । वेलनेस पर्यटनमा गुणस्तरीय सेवा सुनिश्चित गर्न एकीकृत नीतिगत प्रयास आवश्यक रहेको उनले उल्लेख गरे । लामिछानेले पर्यटन प्रवर्द्धनमा ‘स्टोरी टेलिङ’ र ‘एक्सपिरियन्स डिजाइनिङ’ जस्ता अवधारणाको महत्त्व बढ्दै गएको बताउँदै ‘नेपाल नै किन ?’ भन्ने प्रश्नको उत्तर देशको जीवनशैली र सांस्कृतिक मूल्यमान्यतामै खोज्नुपर्ने धारणा राखे । उनले आगामी वेलनेस वर्षको सन्दर्भमा खप्तड वा रामारोसन जस्ता विशिष्ट गन्तव्यलाई छनोट गरी ‘वेलनेस हब’ वा मोडेल केन्द्रको रूपमा विकास गर्नुपर्ने प्रस्ताव पनि अघि सारेको बताएका छन् । यस्तो केन्द्रले दीर्घकालीन प्रभाव सिर्जना गर्दै नेपालको आतिथ्य क्षेत्रमा नयाँ मूल्य थप्ने उनको भनाइ छ ।