अप्रिलमा एक लाख सात हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं ।  सन् २०२६ को अप्रिल महिनामा एक लाख सात हजार ९३४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।  नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गतवर्षको अप्रिलमा एक लाख १६ हजार ४९० पर्यटक नेपालमा भित्रिएका थिए । पश्चिम एसियामा जारी द्वन्द्वका कारण यसवर्ष पर्यटक आगमनमा कमी आएको हो । बोर्डका अनुसार दक्षिण एसिया (सार्क) क्षेत्र बाट सबैभन्दा बढी ३३ हजार ४३२ पर्यटक भित्रिएका छन् ।  नेपाल आउने पर्यटकमा सैबभन्दा बढी भारतबाट १५ हजार १९६ र दोस्रोमा चीनबाट ११ हजार ७२२ पर्यटक रहेका छन् । 

जनकपुरमा २ अर्बको लगानीमा ५ तारे होटल बन्ने, पूर्वबैंकर ढुंगानाको पनि व्यावसायिक साझेदारी

काठमाडौं । पूर्वबैंकर ज्ञानेन्द्रप्रसाद ढुंगानासहितको लगानीमा जनकपुरधाममा पहिलो पटक पाँच तारे होटल निर्माण हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष रामेश्वर शाहको नेतृत्वमा रहेको ‘मिथिला हस्पिटालिटी’ अन्तर्गत यो नयाँ परियोजना अघि बढाइएको हो ।  चितवनमा रोयल टुलिप रिसोर्ट सञ्चालनमा ल्याएको ८ महिनाको छोटो अवधिमै शाहले यस महत्वाकांक्षी परियोजनाको घोषणा गरेका हुन्, जसमा पूर्वबैंकर ढुंगानासँगै व्यवसायीहरू काजी लामा, सुदीप कुमार चौधरी र उदयकान्त झाको समेत व्यावसायिक साझेदारी रहनेछ । जनकपुरमा अन्तर्राष्ट्रिय स्तरको स्तरीय आवास सुविधाको अभावलाई पूर्ति गर्ने लक्ष्यका साथ निर्माण हुन लागेको यस होटलको आज एक विशेष समारोहका बीच भूमि पूजन सम्पन्न भएको छ ।  मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यतामा भूमि पूजन कार्यक्रम सम्पन्न भएसँगै यसको निर्माण कार्य औपचारिक रूपमा अघि बढेको हो ।  कुल २ अर्ब रुपैयाँ लगानी हुने यस होटलको निर्माण कार्य ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने आगामी २०८६ साल वैशाखसम्ममा यसलाई सञ्चालनमा ल्याइनेछ । साढे २ बिघाभन्दा बढी (करिब २ लाख वर्गफिट) जग्गामा फैलिने यस होटलको कुल निर्मित क्षेत्रफल १ लाख २० हजार वर्गफिट रहने जनाइएको छ । होटलमा ८ वटा विलासी सुइटसहित कुल १२४ कोठा र ३७२ बेडको अत्याधुनिक व्यवस्था हुनेछ । यसका साथै उच्चस्तरीय रेस्टुरेन्ट, लाइभ किचन, क्याफे लाउन्ज, लाइभ म्युजिकसहितको सांगीतिक बार, रूफटप पूल बार, स्वीमिङ पुल, अत्याधुनिक स्पा, हेल्थ क्लब, टेनिस कोर्ट र एम्फीथिएटरका साथै ठूला सभा तथा बैंक्वेट हल, व्यापार केन्द्र र क्यासिनो जस्ता सुविधा सम्पन्न संरचनाहरू यसभित्र रहनेछन् । होटलले मुख्यतया माता जानकी मन्दिर र रामायण सर्किटमा आउने धार्मिक पर्यटक, सामान्य आगन्तुक, जनकपुरमा हुने ठूला विवाह महोत्सवका सहभागीहरू र व्यावसायिक सभा–सम्मेलनका प्रतिनिधिहरूलाई उच्चस्तरीय सेवा दिने लक्ष्य राखेको छ ।

वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगममा रिक्त पाँच सञ्चालक समिति सदस्य पदका लागि सूचना आव्हान गरेको छ ।      मन्त्रालयले यही वैशाख १२ गते नेपाल वायुसेवा निगममा रिक्त चार जना सञ्चालक समिति सदस्य नियुक्तका लागि गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गरेको थियो । सो सूचनाअनुसार दरखास्त सङ्कलन गरिरहेकै बेला यही वैशाख १९ गते जारी सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ बमोजिम बाँकी एक जना सञ्चालक समिति सदस्य पनि स्वतः पदमुक्त भएकाले रिक्त सदस्य सङ्ख्या पाँच कायम गरिएको छ ।      मन्त्रालयका सहसचिव एवं प्रवक्ता जयनारायण आचार्यका अनुसार उक्त रिक्त पदसमेत थप गरी सोही विज्ञापनका आधार कायम रहने गरी नियुक्त गर्नुपर्ने सञ्चालक समिति सदस्यको सङ्ख्या पाँच कायम गरिएको हो ।