हिमालय एयरलाइन्सको काठमाडौं–साङ्घाई उडान

काठमाडौं । हिमालय एयरलाइन्सले चीनको साङ्घाई सहरमा सिधा उडान सुरु गरेको छ । एयरलाइन्सले चीनको ठूलो सहर साङ्घाईमा आजदेखि नियमित उडान प्रारम्भ गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ९ः२० बजे एक सय ३७ यात्रुसहितको हिमालयको जहाज साङ्घाई उडेको हो । उक्त जहाज साङ्घाईबाट यात्रु लिएर आज राति नौ बजे काठमाडौं विमानस्थलमा अवतरण गर्ने एयरलाइन्सले जनाएको छ । काठमाडौं–साङघाई उडान ५ घण्टा २० मिनेटको हुनेछ । हरेक शनिबार बिहान नियमित उडान हुने कम्पनीले जनाएको छ । साङ्घाईमा हिमालय एयरलाइन्सको यो पहिलो उडान हो । योसहित कम्पनीले चीनको राजधानी बेइजिङसहित विभिन्न नौ सहरमा उडान विस्तार गरेको छ । उद्घाटन उडानबारे जानकारी दिन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चीनको मूख्य व्यापारिक र पर्यटकीय सहरमा सिधा उडानले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउनुका साथै बढी भन्दा बढी चिनियाँ पर्यटक नेपाल आकर्षण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले नेपाल–चीन सम्बन्धलाई थप उचाइमा लैजान, व्यावसायिक साझेदारी बढोत्तरीका साथै चिनियाँ पर्यटक भित्र्याउन काठमाडौं–साङ्घाई हवाई सम्पर्क सञ्जालले टेवा पुग्नेमा विश्वास व्यक्त गरे । उपाध्यक्ष श्रेष्ठले कोभिड–१९ पछि नेपालमा चिनियाँ उडान बढेको, सीमा नाकाहरु खुलेकाले आगामी दिनमा उडान बढ्ने र पर्यटक आगमनमा पनि बढोत्तरी हुने बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले कोभिड महामारीपछि चीनबाट क्रमशः उडान विस्तार भइरहेकाले आगामी दिनमा चिनियाँ पर्यटक बढ्ने विश्वास व्यक्त गरे । उनले पछिल्लो समय काठमाडौं विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ दैनिक एक सयभन्दा बढी उडानमार्फत करिब १५ हजार यात्रु आवत(जावत गरिरहेको जानकारी दिए । नेपालका लागि चिनियाँ राजदूताबासका आर्थिक तथा वाणिज्य कन्सुलर छि यूले साङ्घाई–काठमाडौंमा हिमालय एयरलाइन्सको उडानले दुई देशबीचको सम्बन्ध बलियो हुनुका साथै व्यापारिक दृष्टिले पनि महत्वपूर्ण भएको बताए । साङ्घाई जनवादी गणतन्त्र चीनको ठूलो सहरमध्ये एक हो । करिब ४० मिलियन जनसङ्ख्या रहेको साङ्घाई चीनको उद्योग कलकारखानाको राजधानीका रुपमा पनि कहलिएको छ । यो चीनको मूख्य व्यापारिक केन्द्र पनि मानिन्छ ।

ग्राउन्ड ह्यान्डिलिङमा नेपाल एयरलाइन्सको एकाधिकार तोडियो, अब प्रतिस्पर्धामा छनोट हुनुपर्ने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले ग्राउन्ड ह्यान्डिलिङ सेवामा पाएको एकाधिकार तोडिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२्) बमोजिम भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाका माध्यमबाट छनोट भएको संस्थामार्फत गराउने निर्णय गरेसँगै नेपाल एयरलाइन्सको एकाधिकार तोडिएको हो । हालसम्म नेपाल एयरलाइन्सले बिना प्रतिस्पर्धा यो सेवा लिइरहेको थियो । प्राधिकरणको नयाँ नियमावली अनुसार अब प्रतिस्पर्धामा छनोट हुनेले मात्रै यो सेवा पाउने छन् ।

११ महिनामा भित्रिए नौ लाखभन्दा बढी पर्यटक, नोभेम्बरमा मात्रै एक लाख बढी (कहाँबाट कति ?)

काठमाडौं । सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि नोभेम्बरसम्म नौ लाख १८ हजार तीन सय आठ नेपाल आएका हुन् । नोभेम्बरमा मात्रै एक लाख आठ हजार छ सय ३० विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो महिना अक्टोबरमा हालसम्मकै बढी एक लाख १७ हजार तीन सय छ पर्यटक नेपाल भित्रिएका थिए । पर्यटक आगमनको पछिल्लो आँकडाले यो वर्ष सरकारको लक्ष्य पूरा हुने सङ्केत देखिएको छ । सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । बोर्डका निर्देशक मणिराज लामिछानेले पर्यटक आगमन निरन्तर बढिरहेकाले लक्ष्यमा पुग्न सहज हुने उल्लेख गरे । उनले भने, ‘एघार महिनामा नौ लाख १८ हजार बढी पर्यटक आएका छन् । १० लाखको लक्ष्य करिब पुग्न लाग्यो ।’ पर्यटक आगमनको मुख्य स्रोतबजार छिमेकी मुलुक भारत, चीन तथा संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, श्रीलङ्का, बङ्गलादेश रहेको बोर्डले जनाएको छ । नोभेम्बरमा कुल पर्यटक आगमनमध्ये २० प्रतिशत भारतबाट आएका छन् । सो  अवधिमा भारतबाट हवाईमार्ग भएर २४ हजार चार सय ४३ जना पर्यटक नेपाल आएका छन् । संयुक्त राज्य अमेरिकाबाट ११ हजार चार सय ६१ जना नेपाल आउँदै गर्दा अर्को छिमेकी मुलुक चीनबाट सात हजार छ सय एक, बेलायतबाट छ हजार एक सय ३८, अष्ट्रेलियाबाट पाँच हजार ६०, थाइल्याण्डबाट तीन हजार सात सय ६१, जर्मनीबाट तीन हजार पाँच सय १२, श्रीलङ्काबाट तीन हजार दुई सय २८ र फ्रान्सबाट तीन हजार दुई सय पाँचजना पर्यटक भित्रिएका छन् । रासस