हिमाल आरोहण अनुभवको लागि ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’, ४० हजारमै पुग्न सकिने
काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा रहेका थुप्रै आकर्षक गन्तव्यहरूको बीचमा भर्खरै उदाएको नयाँ नाम हो, ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ । राजधानी काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको जुगल हिमशृङ्खला उत्कृष्ट पर्यटकीय सम्भावना बोकेको क्षेत्र भए पनि पर्याप्त प्रचारप्रसारको अभावमा अहिलेसम्म ओझेलमा पर्दै आएको छ । हालै जुगल गाउँपालिकाले यस गन्तव्यलाई आन्तरिक तथा विदेशी पर्यटकमाझ परिचित गराउन पहल थालेको छ। गाउँपालिकाको विशेष आयोजनामा जुगल गाउँपालिका पर्यटन विकास समितिको अगुवाइमा सञ्चालित अध्ययन तथा अन्वेषण परियोजनाअन्तर्गत वैशाख ३ गते जुगल हिमशृङ्खलाभित्रका विभिन्न चुचुरामध्ये ५ हजार ५७० मिटर उचाइको नयाँ ट्रेकिङ पिकको सफल आरोहण सम्पन्न गरिएको हो । गाउँपालिकाले उक्त पिकलाई ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ नामाकरणसमेत गरेको छ । पर्यटकीय सम्भावना बोकेको भएपनि लामो समयदेखि ओझेलमा रहेको जुगल क्षेत्रलाई विश्वव्यापी पर्यटन मानचित्रमा स्थापित गर्ने उद्देश्यका साथ सञ्चालित यस अभियानले नेपालको साहसिक पर्यटनमा नयाँ आयाम थप्ने विश्वास गाउँपालिकाले लिएको छ । पालिकाका अनुसार स्थानीय समुदायको आर्थिक विकासमा समेत कोशेढुङ्गा सावित हुनेछ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरवराज केसीले जुगल गाउँपालिका एक प्रशासनिक भूगोल मात्र नभई यो पर्यटकको सम्भावनाको खानी भएको उल्लेख गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत केसीले जुगल हिमाल र यस वरपर रहेको पर्यटकीय स्थलहरूलाई नेपाल साथै विश्व माझ चिनाउनु पालिको प्रमुख उद्देश्य र दायित्व रहेको औंल्याए । ‘जुगल हिमाललाई प्रवर्द्धन गर्ने सिलसिलमा हामीले अध्ययन तथा अन्वेषणबाट एउटा विन्दुको पहिचान गरेका छौं,’ केसीले भने, ‘जहाँबाट विश्वको सर्वोच्च शिखरसहित ८ हजारमाथिका अन्य दर्जनौं हिमशृंखलाहरूको निकै नजिक र स्पष्ट रुपबाट अवलोकन गर्न सकिन्छ ।’ उनका अनुसार जुगल एभरेष्ट भ्यु प्वाइन्टबाट सगरमाथा, चोयु, मकालु, लोत्सेसहितका दर्जनौैं हिम शृंखलाहरूको निकै नजिक र स्पष्ट रूपबाट अवलोकन गर्न सकिन्छ । हिमाल चढ्न चाहने तर महँगो खर्चका कारण त्यो सपना पूरा गर्न नसकेका नेपालीहरूका लागि यो पिक उत्कृष्ट गन्तव्य बन्न सक्ने उनले बताए । न्यून लागत र समयको बचत हिमाल आरोहण सामान्यतया : महँगो हुने भएकाले धेरै जना नेपालीले चाहँदा चाहँदै पनि अवसर पाउन सकेका छैनन् । यही कारण विदेशीको तुलनामा नेपाली आरोहीको संख्या कम छ । तर, गाउँपालिकाको पर्यटन समितिका संयोजक तथा अभियानकर्ता मिलन तामाङका अनुसार ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ पिक न्यून बजेटमै आरोहण गर्न सकिने भएकाले यो नेपालीहरूका लागि सहज विकल्प बन्न सक्छ । जुगल पिक आरोहणका लागि गाउँपालिकाले पर्यटन व्यवसायीहरूसँगको छलफलपछि न्यूनतम लागत निर्धारण गरेको उनले बताए । उनका अनुसार विदेशी पर्यटकका लागि करिब एक हजार अमेरिकी डलर र नेपालीका लागि झन्डै ४० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यसका साथै पर्यटन विभागसँग समन्वय गरेर परमिट उपलब्ध गराउने तथा सफल आरोहीहरूलाई प्रमाणपत्र प्रदान गर्ने योजना पनि अघि सारिएको तामाङले जानकारी दिए । अर्को विशेषता भनेको यसको छोटो समयमै सम्पन्न गर्न सकिने रहेको छ । विशेषगरी सीमित समयका लागि नेपाल आउने विदेशी पर्यटकहरू विशेषगरी कोरियन पर्यटकका लागि यो पिक आकर्षक विकल्प बन्न सक्छ । उनका अनुसार ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ आन्तरिक तथा विदेशी दुवै पर्यटकका लागि ‘गेम चेञ्जर’ सावित हुन सक्ने सम्भावना छ । राजधानी काठमाडौँ बाट सहज पहुँच भएकाले यहाँ पुगेर ५ देखि ७ दिनभित्रै हिमाल आरोहण गरी फर्कन सकिने उनले बताए । तालिम नलिई पनि आरोहण गर्न सकिने सहज र सुरक्षित आरोहण यो पिकको सबैभन्दा ठुलो विशेषता हो । कुनै विशेष प्राविधिक कठिनाइ र जटिल उपकरणको आवश्यकता नपर्ने भएकाले सामान्य शारीरिक तन्दुरुस्ती भएका जो–कोही पर्यटक वा पदयात्रीले पनि यसको सहजै र सुरक्षित आरोहण गर्न सक्ने पर्यटन समितिका संयोजक तामाङले बताए । ‘आरोहण गर्दा कतै पनि डोरीमा झुण्डिनु वा विशेष प्राविधिक उपकरण खासै प्रयोग गर्नुपर्दैन,’ तामाङले भने, ‘सामान्य जुत्ता र लौरोको भरमा शिखरमा पुग्न सकिन्छ ।’ वैशाख ३ गते नयाँ ट्रेकिङ पिक जुगल एभरेष्ट भ्यु प्वाइन्टको सफल आरोहण गर्ने टोलीमध्येमा तामाङ पनि एक हुन् । उनका अनुसार आरोही टोलीमा फरक–फरक अनुभव भएका उनीसहित चारजना व्यक्तिहरू सहभागी थिए । आरोही टोलीमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड होल्डर लाक्पा डेनी शेर्पा थिए । उनीसँग धेरैपटक ८ हजार भन्दा माथिका थुप्रै हिमाल चढिसकेको अनुभव छ । त्यस्तै, निङ्मा वाङचु शेर्पा, उनी १५ वर्षका विद्यार्थी हुन् । जसले जसले यसअघि कुनै हिमाल चढेका वा तालिम लिएका थिएनन् । त्यस्तै, जुगल हिमालकै काखमा जन्मिएका ५० वर्षीय स्थानीय प्रेम शेर्पाले पनि औपचारिक तालिम अहिलेसम्म नलिएको तामाङले बताए । विद्यमान चुनौतीहरू जुगल एभरेष्ट भ्यु प्वाइन्ट काठमाडौंबाट नजिक र हिमाल आरोहण गर्न चाहने पर्यटकको रोजाइमा पर्न सक्ने उच्च सम्भावना भए पनि यससँग केही चुनौतीहरू पनि जोडिएका छन् । गाउँपालिकाका अनुसार गन्तव्यको प्रवर्द्धनसँगै सुरक्षाका पक्षमा ध्यान दिनु आवश्यक छ । गाउँपालिकाको पर्यटन समितिका संयोजक तामाङका अनुसार पेमछालबाट बेसक्याम्प जाने बाटो केही प्राविधिक प्रकृतिको छ, जहाँ कतिपय स्थानमा डोरीको प्रयोग आवश्यक पर्न सक्छ । त्यस्तै, मौसम खराब हुँदा मार्गमा खाल्डाखुल्डी बढ्ने भएकाले यात्रा केही जोखिमपूर्ण बन्ने सम्भावना पनि रहेको उनले बताए । अर्को चुनौती त्यहाँ सञ्चार सम्पर्क छैन । मोबाइल नेटवर्क नचल्ने भएकाले बाहिरी संसारसँग सम्पर्क विच्छेद हुन्छ । यसलाई एकातिर सकारात्मक रूपमा लिन सकिने भएपनि अर्कोतर्फ कुनै आकस्मिक घटना घटेको खण्डमा सञ्चार गर्न समस्या हुन सक्छ । दक्ष जनशक्तिको अभाव यहाँको अर्को प्रमुख समस्या भनेको दक्ष जनशक्तिको रहेको गाउँपालिकाको धारणा छ । गाउँपालिकाले पछिल्लो पटक चौतारा नगरपालिका र पाँचपोखरीसँग मिलेर संयुक्त पदमार्गहरू बनाउने विषयमा पनि छलफल भएको बताए । साथै दक्ष जनशक्तिका लागि ट्रेकिङ गाइड तालिमहरू पनि सञ्चालन गर्ने तयारी गरिरहेको तामाङले जानकारी दिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केसीले ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’को महत्व केवल दृश्य अवलोकनमा सीमित नभई जुगल क्षेत्रको आर्थिक समृद्धिसँग जोडिएको बताए । उनका अनुसार यो गन्तव्य युवाहरूका लागि रोजगारी सिर्जना गर्ने केन्द्र, पदयात्रा सौखिनहरूका लागि नयाँ आकर्षण तथा सरकारको पर्यटन दशक अभियानमा महत्त्वपूर्ण योगदान पुर्याउने आधार बन्न सक्छ । जुगल हिमालको प्रवर्द्धनका लागि नेपाल सरकार, प्रदेश सरकार, जुगल गाउँपालिका तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा विगतदेखि नै विभिन्न पूर्वाधार विकासका काम हुँदै आएका छन् र आगामी दिनमा थप पूर्वाधार विस्तारका लागि समेत सहयोगको अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।
पूर्वाधार कमजोर हुँदा ‘बाह्रै महिना’ पर्यटकीय गन्तव्य बन्न सकेन
काठमाडौं । काठमाडौं पर्यटनको प्रचुर सम्भावना र पूर्वाधार विकास हुँदै गए पनि बाह्रै महिनाको गन्तव्य बन्न नसकेको अर्थमन्त्री डा. श्वर्णिम वाग्लेले बताएका छन् । सोमबार वाग्लेले सार्वजनिक गरिएको मुलुकको पछिल्लो आर्थिक अवस्थालाई समेटेर ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ (श्वेतपत्र) मा सो कुरा उल्लेख गरेका हुन् । नेपालको आर्थिक समृद्धिको बलियो आधार मानिएको पर्यटन क्षेत्र अतुलनीय प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाका कारण विश्वकै प्रमुख आकर्षणमध्ये एक हो । श्वेतपत्रअनुसार सन् २०२५ मा करिब ११ लाख ५८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने उनीहरूको औसत बसाइ अवधि १६.३४ दिन पुगेको छ । यसले पर्यटन क्षेत्रमा उत्साहजनक सुधारको संकेत गरेको वाग्लेले बताएका छन् । पर्यटक आगमनसँगै होटल तथा आतिथ्य क्षेत्रको पूर्वाधारमा उल्लेखनीय विस्तार भएको छ । हाल नेपालमा २२२ तारे होटलसहित १६ सयभन्दा बढी पर्यटकीय स्तरका होटल सञ्चालनमा छन्, जसको दैनिक क्षमता ६४ हजारभन्दा बढी शय्या रहेको छ । तर, यति सम्भावना र लगानी हुँदाहुँदै पनि कमजोर हवाई तथा सडक पूर्वाधार, नयाँ बनेका अन्तर्राष्ट्रिय विमान स्थलहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसक्नु र राष्ट्रिय ध्वजावाहकको कमजोर सेवा जस्ता कारणले पर्यटन क्षेत्रले अपेक्षित लाभ लिन नसकेको श्वेतपत्रमा उल्लेख छ । गुणस्तरीय पर्यटक भित्र्याउन हवाई कनेक्टिभिटी विस्तार, पूर्वाधार सुधार र डिजिटल प्रवद्र्धनलाई प्राथमिकतामा राख्नुपर्ने श्वेतपत्रमा भनिएको छ । साथै, गैरआवासीय नेपाली सञ्जाललाई प्रभावकारी रूपमा उपयोग गर्दै नेपाललाई ‘बाह्रै महिना घुम्न मिल्ने’, सुरक्षित र आकर्षक गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
दिल्लीमा नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम सुरु हुँदै
काठमाडौं । होटल संघ नेपालले भोलिदेखि भारतको नयाँ दिल्लीमा नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाल र भारतका प्रमुख पर्यटन व्यवसायीहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले विशेषगरी गर्मीयाममा भारतीय पर्यटकहरूको आगमन वृद्धि गर्ने लक्ष्य राखेको छ । हानका अध्यक्ष विनायक शाहको नेतृत्वमा ६५ सदस्यीय नेपाली होटल प्रतिनिधिमण्डल कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । प्रतिनिधिमण्डलले अप्रिल २८ मा 'नेपाल-वैवाहिक गन्तव्य' तथा अप्रिल २९ मा 'नेपाल – तपाईंको नजिक, कल्पनाभन्दा उत्कृष्ट बिदा गन्तव्य' शीर्षकका कार्यक्रमहरूमा भाग लिनेछ । यस प्रतिनिधिमण्डलमा हानका पदाधिकारी, बोर्ड सदस्य तथा देशभरका सदस्य होटलहरूको सहभागिता रहने छ उक्त नेपाल प्रवद्र्धनात्मक कार्यक्रम दिल्लीस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको सहयोग रहेको छ । तीन दिने कार्यक्रम अवधिभर नेपाली टोलीले भारतीय समकक्षीसँग बी–टु–बी भेटघाट गर्नुका साथै 'नेपाल पर्यटन साँझ' मा पनि सहभागिता जनाउनेछन् । उक्त कार्यक्रममा होटल एसोसीएसन अफ इन्डिया, फडिरेसन अफ होटल एन्ड रेष्टुरेन्ट एसौसिएसन अफ इन्डिया टाइफ ट्राभल एजेन्ट एसोसिएसन अफ इन्डियाका वरिष्ठ प्रतिनिधिहरूको उपस्थिति रहनेछ । कार्यक्रममार्फत हानका सदस्य होटलहरूले भारतीय परिवार, समूह पर्यटक, तीर्थयात्री, नवविवाहित जोडी, हनिमुन यात्रु, कर्पोरेट ग्राहक तथा प्रकृति, संस्कृति र साहसिक पर्यटनमा रुचि राख्ने पर्यटकहरूलाई लक्षित विशेष प्याकेजहरू सार्वजनिक गर्नेछन् । यसैबीच, मध्यपूर्व संकटका कारण उडान अवरुद्ध हुनु र हवाई भाडा वृद्धि भएको सन्दर्भमा छिमेकी नेपालमा भारतीय पर्यटकको आगमन उल्लेखनीय रूपमा बढ्ने अपेक्षा होटल संघ नेपालले गरेको छ ।