पर्यटनमा नयाँ गन्तव्य : पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन
काठमाडौं । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन । नेपालगञ्जको सिद्धार्थ होटलमा अघिल्लो दिन नै आएका अधिकांश भारतीय पर्यटक नित्यकर्म सकेर तयार भइसकेका थिए । कैलाश पर्वत दर्शन गर्न जानुअघि उनीहरुले नजिकैको जय बागेश्वरी मन्दिरमा सामूहिक दर्शन गरे । त्यसपछि उनीहरु सवार बस विमानस्थलतर्फ लाग्यो । विमानमार्फत आकाशबाटै तिब्बतमा रहेको कैलाश पर्वतको दर्शन गर्न जाँदै थिए । विमानमा चढ्दै गर्दा भारतीय पर्यटकको अनुहारमा साक्षात कैलाश पर्वत र मानसरोवर ताल आँखै अगाडि हेर्न पाउने उत्कट चाहना झल्कन्थ्यो । हिन्दु धर्ममा कैलाश पर्वतलाई महादेवको घर मानिन्छ । महादेव बस्ने ठाउँ हेर्ने अभिलासाले तिर्थयात्रीहरुको अनुहार उज्यालिएको थियो । ‘विमानले जसै ‘टेकअफ’ गरी उत्तरतर्फ उचाइ बढाउँदै गयो, यात्रीहरुको मनमा कौतुहलता बढ्दै गरेको प्रस्ट देखिन्थ्यो । झण्डै ३० मिनेटको उडानपछि विमान नेपाल–चीनको सीमा नजिकै पुग्यो’, पर्वतीय उडानबाट फर्केपछि पथिल होलिडेजका प्रबन्ध निर्देशक महेश गौतमले भने । विमानको झ्यालबाट एकोहोरो आँखा दौडाइरहेका यात्रुहरुले दुई हात जोडेर नमस्कार गरे । उनीहरुका आँखै अगाडि महादेवको घर अर्थात् कैलाश पर्वत बिराजमान थियो । उनीहरु मानसरोवर ताल हेरेर आपसमा केही कुराकानी पनि गरे । यत्तिकैमा विमानमा रहेका पण्डितले यात्रुहरुको ध्यानाकर्षण गराए । सबैलाई कैलाशतर्फ फर्किएर हात जोड्न लगाउँदै मन्त्रोचारण गर्दै विमानभित्रैबाट पूजा सुरु गरे । सामान्य पूजा सकाएपछि उनले कैलाश पर्वत र मानसरोवर तालको धार्मिक महत्व, आस्था र इतिहासबारे जानकारी गराउन थाले । महादेवको बासस्थान आँखै अगाडि हेर्न पाउँदा हर्षविभोर उनीहरु पण्डितले बताएका हरेक विषयमा चासोपूर्ण सुनिरहेका थिए । विमानले तीनरचार फन्को लगाइसकेको थियो । कैलाशलाई साक्षात दर्शन गर्न पाउँदाको खुसी यात्रुहरुहरुको आँखाबाट छल्किरहेको थियो । कोही आँखाभरी खुसीका आशु बगाउँदै एकोहोरो कैलाश हेरिरहेका थिए भने केहीले मौन मुद्रामा रुद्राक्षको माला घुमाउँदै जप सुरु गरिरहेका थिए । सिद्धार्थ हस्पिटालिटी ग्रुपका क्षेत्रीय निर्देशक केशब न्यौपानेको परिकल्पना, पथिल होलिडेजको व्यवस्थापन र नयाँ दिल्लीस्थित ट्राभल कम्पनी ‘ट्रिप टु टेम्पल्स’सँगको समन्वयमा श्री एयरलाइन्सको विमानमार्फत पर्यटकलाई पर्वतीय उडान गराउँदै आइएको छ । यात्रीहरुको आवासीय प्रवन्ध सिद्धार्थ हस्पिटालिटीले गर्दै आएको छ । बुधबार रामनमवीको दिन कैलाश दर्शनका लागि सात वटा माउन्टेन फ्लाइट (पर्वतीय उडान) भयो । जसमा आठ जना नेपाली र दुई सय ३४ भारतीय पर्यटकले कैलाश पर्वतको दर्शन गरेका थिए । कैलाश पर्वत दर्शनपछि उनीहरुले नेपालगञ्ज फर्केर रुद्राभिषेक पूजा समेत गरेका थिए । पथिल होलिडेजले नयाँ गन्तव्यका रुपमा यो पर्वतीय उडानलाई स्थापित गर्न भारतीय बजारमा सक्दो बजारीकरण गरिरहेको न्यौपानेको भनाइ छ । ‘हाम्रा लागि भारत ठूलो बजार हो, हामीले भरतका विभिन्न सहरबाट यहाँ ल्याएर माउण्टेन फ्लाइटमार्फत कैलाश पर्वतको दर्शन गराउँछौँ’ न्यौपानेले भने ‘तिर्थयात्रीहरुलाई दुइतर्फी यातायात, खान, बस्न र हवाई उडानका लागि एउटै प्याकेजमा बनाएर यात्रा सहज बनाइरहेका छौँ ।’ भारतको कलकत्ताबाट कैलाश दर्शन गर्न मङ्गलबार साँझपख नेपालगञ्ज आइपुगेकी सञ्चिता गाङ्गुलीले यो आफ्नो जीवनको महत्वपूर्ण पल भएको बताए । ‘हामी यहाँ योजना बनाएर आएका थिएनौँ, सायद महादेवको ‘ब्लेसिङ’ थियो होला, हाम्रो यो पारिवारिक ‘ट्रिप’ निकै राम्रो भयो’, उनले भने । उनले बादल पनि नभएकाले कैलाश पर्वत र दुवै ताल स्पष्ट हेर्न पाएकोमा आफूलाई निकै भाग्यमानी ठानेको सुनाए । पछिल्ला केही वर्षयता भारतीयहरु भिसाको समस्याका कारण कैलाश मानसरोवर दर्शन गर्न जान पाएका छैनन् । भिसा, समय तथा स्वास्थ्यको समस्या हुनेलाई पर्वतीय उडानमार्फतको कैलाश पर्वतको दर्शन सबैभन्दा उपयुक्त विकल्प भएको भारतको बैंगलोरबाट आउनुभएका ८० वर्षे विशाल कुँवरले बताए । कैशाल पर्वत दर्शन गरेर आफू निकै धन्य भएको दिल्लीबाट आउनुभएका विनोद शर्माले सुनाए । उनले भने, ‘जीवनमा यति सहज ढङ्गले कैलाश पर्वतको दर्शन गर्न पाउँछु भनेर कल्पना पनि गरेको थिइँन । म यो खुसीको बयान गर्न निशब्द छु ।’ उनले आफ्नो ‘बकेट लिस्ट’को एउटा योजना पूरा भएको बताए । आफूहरु कैलाश दर्शन गरेर सिद्धार्थ होटलमा आइपुग्दा रुद्राक्षको माला र प्रसादले स्वागत गरेको पल बिर्सन नसक्ने भन्दै उनले भोले बाबाको आशीर्वाद पाएको महसुस भएको सुनाए । गत माघदेखि नेपालगञ्जबाट कैलाश पर्वत दर्शनका लागि सुरु गरेको पर्वतीय उडानमार्फत हालसम्म पाँच सयभन्दा बढी भारतीय नागरिकले कैलाश पर्वतको दर्शन गरिसकेका छन् । साथै यही वैशाख १० गतेका लागि करिब दुई सय भारतीय नागरिकले बुकिङ गरिसकेको पथिल होलिडेजले बताएको छ । उद्योग वाणिज्य सङ्घ बाँकेका अध्यक्ष टङ्क धामीले नेपालगञ्जमा नयाँ पर्यटकीय गन्तव्यका रुपमा माउन्टेन फ्लाइट भएका भन्दै यसमार्फत यहाँको पर्यटन चलायमान हुन सहज भएको उल्लेख गरे । उनले यसले पर्यटकको आगमन र त्यसबाट हुने आम्दानी बढाएको बताए । रासस
मनकामना केबलकार शुक्रबार बन्द हुने
नारायणगढ । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले यही वैशाख ७ गते शुक्रबारका दिन केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । सेवा शनिबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारबाट गोरखाको सहिदलखन गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिर जाने भक्तजनको सहजताका लागि विसं २०५५ मा उक्त केबलकार सञ्चालनमा ल्याइएको हो ।
पर्यटकको रोजाइमा कोटदरबार, केबुलकार निर्माणका लागि ५ करोड विनियोजन
मान्म । कालीकोटको खाँडाचक्र नगरपालिका–१ मान्मस्थित कोटदरबार आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । सदरमुकाम मान्म बजारबाट दुई किलोमिटर टाढा रहेको कोटदरबार क्षेत्रबाट जिल्लाभरको दृश्य अवलोकन गर्न पाइने भएकाले आन्तरिक पर्यटकको रोजाइमा परेको हो । कोटदरबार क्षेत्र अग्लो स्थानमा रहेकाले दैलेखको पश्चिम र अछामको पूर्वी भागका साथै कालिकोटको अधिकांश भू–भागको अवलोकन गर्न पाइने भएकाले आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको खाँडाचक्र–१ का वडाध्यक्ष धर्मराज ताम्राकारले बताए । सदरमुकामबाट नजिकै भएकाले स्थानीय बिहान मर्निङ वाक गर्न तथा बेलुका आरामका लागि पनि यहाँ पुग्ने गरेका उनको भनाइ छ । वडाध्यक्ष ताम्राकारले, ‘सदरमुकाम बस्ने कर्मचारी, व्यापारी र स्थानीय जिल्लाको दृश्य अवलोकन गर्न तथा आराम गर्न यहाँ आउने गरेका छन् । बिदाका दिन तथा चाडपर्वमा यो क्षेत्र आन्तरिक पर्यटकले भरिभराउ हुने गर्छ ।’ स्थानीय तथा प्रदेश सरकारबाट कोटदरबार क्षेत्रमा पर्यटकीयस्थल संरक्षणका लागि ग्याबिन तार, तीन वटा प्रतिक्षालय, खानेपानीको धारा र राजा मलय बम्मको सालिक राख्न आवश्यक पूर्वाधार निर्माणलगायत काम भइरहेको स्थानीयवासी नरेन्द्रबहादुर शाहीले बताए । ‘यस क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय र प्रदेश सरकारले केही रकम विनियोजन गरेर गोरेटो बाटो, प्रतिक्षालय, मन्दिर तथा अन्य संरचना नभएको थियो । ती संरचनाको संरक्षण नहुँदा जीर्ण बन्दै गएका छन्’, उनले भने । स्थानीय सरकारमा यसको संरक्षण र प्रवद्र्धनका लागि नीतिगत रुपमा काम गर्नु आवश्यक रहेको उनको भनाइ छ । नेपालमा बाइसे–चौबिसे राज्य हुँदा राजकाजका लागि प्रयोग भएको कोटदरबार क्षेत्र अहिले पर्यटकीय क्षेत्र बनेको पूर्वमान्म गाउँ विकास समितिका अध्यक्ष अजबहादुर शाहीले बताए । ‘यो दरबारमा विसं १३४४ सम्म मलय बम्मका सन्तानले दरबार बनाएर राज्य गरेका थिए’, उनले भने, ‘बम्मका सन्तानले पछि दरबार छोडेर गएसँगै यो भग्नावशेषमा परिणत भएको छ ।’ बाइसे–चौबिसे राज्यका राजाहरु अग्लो टाकुरामा बस्ने भएकाले कोटदरबार पनि त्यही ऐतिहासिकतासँग जोडिएको खाँडाचक्र–१ का प्रेमबहादुर शाहीले बताए । ‘यो दरबार क्षेत्रमा प्रवेश गर्दा रानी ढुङ्गा, कैदी राख्ने ठाउँ र घोडाबास छुट्टाछुट्टै स्थानमा देखिन्थ्यो’, उनले भने, ‘अहिले ती स्थानमा भग्नावशेष मात्रै देखिन्छ । संरक्षणका लागि केही प्रयास भए पनि सदुपयोग हुन सकेको छैन् ।’ नगरपालिकाले २४ लाखको लगानीमा कोटदरबारको घेराबार गरेको थियो । कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ५० लाख बजेट खर्च गरेर केही संरचना बनाएको भए पनि संरक्षणको अभावमा अहिले जीर्ण हुँदै गएको स्थानीय बजुरे खड्काले जानकारी दिए । ‘पहिले स्थानीय सरकारले संरक्षणका लागि केही रकम विनियोजन गरेर केही संरचना निर्माण भएका थिए’, उनले भने, ‘अहिले ती बनेका संरचना पनि भत्किने अवस्थामा पुगेका छन् । यहाँ नयाँ संरचना बनाउनुभन्दा पनि भएका संरचनाको संरक्षण गरी आन्तरिक पर्यटन प्रवद्र्धन गर्नु जरुरी छ ।’आन्तरिक पर्यटकको रोजाइमा परेको कोटदरबार क्षेत्रलाई ‘पर्यटकीय हब’का रुपमा विकास गर्न नगरपालिकाले गुरुयोजना तयार गरिरहेको नगरपालिकाका उपप्रमुख गणेशबहादुर शाहीले बताए । ‘स्थानीय र प्रदेश सरकारले यस क्षेत्रको पर्यटन विकासका लागि काम गर्दै आएको छ’, उनले भने, ‘यसका लागि हामीले गुरुयोजना तयार पारेर पर्यटकीय आकर्षणको केन्द्र बनाउने गरी काम गरिरहेका छौँ ।’ कोटदरबारबाट कोटबाँडाको सुनथराली विमानस्थल जोड्ने केवुलकार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको भन्दै केवुलकार बनेपछि यहाँ आन्तरिकका साथै बाह्य पर्यटकको आगमन पनि बढ्ने उपप्रमुख शाहीले बताए । ‘केबुलकार निर्माणका लागि प्रदेश सरकारले पाँच करोड रकम विनियोजन गरेको छ । कुन ‘मोडालिटी’मा बनाउने भन्ने विषय टुङ्गो नलागेकाले अहिले केबुलकारको काम अगाडि बढेको छैन्’, उनले भने, ‘केबुलकार बनेमा कोटदरबार क्षेत्र पर्यटकीय हबका रुपमा विकास हुँदै जानेछ । यसले यहाँका स्थानीयवासीको जीवनस्तर उकास्न पनि टेवा पुर्याउनेछ ।’ रासस