हायर मी नेपालकाे माेबाइल एप सञ्चालनमा, गुगल प्लेस्टोरबाट डाउनलोड गरी सजिलै रजिष्ट्रर्ड गर्न सकिने
काठमाडाैं । हायर मी नेपालले आज (असाेज १ गते)बाट मोबाईल एप औपचारीक रूपमा लन्च गरेको छ। व्यक्तिगत प्रयोगकर्तालाई विज्ञापनहरू हेर्न, कम्पनीमा सम्पर्क गर्न, सम्पर्क पछि अन्तरवार्ता गर्न तथा जब निर्धारण गर्न धेरै सजिलो हाेस् भन्ने उद्देश्यले संस्थाले उक्त एप लन्च गरी सञ्चालनमा ल्याएकाे हाे । जसकाे लागि उनीहरूले पहिले गुगल प्ले स्टोरबाट डाउनलोड गर्नुपर्ने हुन्छ । रोजगारदाता र रोजगारी खोज्नेलाई एउटै प्लेटफर्ममा सम्पर्क गराउने उद्देश्यले गत साउन १ गतेबाट हायरमी नेपालको अनलाईन बेबसाईट प्रारम्भ भएको थियो । दुई महिनाको अवधिमा रोजगारी दिने कम्पनी तथा रोजगारी खोज्ने व्यक्तिहरूबाट रजिष्ट्रेशनमा राम्रो रेस्पोन्स आएको संस्थाले जनाएकाे छ । रोजगारी खोज्नेहरूको लागि यो पोर्टलमा २४ किसिमको च्वाईस हुनेछ । चाहेको क्षेत्रमा रजिष्ट्रर्ड हुन सक्नेछन् । विभिन्न पत्र-पत्रिकामा प्रकाशित विज्ञापन हेर्न सक्नेछन् । कम्पनीहरूले सोझै राखेको विज्ञापनमा निवेदन दिन सक्नेछन् । क्षेत्र अनुसार कम्पनीहरूले उम्मेद्वारलाई सोझै सम्पर्क गर्न सक्नेछन् । अन्तरवार्ता लिन सक्ने सुविधा पनि उपलब्ध रहेको छ । कम्पनीका अनुसार अब छिट्टै जनशक्ति व्यवस्थापन तथा उम्मेद्वारले दिने अन्तरवार्तामा दक्ष बनाउने गरी आवश्यकता टिप्स र सामाग्री यसैबाट हेर्न सकिने गरी उपलब्ध गराइनेछ । यो डिजिटल प्लेटफर्म र एप निःशुल्क रूपमा प्रयोग गर्न सकिनेछ । कम्पनीले अबको दुई वर्षमा पाँच लाख व्यक्ति र कम्पनीलाई रजिष्टर्ड गर्न लगाई पचास हजारलाई रोजगारीको सुविधा उपलब्ध गराउने लक्ष्य लिएको छ । सम्बन्धित समाचारः रोजगारी दिने ‘हायर मी नेपाल’को साइट सञ्चालनमा, सित्तैमा रजिष्टर्ड गराउन सकिने ५० हजारलाई रोजगारी दिने कार्यक्रम गर्दै हायर मी नेपाल, साउनबाट सञ्चालन हुने
आइपीओ जारी गर्ने तयारीमा वर्ल्डलिंक
काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ । कम्पनी ऐनमा ५ करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएको दूरसंचार सेवा प्रदायक कम्पनीले पनि आइपीओ जारी गर्नै पर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार वर्ल्डलिंकले आइपीओ जारी गर्न लागेको हो । आइपीओ जारी गर्नको लागि प्रालिमा दर्ता भएको वर्ल्डलिंक पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । गत वर्ष नै कम्पनी पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएको अध्यक्ष दिलिप अग्रवालले जानकारी दिए । पब्लिकमा गएसँगै कम्पनीले आइपीओ जारी गर्ने गृहकार्य थालेको हो । आइपीओ जारी गर्नको लागि प्रक्रिया पूरा गर्न नै ३ वर्ष लाग्ने भएकोले सो अवधि भित्रमा आइपीओ जारी गरिसक्ने अध्यक्ष अग्रवालले जानकारी दिए । ‘आइपीओ जारी गर्नको लागि प्रक्रियागत कामहरु सुरु भएका छन्, गत वर्ष हामी पब्लिक कम्पनीमा रुपान्तरण भयौं, प्रक्रिया पूरा गर्न ३ वर्ष जति लाग्छ, सो अवधिभित्रमा वर्ल्डलिंकले आइपीओ जारी गर्छ,’ कम्पनीको २५औं वार्षिकोत्वसको अवसरमा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले भने । उनले कति रकम बराबरको आइपीओ जारी गर्न लागिएको भन्ने बारमा भने केही खुलाएनन् ।
२५औं वर्षमा वर्ल्डलिंकः एक तिहाई बजार ओघटेको दाबी
काठमाडौ । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंक कम्यूनिकेसनले मंगलबार आफ्नो २५औं वार्षिक उत्सव मनाएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले भर्चुअल कार्यक्रम मार्फत वार्षिक उत्सव सम्पन्न गरेको हो । कार्यक्रममा वर्ल्डलिंकले इन्टरनेट चलाउने प्रत्येक ३ जनामध्ये १ जना आफ्ना उपभोक्ता रहेको दाबी गरेको छ । कम्पनीको यो दाबी अनुसार उसको बजार हिस्सा एक तिहाई भएको देखिन्छ । कार्यक्रममा नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार विकट ठाउँमा इन्टरनेट सेवा विस्तारको लागि वर्ल्डलिंकले देखाएको सक्रियता राम्रो भएको बताए । ‘कर्णालीको टेण्डर आफ्नो नाममा पारेसँगै त्यही किसिमको सक्रियता समेत वर्ल्डलिंकले देखाएको छ, यो प्राधिकरणका लागि गौरब गर्न लायक विषय हो, सार्वजनिक स्थानहरुमा फ्रि वाइफाइ राख्ने वर्ल्डलिंकको योजना राम्रो हो, सीसीसीमार्फत बेलायतको सीसीसी भित्र्याएर विदेशी लगानी समेत जुटाएको वर्ल्डलिंकले धेरै नै राम्रो काम गरेको छ,’ प्राधिकरणका अध्यक्ष खनालले भने । कम्पनीका अध्यक्ष दिलिप अग्रवालका अनुसार एउटा बच्चा हुर्काएर २५ वर्ष पुर्याउन केही कठिनाई व्यहोरे जस्तै यो संस्था हुर्काउन पनि केही उत्तरचढावको सामना गर्नुपरेको छ । ‘हामीले केही उत्तर चढावका बावजुत २५ वर्षसम्ममा ७३ जिल्लामा इन्टरनेट पुर्याउन सफल भयौं, प्रत्येक ३ व्यक्तिमध्ये १ जनाले हाम्रो सेवा चलाउने तथ्यांकले पनि देखाएको छ, विकट ठाउँमा पनि सेवा प्रदान गरिरहेका छौं, धेरैलाई रोजगारी दिन सफल भएका छौं,’ अध्यक्ष अग्रवालले भने । कम्पनीका प्रमुख कार्यकारी (सिइओ) केशव नेपालले कोरोना महामारी नियन्त्रण तथा रोकथामको लागि सरकारले गरेको लकडाउनको समयमा इन्टरनेटको प्रयोग अत्याधिक मात्रामा वृद्धी भएको बताए । ‘वर्क फ्रम होम, अनलाईन क्लास, जुम मिटिङ, टिकटक प्रयोग जस्ता कारणले लकडाउन पछि इन्टरनेटको खपत धेरै बढेको छ, यसले नेटवर्क तथा डाटा सेन्टरमा चाप पनि बढेको छ, प्रयोग अत्याधिक बढेका कारण केही समस्या पनि आयो, अन्तराष्ट्रिय उडान रोकिएका कारण पूर्वाधार स्तरोन्नतिमा आवश्यक सामान पनि ल्याउन पाइएको थिएन, अब उडान सहज भएसँगै उपकरण ल्याएर यस्ता समस्यामा कमी आउन थालेको छ,’ सिईओ नेपालले भने । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाबीर पुनले वल्र्ड लिंकसँग आफूले सहकार्य गरेको १६ वर्ष पूरा भएको जानकारी दिए । ‘मैले वल्र्डलिंकसँग सहकार्य गरेको १६ वर्ष पूरा भयो, वल्र्डलिंकले २५ औं वार्षिक उत्सव मनाइरहको छ, आगामी दिनमा सेवा बिस्तारमा कम्पनी अझ अघि बढोस् भन्ने शुभकामना छ’, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले भने । वरिष्ठ अधिवक्ता सत्तिस खरेलले अहिले इन्टरनेट प्रयोगले जीवनशैलीमै परिवर्तन आएको धारणा राखे । ‘मैले एउटा कलेजमा पढाउँथे, त्यो बेलामा वकालतको सानोतिनो काम समेत गर्थे, तर मलाई इमेल चलाउन मनलाग्दा अलिकति हैसियत पुगेन कि समेत भन्ने अवस्था थियो, तर अहिले यो कुरा पत्याउन गाह्रो लाग्ला, म वल्र्ड लिंकको पुरानो १७औं नम्बरमा पर्ने ग्राहक पनि हूँ,’ वरिष्ठ अधिवक्ता खरेलले भने । मानस सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार उक्त आश्रममा विभिन्न शाखामा वर्ल्डलिंकले निःशुल्क वाइफाइ सेवा वितरण गरिरहेको छ । ‘अहिले हाम्रो २० वटा शाखा रहेका छन्, सोमध्ये वर्ल्डलिंकले आश्रमको १४ औं शाखा स्थापनामा ठूलो योगदान पुर्र्याएको छ, अहिले आश्रममा ११ सय मानिसहरुले सहारा लिने अवसर पाएका छन्,’ अध्यक्ष अधिकारीले भने । कार्यक्रममा नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, कम्पनीका अध्यक्ष दिलिप अग्रवाल, प्रमुख कार्यकारी अधिकृत (सिईओ) केशव नेपाल, बोर्ड अफ डाइरेक्टर विजय जलान उपस्थित थिए । यस्तै, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुन, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी तथा वरिष्ठ अधिवक्ता सतिश खरेलसमेतको सहभागिता थियो ।