इसेवा मार्फत बीमाशुल्क भुक्तानी गर्दा दुईसय रूपैयाँ क्यासब्याक पाइने
काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाले अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवसका अवसरमा विशेष अफर सार्बजनिक गरेको छ । मंगलबार दिउसो १२ बजेदेखि २ बजेसम्म इसेवामार्फत जीवनबीमाको बीमाशुल्क भुक्तानी गर्दा २ सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ । यसैगरी जीवन बीमा कम्पनीमा गइ सोही दिन क्यूआर मार्फत भुक्तानी गर्दा पनि सोही क्यासब्याक पाउन सकिने इसेवाले जनाएको छ । यसैगरी इसेवामार्फत भुक्तानी गर्दा इसेवाले हाल सञ्चालन गरिरहेको लखपति योजनामा समेत सहभागी हुन सकिनेछ । इसेवाले बीमितहरुले घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले बीमितहरूका लागि लखपति योजना सञ्चालन गरिरहेको छ । भदौ ५ गतेसम्म सञ्चालन हुने सो योजनामा इसेवाबाट कुनैपनि जीवन बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्ने व्यक्तिहरुमध्येबाट बम्पर उपहारमा एक जनाले एक लाख रुपैयाँ उपहार प्राप्त गर्नेछन् । यस्तै उपहार बिजेता बीमितको बीमा एजेन्ट र सोही एजेन्टको शाखा कार्यालयले पनि २०÷२० हजार नगद उपहार प्राप्त गर्नेछन् । उक्त योजना सञ्चालन अवधिभर बीमा शुल्क भुक्तानी गर्नेहरु मध्येबाट हरेक दिन एक जनाले गोलाप्रथा मार्फत एक हजार रुपैयाँ प्राप्त गर्ने छन् । यो योजना नेपालमा सञ्चालिन सबै बीमा कम्पनीको शुल्क भुक्तानी गर्दा लागु हुनेछ । इसेवाले पछिल्ला दिनमा इन्स्योरेन्स्को प्रिमियम अनलाइनबाट भुक्तानी गर्न प्रोत्साहन गर्नका लागि विभिन्न अफर तथा योजना सार्बजनिक गर्दै आएको छ । इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ । इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
नेपाल टेलिकमले ३६ प्रतिशतले घटायो इन्टरनेट शुल्क
काठमाडौं । नेपाल टेलिकमले ३६ प्रतिशतले इन्टरनेट शुल्क घटाएको छ । टेलिकमले इन्टरनेट र इन्ट्रानेट लिज लाइन अन्तर्गतको शुल्क ३६ प्रतिशतले घटाएको हो । योसँगै इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महशुल दर पहिले र २५ सय रुपैयाँ रहेकोमा अब १६ सय मात्र हुनेछ । त्यसैगरी २१ देखि ५० एमबीपीएसको महशुल दर पनि २३ सयबाट घटाएर १६ सय रुपैयाँ कायम गरिएको छ । ५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथ भन्दा बढी क्षमताको महशुल क्रमशः २१ सय रुपैयाँ र १९ सय रुपैयाँ रहेकोमा अब दुवैको महशुल दर १५ सय रुपैयाँ कायम गरिएको छ । यस्तै इन्ट्रानेट लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महशुल २७ सय रुपैयाँ रहेकोमा अब २४ सय रुपैयाँ, ११ देखि १०० एमबीपीएसको २४ सय रहेकोमा अब २१ सय र १०० एमबीपीएस भन्दा बढीको २१ सय रहेकोमा अब १८ सय कायम गरिएको छ । नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । यस सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधैँ बराबर रहन्छ ।
भायानेटले समस्यामा परेका १५ परिवारलाई जाेडिदियाे नि:शुल्क इन्टरनेट
काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसनले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गतको १५ परिवारलाई सहयोग गरेको छ । कम्पनीले पहिलो वर्ष जस्तै गुड विथ इन्टरनेट अभियान अन्तर्गत इन्टरनेट जोड्न नसकी शैक्षिक अवसरहरूबाट वञ्चित भएका विद्यार्थीलाई सहयोग गरेको हो । ह्युमन्स अफ काठमाडौंले आफ्नो सामाजिक संजाल मार्फत महामारीका कारण शिक्षा अनलाइन गएको समयमा आफ्नो छोरालाई पढाउन नसकेको कुरा थाहा पाएपछि भायानेटले पहिलो वर्ष प्रतिभाको परिवारलाई इन्टरनेट दिएर सहयोग गरेको थियो। त्यसपछि दोस्रो वर्ष कम्पनीले चक्रपथको सडकमा फिटकिरी बोझो लगायतका जडिबुटी बेचेर आफ्ना चार छोराछोरी पढाउन खोजिरहेकी डल्ली दिदी, कपनमा पानीपुरी बेची आफ्नो छोरा र छोरी पढाइरहेकी अमला दिदी लगायतका १५ विभिन्न परिवारलाई कम्पनीले सहयोग गरेको छ । कम्पनीले आगामी वर्षहरूमा यस्ता धेरै परिवारहरूलाई मद्दत गर्ने योजना बनाएको जनाएको छ । र यस्तै भायनेटले पैसाको अभावको कारण इन्टरनेट जोड्न नसकेर पढाइमा समस्या भएकालाई कम्पनीमा सम्पर्क गर्न अनुरोध गरेको छ ।