नेपाल टेलिकमले पोष्टपेड ग्राहकको धरौटी रकम फिर्ता गर्ने

काठमाडौं । नेपाल टेलिकमले धरौटी रकम ग्राहकलाई फिर्ता गर्ने भएको छ । टेलिकमबाट पोष्टपेड लिदै आएका ग्राहकले यसअघि राखेको धरौटी फिर्ता पाउन लागेका हुन् । कम्पनीले जीएसएम, सीडीएमए, पीएसटीएन, एफटीटीएच, आईएसडीएन, एएफएस सेवा वितरण गर्दा ग्राहकसँग प्रति ग्राहक ३ हजारदेखि ५ हजार रुपैयाँसम्म धरौटी लिएर सेवा दिएको थियो । उक्त रकम ग्राहकलाई फिर्ता गर्न लागिएको नेपाल टेलिकमले जनाएको छ । धरौटी रकम एडभान्सको रुपमा ग्राहकलाई फिर्ता गर्ने र बाँकी बक्यौता भएका ग्राहकको हकमा उक्त रकम समायोजन गरिने टेलिकमले जनाएको छ । रकम फिर्ता यहि साउन १ गतेबाट शुरु भईसकेको र साउन मसान्तसम्म सबैले रकम फिर्ता गरिने टेलिकमले जनाएको छ ।

स्याङ्जाको मिर्मिमा नेपाल टेलिकमको एफटिटिएच सुरु, गल्याङ कपर फ्रि

काठमाडौं । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको मिर्मिमा अप्टिकल फाइबरमा आधारित उच्च गतिको फाइबर टु द होम एफटिटिएच सेवा सुरु गरेको छ । यसका साथै टेलिकमे गल्याङमा पुरानो तामाको तारबाट सञ्चालित सबै सेवाहरु पूर्ण एफटिटिएचमय बनाइ कपर फ्रि नेटवर्क बनाएको छ । कपर फ्रि नेटवर्क हुँदा अव्यवस्थित तारहरुलाई व्यवस्थित गर्न समेत सहज हुने गर्दछ । तामाको तारमा आधारित नेटवर्कको सट्टा अप्टिकल फाइबरमार्फत एउटै रेशाबाट ब्रोडब्याण्ड इन्टरनेट, भ्वाइस, टेलिभिजन तथा मोबाइल डेटा उपलब्ध हुनेगरि सेवा उपलब्ध गराइएकोले उपभोक्तालाई सहज भएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रमुख इन्दल यादवले बताए । गण्डकी प्रदेशका सहरी तथा ग्रामीण क्षेत्रका अधिकांश ठाँउहरुमा एफटिटिएच सेवा क्रमिक विस्तार गर्दै उपभोक्ता लक्षित सेवा उपलब्ध गराइने उनले बताए । त्यसैगरि, नेपाल टेलिकम सरकारी स्वामित्वको संस्था भएकाले सहुलियत दरअनुसारकै ुउच्च गति न्यून दर” को एफटिटिएच सेवा उपलब्ध गराईएको दूरसञ्चार कार्यालय पोखराका प्रमुख रवि मानन्धरले बताए । यस सेवामार्फत उपभोक्ताले आफ्नो इच्छा अनुसार इन्टरनेटको स्पिड प्राप्त गर्न सक्नेछन् । सामान्य घरमा प्रयोग हुने ८ एमबिपिएसदेखि लिएर स्कुल तथा कलेजलाई आवश्यक पर्ने ८० एमबिपिएस स्पिडसम्मको उच्च गतिको फाइबर इन्टरनेट सस्तो दरमा प्राप्त गर्न सकिने टेलिकम कार्यालय गल्याङका कार्यालय प्रमुख राम राज उपाध्यायले बताए । उनका अनुसार वार्षिक प्याकेज अनुसार यो सेवा लिने ग्राहकले पिएसटिएन टेलिफोनको न्युनतम मासिक महसुल वर्षैभरी निःशुल्क प्राप्त गर्नुको साथै अन्य छ प्रकारका सेवाहरु समेत निःशुल्क पाउने बताए ।

सिजीनेटले ल्यायो सुपर भ्यालु योजना : ३०० एमबीपीएस इन्टरनेट १२ सय रुपैयाँमा

काठमाडाैं । सिजीनेटले सुपर भ्यालु योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएकाे सुपर भ्यालु योजनामा ३ नयाँ अपग्रेड गरिएका प्याकेजहरू समावेश छन् । कम्पनीकाे अनुसार समावेश गरिएका प्याकेजहरूमा ३०० एमबीपीएस रकस्टार प्याकेज, १५० एमबीपीएस पपुलर प्याकेज र ७५ एमबीपीएस स्प्रिन्टर प्याकेज रहेका छन् । यी प्याकेजहरू १ महिना, ३ महिना र १२ महिनाका लागि उपलब्ध हुने कम्पनीले जनाएकाे छ । १ वर्षको प्याकेजको औसत मासिक मूल्य ३०० एमबीपीएसको लागि १ हजार २४४ रुपैयाँ, १५० एमबीपीएसको लागि ९२५ रुपैयाँ र ७५ एमबीपीएसको लागि ६८० रुपैयाँ हुनेछ कम्पनीले जानकारी दिएकाे छ । यो हालसम्म कै सस्ताे मूल्य रहेकाे कम्पनीले दावी गरेकाे छ । यस्तै, ३०० एमबीपीएस रकस्टार प्याकेज १ महिना प्याकेजको लागि १ हजार ९९ रुपैयाँ लागत र त्यसैगरी ३ महिनाको प्याकेजका लागि ४ हजार ६२ रुपैयाँ र वार्षिककाे लागि १४ हजार ९२८ रुपैयाँ लाग्ने छ । त्यसैगरी, १५० एमबीपीएस लोकप्रिय प्याकेज १ महिना प्याकेजको लागि १ हजार ५० रुपैयाँ लाग्नेछ भने ३ महिनाको प्याकेजको लागि ३ हजार ४५ रुपैयाँ र १२ महिनाको प्याकेजको ११ हजार १०० रुपैयाँ लाग्ने छ । प्रस्ताव गरिएको सबैभन्दा कम गति ७५ एमबीपीएसको लागत १ महिना योजनाको लागि ७३० रुपैयाँ, ३ महिनाको योजनाको लागि २ हजार १६० रुपैयाँ र १२ महिनाको योजनाको लागि ८ हजार १६० रुपैयाँ छ। सिजीकाे कुनै पनि प्याकेज र योजनाको लागि जडान खर्च र ड्रप वायर नि:शुल्क रहेकाे छ । यस्तै, डुअल ब्यान्ड राउटर कुनै पनि ग्राहकले १२ महिनाको योजना लिएमा नि:शुल्क छ भने डुअल ब्यान्ड राउटर ३ महिनाको लागि एक हजार र १ महिनाको लागि १५ सय लाग्दछ । चौधरी ग्रुप अन्तर्गतको सीजी कम्युनिकेसन्स लिमिटेडले सिजीनेटका नाममा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको एक वर्ष पूरा भएको छ । सिजीनेटको सेवा अहिले उपत्यका बाहिरका थप ७ जिल्लामा उपलब्ध छ र आगामी दिनमा थप क्षेत्रमा विस्तार गर्न कम्पनीले जनाएको छ ।