आइसीएफसी फाईनान्स र स्मार्ट च्वाइस टेक्नोलोजिजले गरे व्यवसायिक सम्झौता
काठमाडौं । आइसीएफसी फाईनान्स र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससिटी)बीच व्यवसायिक सम्झौता भएको छ । डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि दुई संस्थाबीच व्यवसायिक सम्झौता भएको हो । यससँगै आइसीएफसी फाईनान्सका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप (आईसीएफसी फाइनान्स स्मार्ट) प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यूआर मार्फत गर्न सक्ने जनाएको छ । उक्त सम्झौतापत्रमा स्मार्ट च्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरेका छन् ।
भदौ ३० गतेदेखि अवैध रूपमा भित्रिने मोबाईल फोनमा प्रतिबन्ध लगाउँदै सरकार
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले भदौ ३० गतेबाट एमडिएमएस लागु गर्ने निर्णय गरेको छ । सोल्टी होटलमा सम्पन्न भएको ‘मोबाईल डिभाइस म्यानेजमेण्ट सिस्टम’ (एमडिएमएस) को संयुक्त कार्यशाला गोष्ठीमा प्राधिकरणले यस्तो निर्णय गरेको हो । एमडिएमएस प्रणाली अनधिकृत रूपमा मोबाईल फोनहरू नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो । विदेशी मुद्रा सञ्चितिमा कमी नहोस् भनी मोबाइल आयतमा प्रतिबन्ध लगाउन खोजेपनि गैरकानुनी मार्गबाट भन्सार छलीका फोनहरू लाखौंको संख्यामा भित्रदा रेमिट्यान्स मार्फत स्वदेश भित्रिने डलरमा समेत नकारात्मक असर पुग्नुकाे साथै सरकारले अर्बौ राजस्वसमेत गुमाउनु परेको मोबाइल फोन इम्पोर्टस एसोसिएसनका अध्यक्ष दिपक कुमार मलहोत्रा बताए । ‘गैरकानुनी रूपमा भित्रिने फोनहरूमध्ये चोरीका, रिफर्बिस फोनहरू समेत आउने हुँदा एकातिर आम उपभोक्ताहरू ठगीमा पर्ने गरेका छन् भने अर्कातिर राजस्व घट्ने तथा मोबाइल व्यवसायीको व्यापारमा व्यापक गिरावट आई कर्मचारीहरुको कटौतीसम्म गर्नुपर्ने वाध्यताले हजारौंको संख्यामा बेरोजगारी दर वृद्धि हुने अवस्था आएको छ,’ उनले भने । कार्यक्रममा एमपिआइएका उपाध्यक्ष सञ्जय अग्रवालले आउँदो भदौ ३० गतेदेखि औपचारिक रूपमा एमडिएमएस शुरुवात हुने र यसको दुईदेखि तीन महिनामा सतःप्रतिशत लागू हुने बताए । ‘दुई–तीन महिनाको समयमा पुराना फोनलाई दर्ता गर्ने समयावधि प्रदान गरिएको र भदौ ३० उप्रान्त नेपालमा अनधिकृत आयातित मोबाईल चल्ने छैन,’ उनले भने । यो योजनाबाट अर्थमन्त्रालयको राजस्व वृद्विमा ठूलो योगदान पुर्याउने उनले बताए ।
राष्ट्र बैंकले भन्यो : क्रिप्टोको कारोबार नगर्नु, तत्काल कारावाही हुन्छ
काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार नगर्न आग्रह गरेको छ । सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा बिटक्वाइन कारोबार नगर्न आग्रह गरेको हो । यस विषयमा २०७४ साउन २९ गते, २०७८ भदौ २४ र गत माघ ९ गते सूचना जारी गरेर कारोबार नगर्न भनेपनि पुनः यो सूचना जारी गरेर सचेत गराएको राष्ट्र बैंकको सूचनामा उल्लेख छ । ‘नेपालमा विदेशी विनिमय वा मुद्राको रूपमा भच्र्युअल करेन्सीले कानुनी मान्यता नपाएको, नेपालमा कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानतप्राप्त नभएको र यस बैंकले निष्कासन नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको हुँदा भच्र्युअल करेन्सीको कारोबार गैरकानुनी रहेको छ, सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा लगानी, ठगी तथा कर छली, लगानीको असुरक्षा, पुँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी आदिसम्बन्धी जोखिमहरू अन्तरनिहित हुने विषयसमेत स्मरण गराइएको छ,’ सूचनामा उल्लेख गरिएको छ । नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी, संस्था (विदेशी समेत) र नेपालबाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भई नेपालबाहिर रहेका, फर्म, कम्पनी, संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यालय तथा एजेन्सीहरूले कुनै पनि प्रकारका भच्र्युअल करेन्सी पिरामिडमा आधारित नेटवर्क मार्केटिङ तथा हाइपर फण्ड कारोबार गरे/गराएको पाइएमा तथा सोको प्रयोग, संलग्नता, सदस्यता, लगानी, स्वामित्व ग्रहण, स्थानान्तरण, विप्रेषण, विनिमय, माइनिङ सम्बन्धी कार्य गर्ने/गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारवाही हुने राष्ट्र बैंकको सूचनामा उल्लेख गरिएको छ ।