एक महिनामा कनेक्ट आइपिएस मार्फत १५ अर्बको कारोबार

काठमाडौं । पछिल्लो समय कनेक्ट आईपिएस मार्फत हुने कारोबार रकममा उल्लेख्य रुपमा बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार एक महिनामा मात्रै कनेक्ट आइपिएस मार्फत करिब १५ अर्ब बराबरको कारोबार भएको हो । बैंकले बुधबार चालु आर्थिक वर्षको तीन महिनामा (गत साउनदेखि असोज मसान्तसम्मको) तथ्यांक सार्वजनिक गरेको हो । उक्त तथ्यांक अनुसार गत भदौ महिनाको तुलनामा असोजको एक महिनामा कनेक्ट आइपिएस मार्फत १४ अर्ब ७३ करोड बढीको कारोबार भएको हो । गत भदौ महिनामा २ खर्ब ९२ अर्ब ५४ करोड ५० लाख बराबरको कारोबार भएकोमा असोज महिनामा ३ खर्ब ७ अर्ब २७ करोड ५० लाख बढीको कारोबार भएको हो । यस्तै, तथ्यांक अनुसार गत आवको तीन महिनाको तुलनामा चालु आवको तीन महिनामा कनेक्ट आइपिएस मार्फत हुने कारोबार रकममा २८ दशमलव ४८ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा कनेक्ट आइपिएम मार्फत २ खर्ब ३९ अर्ब १४ करोड ८० लाख बराबरको कारोबार भएकोमा चालु आवको सोही अबधिमा ३ खर्ब ७ अर्ब २७ करोड ५० लाख बढीको कारोबार भएको हो । बढ्यो डिजिटल भुक्तानीको कारोबार बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आवको पहिलो तीन महिनामा विद्युतीय भुक्तानीको प्रयोगमा उल्लेख्य वृद्धि भएको देखिन्छ । यस्तो कारोबारमा एटिएम, विद्युतीय भुक्तानी प्रणाली, कनेक्ट आइपीएस, मोबाइल बैंकिङ, वालेट, प्रिपेड कार्ड, क्युआर कोडलगायतको प्रयोग बढेको छ  । सार्वजनिक तथ्याङ्कानुसार गत आवमा क्विक रेस्पोन्स (क्युआर) कोडमा आधारीत भुक्तानीको प्रयोग उच्च दरले बढेको देखिन्छ । गत आवको पहिलो तीन महिनामा क्युआर कोडको प्रयोग गरी ६ अर्ब नौ करोड ७० लाख रुपैयाँको कारोबार भएकामा चालु आवको समिक्षा अवधिमा यसको प्रयोग गरी १७ अर्ब ३३ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै चालु आवको असोज मसान्तसम्म प्रिपेड कार्डको मध्यमबाट ४३ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । यस्तो कार्डको प्रयोगबाट अघिल्लो आवको सोही अवधिमा १५ करोड ३० लाख रुपैयाँको कारोबार भएको थियो । केन्द्रीय बैंकका अनुसार कारोबारमा मोबाइल बैंकिङको प्रयोग गत आवको तुलनामा बढेको छ । गत आवको असोज मसान्तसम्म मोबाइल बैंकिङको प्रयोग गरी ८७ अर्ब ७३ करोड २० लाख बराबरको कारोबार भएकामा चालु आवको सोही अवधिमा एक खर्ब ६२ अर्ब १३ करोड ७० लाख पुगेको छ । त्यस्तै चालु आवको पहिलो तीन महिनामा एटिएमको प्रयोग गरी ८८ अर्ब ८९ करोड ६० लाखको कारोबार भएको छ । यसको प्रयोगगरी गत आवको सोही अवधिमा ७६ अर्ब ५३ करोड ७० लाखको कारोबार भएको छ । राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो तीन महिनामा वालेटमार्फत १६ अर्ब ५६ करोड ८० लाखको कारोबार भएको छ । यसको प्रयोग गरी गत आवको सोही अवधिमा १५ अर्ब १८ करोड ७० लाखको कारोबार भएको थियो । विवरणानुसार अघिल्लो आवका आधारमा चालु आवको असोज मसान्तसम्म इन्टरनेट बैंकिङका माध्यमबाट हुने भुक्तानीमा भने कमी आएको देखिएको छ । गत आवको पहिलो तीन महिनामा इन्टरनेट बैंकिङको प्रयोग गरी १३ अर्ब ३४ करोड ४० लाख बराबरको कारोबार भएकामा चालु आवको समीक्षा अवधिमा ११ अर्ब ९५ करोड ९० लाख बराबरको कारोबार भएको छ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरीएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण मुलुकमा विद्युतीय भुक्तानी कारोबार उल्लेख्य बढेको केन्द्रीय बैंकले जनाएको छ ।

चुनावमा अपडेटेड रहन यी हुन् एनसेलका उत्कृष्ट डेटा र कल प्याकहरु

काठमाडौं । एनसेलका ग्राहकले यो प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका बेलामा आफु अपडेटेड रहन विभिन्न डेटा र भ्वाइस प्याकबाट फाइदा लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफुले प्रदान गरेको प्याकहरुले ग्राहकहरुलाई सञ्चार सेवामा पहुँच सुनिश्ति गर्ने र यसले सेवा सहज र सुलभ हुने जनाएको छ । आफ्ना सञ्चार सेवाका आवश्यकताहरूका आधारमा, ग्राहकहरूले दैनिक, साप्ताहिक वा मासिक प्याक छनौट गर्न सक्छन् । ग्राहकले कर सहित मात्र ४८ रुपैयाँमा २४ घन्टा अर्थात १ दिनसम्म अनलिमिटेड डेटा र नेपालको सबै नेटवर्क पठाउँन मिल्न ४० अल नेट एसएमएस प्याक लिन सक्नेछन् । ग्राहकले सजिलै *१७११८*२५# डायल गरि यो प्याक लिन सक्नेछन् । डेटा सेवामा, ग्राहकले डबल मजा प्याकमा अन्तर्गत ७ दिनको समयसिमा रहेको ५ जीबी डेटा र १ जीबी नाइट डेटा प्रयोग गर्न सक्नेछन् । ग्राहकले *१७११८*२२# डायल गरी यो प्याक सुचारु गर्न सक्नेछन् । डबल मजा प्याक खरिद गर्ने ग्राहकले सोही प्याक पुनः खरिद गर्दा दोब्बर डेटा भोल्युम प्राप्त गरी डबल फाइदा लिन सक्नेछन् । यसको अर्थ ग्राहकले ५ जीबीको प्याक फेरी किन्दा १० जीबी डेटा प्राप्त गर्नेछन् । त्यस्तै, मात्र २९ रुपैयाँमा ग्राहकले एक दिने १ जीबी अल टाइम डेटा र १०० एमबी (बोनस) डेटा प्याक प्राप्त गर्न सक्छन् । ग्राहकले*१७११८*२६# डायल गरि यो प्याक लिन सक्नेछन् । त्यस्तैगरी, भ्वाइस सेवा अन्तर्गत ग्राहकले अल नेपाल भ्वाइस प्याक प्रयोग गरी कुनै पनि नेटवर्कमा सुलभ दरमा कल गर्न सक्नेछन् । ग्राहकले यो प्याकमा रहेको ५०० मिनेट अल नेट कल मात्र २६५ रुपैयाँमा सुचारु गर्न सक्नेछन् । ग्राहकले *१७११८*३# डायल गरी प्याक सुचारु गर्न सक्नेछन् । एनसेल एप र वेभसाइट मार्फत पनि यो प्याक खरिद गर्न सकिनेछ । अन नेट कलका लागि पनि ग्राहकलाई इन्डलेस कुराकानी प्याकको विकल्प रहेको छ । यस प्याकमा रहेको कुल ८७५ मिनेट अन नेट टक टाइम (हरेक दिन १२५ मिनेट अन नेट टक टाइम, सात दिनसम्म) मात्र ९५ रुपैयाँमा सुचारु गर्न सक्नेछन् । ग्राहकले *१७११८*६# डायल गरी प्याक सुचारु गर्न सक्नेछन् ।

सात लाख नाघे वर्ल्डलिंकका प्रयोगकर्ता

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालीत इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको प्रयोगकर्ता ७ लाख नाघेका छन् । सात लाख घरधुरीमा इन्टरनेट पुर्याएसँगै वर्ल्डलिङ्क देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी बनेको छ । कम्पनीले हाल सातै प्रदेशका ७३ जिल्लामा इन्टरनेट विस्तार गरेसकेको छ । बाँकी रहेका चार जिल्लाहरु दार्चृला, बैतडी, मनाङ र मुस्ताङमा समेत छिट्टै सेवा विस्तार हुने कम्पनीले जनाएको छ । नेपालमा इन्टरनेट सेवा दिनेभन्दै २०५२ साल भदौमा वर्ल्डलिङ्क स्थापना भएको थियो । कम्पनीका हाल १५० भन्दा बढी शाखा कार्यालयमा पाँच हजारभन्दा बढी कर्मचारी कार्यरत रहेका छन् ।