फोनमा ई-सिम चल्छ कि चल्दैन भनेर यसरी थाहा पाउनुहोस्

काठमाडौं । मु्लुकभरका सम्पूर्ण दूरसञ्चार कार्यालयहरुबाट ई–सिम वितरण गरिरहेको छ । ई–सिम कम्पनीले भदाै ३१ गतेदेखि काठमाडौंको सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट वितरण शुरु गरेको थियो । हालका लागि पहिलेदेखि नै कम्पनीका सिमकार्ड प्रयोग गरिरहनुभएका पुराना प्रिपेड तथा पोस्टपेडका ग्राहकहरुले सिम परिवर्तन गर्न चाहेमा कम्पनीले निःशुल्क ई–सिम उपलब्ध गराइरेहको छ । मोबाइल सेटमा ई–सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ । क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र ई–सिम प्रयोग गर्न सकिन्छ । त्यसैले सबैभन्दा पहिले आफ्नो मोबाइल सेटमा ई–सिम चल्ने/नचल्ने यकिन गरेर मात्र ई–सिमका लागि कम्पनीका ग्राहक सेवा केन्द्रमा जानुहुन ग्राहकलाई अनुरोध गरेकाे छ । यसका लागि आफ्नो मोबाइलबाट *#०६# डायल गर्नुपर्छ । यसरी डायल गर्दा इआइडी लेखिएको संकेतसहित नम्बरहरु देखियो भने उक्त सेटमा ई–सिम चल्छ भनी थाहा पाउन सकिन्छ । त्यसैगरी, आइफोन र एन्ड्रोइड सिस्टमयुक्त मोबाइल सेटको सेटिङमा भएका विभिन्न अप्सन हेरेर पनि ई–सिम चल्ने वा नचल्ने पत्ता लगाउन सकिन्छ । आइफोन वा एन्ड्रोइडको सेटिङमा एड मोबाइल प्लान वा एड डाटा प्लान भन्ने अप्सन देखियो भने पनि त्यसमा सामान्यतः ई–सिम चल्छ भन्ने कुरा थाहा हुन्छ । फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका पुराना पोस्टपेड र प्रिपेड ग्राहकहरुले निःशुल्क रुपमा ई–सिम लिन सक्नेछन् भने नयाँ पोस्टपेड सेवा लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै ई–सिम उपलब्ध गराइने छ । ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्दछ । ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायत फिजिकल सिमबाट सम्पन्न गरिने सम्पूर्ण कार्य गर्न सकिन्छ । मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइस हरुमा समेत प्रयोग गर्न सकिन्छ ।

अब ट्वीटरमा लामो स्टाटस लेख्न पाइने

एजेन्सी । ट्वीटरमा भएको अक्षर सीमाको कारणले मानिसहरुले सो प्लेटफर्ममा आफ्नो इच्छाअनुसारको विषय लेख्न सकिरहेका छैनन् । अहिले ट्वीटरमा भएको २ सय ८० अक्षरको सीमालाई बढाउने संकेत ट्ीवटरका मालिक एलन मस्कले दिएका छन् । ट्वीटरमा एक प्रयोगकर्ताले अक्षरको सीमा बढाउनेबारेमा दिएको सल्लाहलाई मस्कले सकारात्मक रुपमा लिएको बताएका छन् । एलन मस्कले ट्वीटर खरिद गरिसकेपछि पछिल्लो समयमा यसको स्वरुप र सुविधामा उनले परिमार्जन गर्ने कोशिष गरिरहेका छन् । आगामी केही समयमभित्रमा ट्वीटरले धेरै नयाँ विशेषताहरु थप्दै जाने अनुमान गरिएको छ ।

एनसेलले बाँड्न थाल्यो ई–सिम, कुन कुन मोबाइलमा प्रयोग गर्न मिल्छ ?

काठमाडौं । एनसेल आजियाटाले शुक्रबारदेखि आफ्ना ग्राहकहरुलाई ई–सिम वितरण गर्न थालेको घोषणा गरेको छ । यससँगै एनसेलका ग्राहकहरुले अब आफ्नो सिम ई–सिममा अपग्रेड गर्न सक्नेछन् । ई–सिम अर्थात इम्बेडेड सिम हाल प्रयोग भईरहेको भौतिक सिमको सट्टामा प्रयोग गर्न मिल्ने डिजिटल सिम हो । यो सिम ई–सिम सपोर्ट गर्ने मोबाइल वा उपकरण भित्र सानो चिपमा हुन्छ र यसबाटै दूरसञ्चार सेवा लिन सकिन्छ । यो भौतिक रुपमा प्रयोग हुने सिम भन्दा सुरक्षित मानिन्छ र केही गरी आफ्नो मोबाइल हराएमा वा चोरी भएमा पनि ई–सिम सो मोबाइलबाट झिक्न वा हटाउन मिल्दैन । एनसेलका ग्राहकहरूले एसएमएसमार्फत अनुरोध पठाई सजिलै आफ्नो हाल प्रयोग भईरहेको सिम ई–सिममा अपग्रेड गर्न सक्छन् । यसका लागि ग्राहकले आफ्नो नागरिकता नम्बर, इमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनु पर्दछ । ई–सिम सुचारु गर्नु भन्दा पहिला ग्राहकले एनसेलको प्रतिनिधिबाट ग्राहक पहिचानका लागि कल प्राप्त गर्दछन् । यो एसएमएस पठाउन र सिम अपग्रेड गर्नका लागि कुनै शुल्क लाग्ने छैन । ग्राहकले आफुलाई पायक पर्ने नजिकैको एनसेल सेन्टरबाट पनि आफ्नो सिम ई–सिममा अपग्रेड गर्न सक्छन् । नयाँ ग्राहकहरुले पनि कुनै पनि एनसेल सेन्टरबाट आफुले चाहेको स्टार्टर प्याकका साथ आवश्यक प्रक्रिया पुरा गरि ई–सिम लिन सक्छन् । ई–सिम सुविधा लिनका लागि, ग्राहकहरूका साथमा ई–सिम सपोर्ट गर्ने मोबाइल हुन आवश्यक हुन्छ । ग्राहकहरूले आफ्नो मोबाइल ई–सिम चल्ने/नचल्ने थाहा पाउन *०६# डालय गर्न सक्छन् । यदि इम्बेडेड आईडेन्टिटी डकुमेन्ट (ईआईडी) सहितको विवरण ग्राहकको डिस्प्लेमा आएमा त्यस्तो मोबाइलमा ई–सिम चल्छ । ग्राहकलाई सेवा प्रदान गर्न नयाँ प्रविधि र सेवाहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धताअनुरूप चल्ने सुविधा सञ्चालनमा ल्याउन पाउँदा कम्पनी खुसी रहेको एनसेलले बताएको छ । उपभोक्ता र व्यवसाय दुवै माझ कनेक्टेड डिभाइसहरुको प्रयोग बढ्ने क्रममा रहेकाले ई–सिमले सूचना तथा सञ्चार प्रविधिको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ । आइफोनका पछिल्ला मोडलहरु जस्तै आइफोन एक्सएस सिरिज, आइफोन ११ सिरिज, आइफोन १२ सिरिज, आइफोन १३ सिरिज र आइफोन १४ सिरिजमा ई–सिमको सुविधा रहेको छ । त्यसै गरि सामसङको ग्यालेक्सी ए२१ सिरिज, ग्यालेक्सी ए२२ सिरिज, ग्यालेक्सी जेड फ्लिप सिरिज र गुगलको पिक्सल ४ सिरिज, पिक्सल ५ सिरिज र पिक्सल ६ सिरिजमा पनि ई–सिमको चल्ने सुविधा रहेको हुन्छ । ब्रान्ड र मोबाइलका मोडलहरुका आधारमा विभिन्न मोबाइलहरुमा एक भन्दा बढि ई–सिम नम्बर दर्ता गर्न सकिने सुविधा पनि रहेको हुन्छ । यद्यपि एक पटकमा एक मात्र नम्बर सक्रिय रहन्छ । ई–सिमले सूचना तथा सञ्चार प्रविधि तथा इन्टरनेट अफ थिङ्गस्मा पनि ठूलो महत्व राख्दछ । विकसित देशहरुमा यो कार, घरायसी सामानहरु र औद्योगिक क्षेत्रका मसिनहरुमा पनि प्रयोग हुने गरेको छ ।